वैशाख १२, २०८१ बुधबार April 24, 2024

चैतेदशैं पर्वमा सोमेश्वरगढी र गोद्धक शक्तिपीठमा भक्तजनको घुइँचो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो ।

चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् । हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला एक साता अघिदेखि सुरु भएको हो । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा एक साताअघि पूजा गरेपछि मेला सुरु भएको थियो । भरतपुर महानगरको वडा नं २३ का वडाध्यक्ष दीपक दबाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । उनले यस वर्ष हजारौँ भक्तजन विक्रमबाबा मेलामा आएको बताए ।

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्न थालेका छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने प्रचलन छ ।

यस्तै माडीको गोद्धक मेलामा पनि भक्तजनको घुइँचो लागेको छ । धार्मिक एवं पुरातात्विक महत्व बोकेको माडी नगरपालिका–१ मा रहेको गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला एक साता अघिदेखि सुरु भएको हो । चैत १७ गतेसम्म मेलासँगै यज्ञ सञ्चालन हुनेछ ।

मेलामा गुरु चैतन्य कृष्णले राम कथावाचन गरेका छन् । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंह गुरुङले यहाँ रहेका चार धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवं धार्मिक महत्व बोकेका ठाउँ गोद्धक क्षेत्रमा प्रशस्तै छन् । गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ ।

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष (पाप पखाल्न) गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड (परशुराम कुण्ड)मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार, कुण्ड अवलोकन गर्न र विशेष पर्वमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया