नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २८ र २९ गते ५७ औँ वाषिर्क साधारसभा हुन गइरहेको छ । काठमाडौंमा हुन उक्त साधारणसभाले नयाँ कार्यकारिणी समिति चयन गर्नेछ । महासंघको वस्तुगततर्फ उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् । उपाध्यक्ष पदका लागि ढकालको उम्मेदवारी किन र चुनावी एजेन्डा केके छन् – यिनै विषयमा केन्द्रित रहेर युगखबर अनलाइनका प्रधानसम्पादक सुरन कार्कीले गर्नुभएको कुराकानीः
महासंघको वस्तुगततर्फो उपाध्यक्षमा उम्मेदवार हुनुहुन्छ । के छ तपाईको अनुभव र तयारी ?
म प्रत्यक्ष-अप्रत्यक्ष रुपमा महासंघमा दशौँ वर्षेखि जोडिएर बसेको छु । दुईवटा समिति चलाइसकेको छु । महासंघकै सबैभन्दा ठूलो विभाग कृषि उद्यम केन्द्र चलाएर देशैभरी घुमेर १४ वटा प्रोजेक्ट गरेर कृषि सम्बन्धि डाक्टरी सिध्याएको छु । अर्को कार्यकालमा स्वास्थ्य तथा सीप विकास समितिमा रहेर स्वास्थ्यसम्बन्धि सीटीइभीटीको एड्भाइजरी कमिटीमा बसेर काम गरेको छु । त्यस्तै सीप विकासबाट तीनवटा प्रोजेक्टमा बसेर काम गरिसकेको छु । र मेरो निजी व्यवसाय पनि निर्यात, कृषि, उद्योग, सेवा, व्यापारलगायत विभिन्न क्षेत्रमा बसेर काम गरिसकेको छु ।
यो भन्दा अगाडि पनि चिया किसान संघलगायत विभिन्न संघसंगठनमा बसेर काम गरिसकेको छु । अहिले पनि म काठमाडौं उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष छु । झापा उद्योग वाणिज्य संघमा पनि बसेर काम गरिसकेको छु । यसैगरी मसँग च्याम्बर आन्दोलन र त्यससँग सम्बन्धित विषयको लामो अनुभव छ ।
तपाईंको चुनावी तयारी चाहिँ कस्तो छ ?
म निरन्तर काम गरिरहेको छु । चेम्बर आन्दोलन र महासंघको संरचना पुरै बुझेको छु । जिल्ला नगर, वस्तुगतदेखि एसोसिएट साथीहरुसँग आबद्ध भएर धेरैवटा काम गरिसकेको अवस्था छ । गत दुई वर्षेखि वस्तुगत संघका साथीहरुको कार्यालय जाने, उहाँहरुको साधारणसभामा सहभागी हुने, समस्या बुझने, सीप तथा स्वास्थ्यसँग आबद्ध कार्यक्रमहरु गर्नेलगायतका गतिविधि गरेर वस्तुगत संघहरुको प्रकृति, उहाँहरुको सम्भावना र चुनौती सबै बुझेको मान्छे हुँ । मेरो आफ्नो व्यवसाय पनि वस्तुगत संघसँग सम्बन्धित छ । त्यसैले साथीहरुले मलाई चिन्दछन्। साथीहरुको समस्या र सम्भावना बुझेको छु । साथीहरुले नै नेतृत्वमा जानुहोस् भनेर अगाडि बढाएकाले उहाँहरुकै चाहनाअनुसार उम्मेदवारी दिएको हुँ ।
वस्तुगत संघतर्फो समस्या के हो ?
वस्तुगत संघको मात्रै नभएर अहिले निजी क्षेत्रमा आर्थिक समस्या छ । तरलताको अभाव छ । बैंकको ब्याजदर बढी छ । लगानी योग्य पुँजी छैन । साना मझौला उद्योगहरुले बजार नपाएर विस्थापित भइरहेका छन् ।
केही उद्यमी व्यपारीहरु आत्मदाह गर्ने अवस्थासम्म पुगेका छन् । त्यसैले निजी क्षेत्रका त सबै समस्यै समस्या मात्रै छन् । यति भन्दै गर्दा केही सम्भावना पनि छन् । टुरिजम बढेको छ । विदेशी मुद्राको सञ्चिती बढेको छ । रेमिट्यान्स बढेको छ । तर सरकारले केही आर्थिक मुद्दामा ध्यान नदिँदा, ठोस नीति नआउँदा सेयर बजार पनि घटेर तल्लो बिन्दुमा आइपुगेको छ । समयमा कर संकलन हुन सकेको छैन ।
तश्वीरः सुरन कार्की/युगखबर
डिजिटल इकोनोमीलाई सरकारले अगाडि बढाउन सकेको छैन । त्यसैले हामी चीन र भारतको बीचमा बसेर विश्वव्यापी प्रतिस्पर्धामा (ग्लोबल्ली कम्पिटिटिभ) छैनौँ । टेक्नोलोजीमा छैनौँ, सिस्टममा छैनौँ, डेलिभरीमा छैनौँ । समस्या धेरै छन् ।
कोभिडपछि विश्वव्यापी आर्थिक मन्दी छ । व्यवसायीहरु आफ्नै समस्यामा छन् । यही बेला महासंघको साधारणसभा हुँदै छ । के यी समस्याहरु ओझेलमा परेका हुन् –
यस्तो छ, अहिले नयाँ सरकार आएको छ । नयाँ अर्थमन्त्री आउनु भएको छ । सबै सरोकारवालासँग बसेर वार्ता गर्दै हुनुहुन्छ होला । वार्ता सकेर कसरी अर्थतन्त्रलाई चलायमान गर्ने, सरकारसँग ढिकुटीमा भएको पैसा विकास खर्च गरेर कसरी बजारमा पुर्याउने, उद्योग व्यवसाय बन्द भएर बसेको बेलामा पुनः सञ्चालनको लागि बैंकको ऋणलाई पुनः संरचना गरेर थप दुइ वर्षसमय दिने, ब्याजलाई स्थायी गर्न केही प्याकेज नै ल्याएर सिंगल डिजिटमा ब्याजलाई ल्याउने । बजारमा पैसा भएपछि ब्याज पनि घट्छ । त्यसपछि सेयर बजार पनि चलायमान हुन्छ । र हाम्रो उद्योग व्यवसायलाई राम्रोसँग सस्टेनेबल इकोनोमी डेभलपमेन्टको र्फममा लानका लागि सम्भावना भएका क्षेत्रहरुलाई प्राथमिकता दिने, निर्यात गर्ने उद्योगलाई अलग्गै ब्याजदरमा ऋण दिनेलगायतका रिर्फमका काम गर्नुपर्छ । यसो गरेको खण्डमा तीन महिना भित्रमा अर्थतन्त्र सही बाटोमा जान्छ । यदि गएन भने ६ महिना भित्रमा आधाभन्दा बढी उद्योग व्यवसाय बन्द हुन्छ । र त्यसले ठूलो आर्थिक मन्दीका साथै संकट जरुर निम्त्याउँछ ।
वस्तुगत संघमा उत्पादनमुलक क्षेत्र पनि छ । उद्योगहरु पनि छ । यससम्बन्धमा सरकारप्रतिको तपाईंको धारणा के छ ।
कच्चा पदार्थ आयातमा तपाईंहरुलाई के कति झन्झटिलो छ ?
कच्चा पदार्थ त विश्वव्यापी संकट हो । तर केही देशहरु माइक्रो मेनेजमेन्ट गरेर अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउन सफल भएका छन् । उदाहरणको लागि हाम्रो छिमेकी मुलुक भारतमा अहिले पनि ८ प्रतिशतमा ऋण पाइन्छ । त्यहाँ तरलताको अभाव छैन । बजार चलायमान छ । कोरोना आएपछि लामो समय लकडाउन हुँदा उत्पादन र आपूर्ति प्रभावित भयो । यसलाई पुनर्जीवित गर्नका लागि सुक्ष्म तरिकाले हेरेर काम गर्नु पर्यो नि नर्मल तरिकाले हेरेर त हुँदैन । नेपालमा नर्मल तरिकाले बजेट आउने, नर्मल तरिकाले मौद्रिक नीति आउने, नर्मल तरिकाले मन्त्तालय चल्ने, विभाग चल्ने यही कारणले समस्या भइरहेको छ ।
तपाईंहरु बैंकको ब्याजदर बढी भयो भनेर आन्दोलित पनि हुनुहुन्छ । के आन्दोलनले बैंकको ब्याजदर घट्ला ?
यो आन्दोलन होइन, व्रि्रोह हो । धेरै पटक राष्ट्र बैंकलाई आग्रह गर्दा, ज्ञापनपत्र बुझाउँदा, हारगुहार गर्दा झन उल्टोउल्टो नियमनको कुरा आएर झन् अर्थतन्त्रलाई संकुचित गर्ने काम भएको बुझिएकाले यसलाई अलि गम्भीर रुपमा लिऔँ, हामी समस्यामा छौँ, हाम्रो लगानी ढुब्ने अवस्था आयो, अब हामी धान्न सक्दैनौँ भन्ने अवस्था पुगेकाले व्रि्रोह गरिएको हो । राष्ट्र बैंकले नै ब्याज वृद्धिका लागि बैंकहरुलाई प्रोत्साहन गर्यो । बैंकको ब्याजदर स्थिर हुनुपर्यो । त्यस्तो भएन । नेपालमा हेरक ६ महिनामा हृवात्तै बढ्ने, घट्ने भयो । त्यसरी उद्योग व्यवसाय हुँदैन ।
त्यसो भए तपाईंहरुको मुख्य माग चाहिँ के हो त ?
पहिलो कुरो दुई वर्षका लागि ऋणमा पुनः संरचना गर्दिनु पर्यो । बैंक पनि समस्यामा पर्नेवाला छ, एनपीए बुक भइरहेको छ । त्यो रोक्नको लागि पनि दुई वर्षका लागि रि-स्टक्चर गर्दिने, पहिलो कोभिडको समयमा गरे जस्तो । सिंगल डिजिटमा झारेर ब्याजदरलाई स्थिर राख्ने, ऋणको समय थप्ने । विशेष रुपमा निर्यात व्यापार, उद्योग, सानामझौला उत्पादन क्षेत्र र कृषिलाई ध्यान दिनु पर्यो ।
तपाईंले आफ्नो चुनावी माहोल कस्तो देख्नु भएको छ ?
अरु साथीहरुको कुरा गर्न चाहन्न । तर म महासंघमा बस्ता आफ्नो जिम्मेवारी सकुशल निभाएको छु । साथीहरुले त्यसको खुलेर प्रशंसा गर्नु भएको छ ।
उहाँहरुकै सुझावको आधारमा म उपाध्यक्ष पदको उम्मेदवार बनेको छु । उहाँहरुले नचाहेको भए म उम्मेदवारसम्म पनि पुग्दिन थिएँ होला । उहाँहरुको चाहना बुुझर नै अगाडि बढेकाले जित सुनिश्चित छ ।
अन्त्यमा, तपाईं निर्वाचित हुनुभयो भने तपाईंले गर्ने मुख्य काम चाहिँ केके हुन् ?
निर्वाचित भइसकेपछि हाम्रा समितिलाई सबलीकरण गर्ने, संघहरुलाई समितिमा आबद्ध गरेर उहाँहरुका समस्या, चुनौती र समाधानलाई सरकारसँग लबिङ गरेर साना मझौला मौलिक उत्पादनलाई प्रवर्द्धन गर्ने र महासंघको साखलाई उच्च बनाउने काम गर्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया