असार २५, २०८२ बुधबार July 9, 2025

कोशी अस्पतालबाट ६ जना कोरोना संक्रमित भारतीय डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रबाट कोरोनाभाइरस संक्रमित ६ जनालाई सफल उपचारपछि डिस्चार्ज गरिएको छ।

बुधबार प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ आएपछि एक कार्यक्रमका बीच ६ जनालाई पुष्प गुच्छासहित डिस्चार्ज गरेका हुन्।

मन्त्री घिमिरेका अनुसार डिस्चार्ज गरिएकाहरुलाई थप १४ दिन विराटनगरको रानीस्थित मदर्सामा राखिनेछ।

सो क्रममा मन्त्री घिमिरेले पहिलो चरणमा अस्पताल भर्ना भएको १४ दिनपछि गरिएको तेस्रोपटकको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि सुखद रुपमा डिस्चार्जको अवस्थामा पुगिएको बताएका छन। मन्त्री घिमिरेले भने, ‘अन्य मुलुकबाट धार्मिक यात्राका क्रममा आएका पाहुनालाई सुरक्षितसाथ लकडाउन खुलेपछि सम्बन्धित निकायमा जिम्मा लगाउँछौँ। अहिले अतिथिलाई सत्कार र सुरक्षित नै राख्नेछौँ।’

६ जनाको डिस्चार्जपछि हाल केन्द्रमा २५ जना यथावत रहेका छन्। जसमा उदयपुरबाट आएका २२ जना, झापाबाट २ जना र एक जना भोजपुरका रहेका छन्। कोभिड १९ उपचार केन्द्रमा ३१ जना संक्रमितको चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको थियो।

डिस्चार्जका क्रममा उत्साहित देखिएका ३४ वर्षीय मोहम्मद अजिरवानले सबै भारतीय जमाती दक्षिण दिल्लीको भएको जानकारी दिएका छन। उनले भने, ‘यसबीच प्रशासन र चिकित्सकको व्यवहार निकै राम्रो रहेको थियो। परिस्थिति अनुसार सबैको साथ र सहयोग र चिकित्सकको निगरानीलाई धन्यवाद दिन चाहान्छौँ।’

केन्द्रमा चिकित्सकहरुले चेकजाँचमा कुनै कमी हुन नदिएको बताएका अजिरवानले भने ‘उपचारका क्रममा नम्र व्यवहारसहित चिकित्सकको टोलीले सबैको नियमित रुपमा चेकजाँच गरेका थिए। कही कतै अफ्ठ्यारो महसुस भएन। उपचारमा सन्तुष्ट रहेका छौँ। हामी अन्य सबैजनाको रिपोर्ट नेगेटिभ आउने आशा पनि गर्छौँ।’

त्यसैगरि, रानीस्थित मरकज समितिका सचिव मोहम्मद इर्साद बब्लुले ६ जनालाई मदर्सामा केही दिन राख्ने बताएका छन। डिस्चार्ज भएका सबै भारतीय नागरिक भएको बताएका सचिव इर्सादले १४ दिन क्वारेन्टाइनमा रहँदा दुईपटक सबैजनाको पुनः स्वाब नमूना परीक्षण गरिने बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया