जेठ ५, २०८१ शनिबार May 18, 2024

देशको समग्र समस्यालाई मध्यनजर गरेर निकास खोज्ने खालको बजेट निर्माणमा केन्द्रित छौं  : अर्थमन्त्री, डा. प्रकाशशरण महत (अन्तवार्ता)

सरकारले सहयोगीको भूमिका खेल्ने हो, अर्थतन्त्रलाई डोर्याउने काम निजी क्षेत्रले नै गर्ने हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईंले मन्त्रालय सम्हालेको करिब दुई साता भएको छ । यसबीचमा मातहतका कर्मचारीबाट ब्रिफिङ लिने, सरकोकारवालासँग छलफल तथा अन्तत्र्रिmया गर्नेलगायत कार्य गर्दै आउनुभएको छ । अर्थतन्त्रको चित्र कस्तो पाउनुभयो ? 

समग्रमा अर्थतन्त्रको चित्र निराशाजक छैन । केही समस्या, दबाब छन् । तर, त्यसलाई सम्बोधन गर्न सकिन्छ । नेपाल पनि श्रीलंकाजस्तै हुन्छ कि भन्ने चिन्ता थियो, तर त्यस्तो अवस्था नरहेको स्पष्ट देखिन्छ । अहिले मूल्यवृद्धि तुलनात्मक रूपमा केही बढी छ, तर त्यो नियन्त्रणबाहिर गइसकेको छैन । पर्यटक आगमन बढ्न थालेको छ । रेमिट्यान्स आय पनि बढेको छ ।

बाह्य क्षेत्रमा परेको चाप कम गर्न तथा विदेशी मुद्रा सञ्चिति बढाउन आयातमा केही कडीकडाइ गरिएको थियो । अन्य आन्तरिक कारणले गर्दा पनि राजस्वको अवस्थाचाहिँ सन्तोषजनक छैन । आन्तरिक मागमा आयको कमीले पनि राजस्व प्रभावित भएको छ ।

जग्गाको समयमै वर्गीकरण नहुँदा तथा कित्ताकाट रोकिँदा घरजग्गा कारोबारमा मन्दी आएको देखिन्छ । निर्माण क्षेत्रमा पनि ह्रास आएको छ । राज्यले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न सकेको छैन । बाह्य सहयोगमा हुने पुँजीगत खर्चसमेत सन्तोषजनक छैन । मूल्यलाई नियन्त्रण गर्न अख्तियार गरिएको मौद्रिक नीतिका कारण ब्याजदर बढेको छ । यस्ता कारणले लगानीको वातावरणमा कमी आएको उद्यमी व्यवसायीको गुनासो छ । सहकारी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न समस्या परिरहेको उनीहरूले बताएका छन् । यसबाट लगानीको माहोलमा केही दबाब परेको देखिन्छ ।

आममानिसमा समेत अर्थतन्त्रमा समस्या छ, मन्दी छ, गतिविधि भएको छैन, सटर बन्द हुन थालेका छन्, खुलेका सटरबाट पनि धेरै व्यापार हुन सकेको छैन भन्ने किमिसका नकारात्मक ‘धारणा’ बनिरहेका छन् । उनीहरूले भविष्यमा के होला भनेर चिन्ता गरेका छन् । त्यसैले भएको पुँजीसमेत परिचालन गर्न सकेका छैनन् ।

यसर्थ अर्थतन्त्रमा केही समस्या देखा परेका छन् । तर, तिनलाई सम्बोधन गर्न सकिन्छ । अर्थतन्त्रका समस्यालाई सम्बोधन गर्ने मूल जिम्मेवारी अर्थ मन्त्रालय र राष्ट्र बैंकको हो । हामीबीच निरन्तर औपचारिक–अनौपचारिक संवाद भइरहेको छ । हामीलाई विश्वास छ कि मौद्रिक नीतिलाई अलिकति खुकुलो बनाएर बजारको ‘धारणा’लाई फेरि सकारात्मकतर्फ उन्मुख गराउन राष्ट्र बैंकले पहल कदमी लिनेछ । यी विषयमा आइएमएफसँग पनि कुरा गरेका छौं, उहाँहरूले सकारात्मक रूपमा लिनुभएको छ । अर्थतन्त्र चाँडै नै सकारात्मकतर्फ उन्मुख हुन्छ । राज्यका तर्फबाट हामीले पुँजीगत खर्चको निराशाजनक स्थितिलाई बदलेर प्रभावकारी कार्यान्वयन गर्नेछौँ भने साधारण खर्चको बढ्दो चापलाई हुनेसम्म कठोर भएर कम गर्नेछौँ ।

यस्तो संकटको समयमा अर्थ मन्त्रालय हाँक्न आउनुभएको छ ।  देशलाई यसबाट पार लगाउने योजना के छन् ?

यो अभूतपूर्व संकटको स्थिति होइन । कुनै समय हाम्रो आर्थिक वृद्धि नै ऋणात्मक थियो । कोभिडको समयमा पनि हामीले संकटको सामना गर्यौँ । अहिले पनि चार प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने देखिन्छ । त्यसकारण अति निराशाजनक स्थिति छैन । तर, अहिले भविष्यप्रतिको चिन्तालाई कम गर्नुपर्ने समय आएको छ । आर्थिक गतिविधि बढाउनका लागि केही कुरा मौद्रिक नीतिबाट सम्बोधन गर्नुपर्ने खालको छ भने केही वित्त नीतिबाट सम्बोधन गर्नुपर्नेछ । वित्त नीतितर्फ खर्चलाई प्रभावकारी पार्न मेरो नेतृत्वको अर्थ मन्त्रालयले काम गरिरहेको छ । त्यस्तै, मौद्रिक नीतितर्फ राष्ट्र बैंकले भूमिका निर्वाह गर्नेबित्तिकै हामी सकारात्मक बाटोमा आउँछौँ ।

चुनौतीबाट भाग्नुहुँदैन । म अर्थशास्त्रको विद्यार्थी पनि हुँ । अर्थतन्त्रलाई नजिकबाट नियालेको पनि छु । त्यस अर्थमा यो जिम्मेवारी लिनुपर्छ, चुनौतीको सामना गर्नुपर्छ भनेर नै आएको हुँ । चुनौतीको सामना इमानदारिताका साथ गर्ने हो । यसमा सम्पूर्ण राज्य संयन्त्रले साथ दिनुपर्छ, यसमा म एक्लैको प्रयास मात्रै पर्याप्त हुँदैन । त्यो अवस्थामा समस्याको समाधान गर्न सकिन्छ । सकारात्मक बाटोमा अर्थतन्त्रलाई डोर्याउन सकिन्छ । नेपाली जनतामा समृद्धिको जुन चाहना छ, पिछडिएका वर्गको आवश्यकता पूर्ति गर्नुपर्नेछ । त्यसका लागि राजस्वको दायरा फराकिलो बनाएर अघि बढ्नुपर्छ । उद्योग–व्यवसाय विस्तार नभई राजस्व विस्तार हुँदैन । कर बढ्दैन । जबर्जस्ती गरेर कर उठ्दैन, आधार बलियो बनाउनुपर्ने हुन्छ । त्यो भयो भने मात्रै सामाजिक दायित्वदेखि लिएर न्यूनतम आवश्यकता पूरा गर्नबाट वञ्चित वर्गको माग पनि सम्बोन्धन गर्न सक्छौँ । अर्थतन्त्रलाई एकाकार भएर अघि बढाउनुपर्नेछ भन्ने ठानेर नै यो जिम्मेवारीमा आएको हुँ ।

सरकारलाई स्रोत जुटाउनै सकस परिरहेको छ । खर्च कटौतीको कार्यक्रम ल्याइसक्दा पनि खर्च धान्न कठिन देखिएको छ । यो खाडल कसरी पूर्ति गर्ने हो ?

स्रोतमा केही दबाब परेकै छ, हामीले राजस्वमा देखिएको खाडल पूर्ति गर्नैपर्नेछ । पहिलो विषय साधारण खर्चभित्र शिक्षा, स्वास्थ्य र सामाजिक शिक्षालगायत सबै पर्छन् । ससर्त अनुदान पनि पर्छन् । यी साधारण खर्च भनिए पनि कतिपयले पुँजी निर्माण गर्छन् । तीबाहेक नगरे पनि चल्ने किसिमका खर्च यसपालि नगरौँ भनेर सम्पूर्ण निकायका साथीहरूलाई आग्रह गरेका छौँ । एकातिर साधारण खर्चलाई कम गर्ने, अर्काेतिर पुँजीगत खर्च वृद्धि गर्ने । त्यो गर्नेबित्तिक्कै अर्थतन्त्र चलायमान हुन्छ, जसले राजस्वको दायरालाई समेत फराकिलो बनाउँछ । राजस्व बढ्यो भने सामाजिक क्षेत्रदेखि हाम्रा अन्य आवश्यकता पूरा गर्न सक्छौँ । वैदेशिक सहायतालाई पनि हामीले प्रभावकारी ढंगबाट खर्च गर्नुपर्नेछ । यसो गर्यौँ भने हाम्रा दुई तथा बहुपक्षीय दातृ निकायलाई सहायता बढाइदिनु भन्न सान्दर्भिक हुन्छ । होइन भने हामीले खर्च नगरी ‘देऊ–देऊ’ भनेर मात्रै अर्थ हुँदैन ।

अर्कोतर्फ राजस्व चुहावट रोक्न विशेष प्रयास थालिएको छ । खासगरी आयातमा प्रतिबन्ध लगाएपछि त्यसको वैकल्पिक रुट प्रयोगमा आयो, दुरुपयोग भयो, चोरी–निकासी बढ्यो भन्ने कुरा आइरहेका छन् । हामीले सुरक्षा निकाय, अर्थ मन्त्रालय तथा गृह मन्त्रालय सँगै बसेर कडा निर्देशन दिएका छौँ । सुरक्षा अधिकृतलाई कुनै कम्प्रोमाइज नगरीकन आफ्नो जिम्मेवारी निर्वाह गर्न कडा निर्देशन दिएका छौँ । यस्तै, कर अधिकृत, भन्सार अधिकृतलाई पनि कडा निर्देशन दिएको छु । यसो भन्दै गर्दा अनावश्यक रूपमा व्यवसायी तथा आयातकर्तालाई दुःख दिन खोजिएको भने होइन । जायज कुरा हुनुपर्यो भनिएको हो । राजस्वलाई बढाउने पहिलो सर्त यही हो । अर्कातिर आन्तरिक राजस्व, अन्तःशुल्क छ । त्यसलाई पनि प्रभावकारी बनाउन निर्देशन दिइएको छ । त्यसबाहेकका उपाय भनेको अर्थतन्त्र चलायमान भयो भने कर स्वतः बढ्न जान्छ ।

स्रोत हुँदा पनि पुँजीगत खर्च गर्न नसक्ने अर्को ‘रोग’ नै छ । लक्ष्यअनुसार समयमै पुँजीगत खर्च गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्ने उपाय के छन् ? 

पुँजीगत खर्च बढाउन राज्यका सबै संयन्त्र, मन्त्रालय, विभागलगायतले उच्च सतर्क र जिम्मेवारीपूर्वक साथ काम गर्नुपर्छ । जिम्मेवारी लिएपछि व्यक्तिगत प्राथमिकतालाई सेकेन्डरी ठानेर आफ्नो मुख्य प्राथमिकतामा काम गर्ने भावना विकास हुनु जरुरी छ । जस्तो कतिपय निकायले बजेट आएको आठ महिना बितिसक्दासमेत काम अघि बढाउन सकेका छैनन्, अहिले आएर बल्ल हामीलाई पैसा दिनुपर्यो, स्रोत फुकुवा गरिदिनुपर्यो, अब हामी ठेक्का लगाउँछौँ भनिराखेका छन् । ठेक्का लगाएपछि ३५ दिन त्यसको प्रक्रिया चल्छ । अनि उहाँहरूले कहिले खर्च गर्नुहुन्छ ? आठ महिनासम्म हामी के गरेर बस्यौँ ? यसर्थ, बजेट सार्वजनिक हुनासाथ तदारुकताका साथ काम गर्नुपर्छ, अन्तिम समयमा गर्न खोज्याजस्तो गरेर हुँदैन । सम्पूर्ण राजनीतिक नेतृत्व तहमा बसेकाको होस् या कर्मचारीतन्त्रको, हामी जुन–जुन जिम्मेवारीमा छौँ सबैले उच्च कर्तव्यनिष्ठाका साथ काम गर्नुपर्छ । हामीले आफ्नो सुविधा मात्रै खोजेर हुँदैन । जिम्मेवारी पनि उच्च मनोबलका साथ निभाउनुपर्छ । यसलाई मध्यनजर गर्यौँ भने निश्चय नै प्रभावकारिता बढ्छ । र, देखिएका जति पनि समस्या छन् तिनलाई प्रभावकारी ढंगबाट समाधान गरौँ, सुधार गरौँ । तर, पहिलो प्राथमिकता भनेको कामप्रति निष्ठा नै हो ।

 

अर्थतन्त्र बुझेका र अध्ययन गरेका व्यक्ति मन्त्री हुँदा धेरैको अपेक्षा औसतभन्दा बढी हुने गरेको छ । अहिलेको आर्थिक संकटमा तपाईंको विज्ञताको उपयोग कसरी हुन्छ ? 

हामीले जुनसुकै जिम्मेवारी लिएपछि त्यस क्षेत्रको समग्र विषयवस्तुबारे बुझ्नुपर्छ । राम्ररी बुझेपछि समस्या देखिएको ठाउँमा सुधार गर्ने गरी काम गर्नुपर्छ । तर, यहाँ त समस्याबारे बुझ्ने काम नै हुँदैन । अर्कातिर काम गर्छु भन्ने जोस त हुन्छ, तर कसरी कहाँ के गर्ने भन्ने थाहापत्तै नहुन सक्छ । यसर्थ, समस्याबारे बुझेर समाधानका लागि इमानदारीपूर्वक प्रयास गर्नुपर्छ । यी सबै विषयलाई बुझेर प्रभावकारी काम गर्ने प्रयत्नमा छु ।

अर्थ मन्त्रालय अरूभन्दा अलि फरक छ । यहाँ प्राविधिक विषय धेरै छन् । यसलाई हामीले आत्मविश्वासका साथ तत्पर भएर काम गर्न सकेनौँ भने अर्थतन्त्रलाई कसरी ठीक ढंगले अघि बढाउन सकिन्छ ? कसरी नीतिगत ढंगले निर्णय लिन सकिन्छ ? यसका लागि न्यूनतम ज्ञान हुनुपर्छ । अर्थतन्त्र कसरी चल्ने गरेको छ, नीतिहरूमा सामान्य संशोधन गर्दा के कसरी फरक पर्न आउँछ भन्ने कुरा बुझेको हुनुपर्छ । यस्ता कुरामा चिन्तन गरको छु । र, केही नयाँ नीति अपनाउँदा अर्थतन्त्रमा कस्तो परिवर्तन देखापर्छ भन्ने कुरामा नेतृत्वलाई ज्ञान हुनुपर्छ भन्ने कुरामा विश्वास राख्छु ।

अहिलेका जनप्रतिनिधिमा विकासको ठूलो चाहना देखिन्छ । यो ठाउँमा यस्तो विकास गरौँ, त्यहाँ यसो गरौँ भनेर बजेट माग भइरहेका छन् । उहाँहरूको विकासप्रतिको लगाव सकारात्मक पनि छ । तर, यो भन्दैमा हाम्रो स्रोत, साधन कति हो भन्ने कुरालाई पनि ख्याल गर्नुपर्छ । तसर्थ, हामीले देशको क्षमताबारे बुझाउँदै विकासको योजना कार्यान्वयन गर्नुपर्ने हुन्छ । जनताले पनि धेरैभन्दा धेरै विकास मागेका हुन्छन् । किन सबै काम गर्न सकिँदैन भनेर तथ्यगत ढंगले बुझाउन सक्नुपर्छ ।

आगामी आर्थिक वर्ष ०८०-८१ को बजेट निर्माणका लागि कस्तो तयारी गर्दै हुनुहुन्छ ?

बजेटका लागि एकदमै थोरै समय छ । करिब ४५ दिन मात्र बाँकी छ । त्यसैले अत्यन्त छोटो तयारी गरेर समयमा ल्याउनुपर्नेछ । अहिले सबै मन्त्रालयबाट प्रस्तावहरू अन्तिम रूप दिएर आइनसकेको अवस्था छ । अर्थ मन्त्रालय आफैँले पनि धेरै तयारी गर्नु छ र गरिरहेको पनि छ । १५ जेठमा बजेट ल्याउन हामी अन्यन्त ठूलो दबाबमा छौँ । यद्यपि, दबाबका बाबजुद देशको समग्र समस्यालाई मध्यनजर गरेर निकास खोज्ने खालको बजेट निर्माणमा केन्द्रित छौँ ।

अर्थव्यवस्था हाँक्ने दुई महत्वपूर्ण निकाय अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच विगतमा देखिएको तिक्तताले सिंगो अर्थतन्त्र नै समस्यामा परेको विश्लेषण पनि हुने गरेको छ । तपाईंले यी दुई निकायबीचको सम्बन्ध कसरी सुमधुर राख्नुहुन्छ ? 

अहिले त्यस्तो अवस्था छैन । हामी अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच प्रत्यक्ष–अप्रत्यक्ष, औपचारिक तथा अनौपचारिक सबै कुरा भइरहेका छन् । कुनै पनि काम मैँले गर्ने कि तैँले गर्ने भन्ने होइन । हामी सबै काम गर्न आएका हौँ, देश र जनताका लागि काम गर्ने हो । को कुन पृष्ठभूमिबाट आएको छ भन्ने कुरा महत्वपूर्ण होइन । महत्वपूर्णचाहिँ के भने समस्या कहाँ छन्, समस्या सामाधानका लागि के–कस्तो निष्कर्ष निकालेका छौँ, त्यो निष्कर्षलाई मध्यनजर राखेर निर्णय लिने हो । जसले सही निर्णय लिन्छ त्यसले जस पनि पाउँछ । त्यसैले यहाँ मैले गरेँ भनेर मैले जस लिनुपर्छ भन्ने छैन । सबैले आ–आफ्नो लक्ष्य पूर्ति गर्यो भने र दायित्व पूरा गर्यो भने राम्रो हुन्छ । मेरो मात्र अधीनमा सबै कुरा छैन । आ–आफ्नो जिम्मेवारीलाई उच्च ठानी काम गरौँ, एक–अर्कोलाई दोष दिएर होच्याउने, बढाउने कुरा पनि छैन ।

अहिले तरलता संकट, उच्च ब्याजदर, मागमा आएको गिरावट एवं महँगीका कारण निजी क्षेत्रमा आक्रोश बढेको छ । उद्योगी व्यवसायी सडक आन्दोलनमै छन् । निजी क्षेत्रलाई कसरी विश्वासमा लिनुहुन्छ ?

मैले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका कार्यक्रममा बोल्दै हामीले सहकार्य गर्नुपर्ने विषयमा आफ्ना भनाइ राखिसकेको छु । सहकार्यका लागि आह्वान गरिसकेको छु । म स्पष्ट छु कि उत्पादनको जिम्मा निजी क्षेत्रले लिने हो, पूर्वाधार, शिक्षा, स्वास्थ्यमा सरकारले ध्यान दिने हो । सरकारले सहयोगीको भूमिका खेल्ने हो, अर्थतन्त्रलाई डोर्याउने काम निजी क्षेत्रले नै गर्ने हो । निजी क्षेत्रले पनि कतिपय ठाउँमा सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यो सबै कुरा उद्योगी व्यवसायीले पनि आत्मसात् गर्नुभएकै छ । ऋण नै नतिर्ने भन्ने कुरा पनि आएका छन् । जुन गलत हो । त्यस्ता कुरालाई निरुत्साहित गर्नुपर्छ । बरु कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुरामा हामीले हातोमालो गर्न सक्छौँ ।

संकटउन्मुख अर्थतन्त्र सुधारका लागि सरोकारवालालाई तपाईंको कुनै आग्रह छ ? 

म के भन्न चाहान्छु भने हामीले अलि–अलि सीमामा रहेर काम गर्र्नुपर्ने अवस्था छ । साधारण खर्चमा पनि अहिले ‘यो गर त्यो गर’ भनेर भन्न सक्ने अवस्था पनि छैन । पुँजीगत खर्च पनि हामी जति गर्न चाहन्थ्यौँ त्यति गर्न सक्ने अवस्थामा छैनौँ । तर, जे–जति स्रोत छ, त्यसको प्रभावकारी सदुपयोग हुनुपर्छ । त्यसबाट आएको नतिजाले नै हामीले काम गर्न सक्छाैँ । विगतमा पनि ठूलो स्कोरमा पुँजी बढाउँदा पनि हामीले खर्च नै गर्न सकेको थिएनौँ । त्यसैले आमनागरिकले बुझ्नु हुनेछ भन्ने मलाई लाग्छ । अर्थतन्त्रको संकटलाई अर्थमन्त्री एक्लैले वा सरकारले मात्रै टार्न सक्दैन, त्यसैले सरोकारवाला सबैको हातेमालो आवश्यक छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छ : उपाध्यक्ष पाण्डे
२०८१ जेठ ५, शनिबार
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश
२०८१ जेठ ५, शनिबार
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति
२०८१ जेठ ५, शनिबार
संसदको गतिरोधलाई राजनीतिक संकटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा
२०८१ जेठ ५, शनिबार
डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
२०८१ जेठ ५, शनिबार
प्रदेश सभा बैठक : विशेषाधिकार समिति गठन
२०८१ जेठ ५, शनिबार
व्यक्ति केन्द्रित संसदीय समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल
२०८१ जेठ ५, शनिबार