जेठ ६, २०८१ आइतबार May 19, 2024

विभाजनको मुख्य कारण उपेन्द्रजी नै हो : मोहम्मद इस्तियाक राई (अन्तवार्ता)

पार्टीमा पनि हैकमवादी प्रवृत्तिबाट होइन, सामूहिक नेतृत्वको हिसाबले अघि बढाउनुपर्छ भन्ने भावनाका साथ हामीले छुट्टै पार्टी बनाउने निर्णयमा पुगेका हौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अध्यक्ष विदेश भएका बेला एकाएक पार्टी विभाजन गर्नुपर्ने अवस्था कसरी आयो ?

एकाएक तयारी भएको पक्कै होइन । पहिल्यैदेखि नै पार्टीमा विवाद थियो । बेलाबेला बाहिर आइरहेकै थियो । विजय गच्छदार, जेपी गुप्ता, महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतो, महेन्द्र राय यादव कोही पनि अध्यक्षको कार्यशैलीका कारण टिक्न सकेनन् । अशोक राईलाई पनि सम्मान गरेर राख्न सक्नु भएन । पार्टीमा प्रोफाइल भएको, जनमत भएको नेतालाई नरुचाउने, नेता बन्न नदिने, पाखा लगाउने काम हुँदै आयो । यो एकाएक भएको होइन । धेरै अघिदेखिको असन्तुष्टिको परिणाम हो ।

यही कारणले मात्रै पार्टी विभाजन गर्नुपरेको हो त ?

पछिल्लो पटक पार्टी महाधिवेशनमा पनि एकलौटी गर्न खोज्नुभयो । विधानविपरीत जालझेल गरेर, हामीहरू अनुपस्थित भएका बेला प्रदेश र जिल्लाका निर्वाचित अध्यक्षहरूलाई हटाउने, प्रणालीबाट क्रियाशील दिनुपर्नेमा आफ्नो नजिककालाई वितरण गर्ने, जिल्ला र पार्टीका नेताहरूमार्फत गएन । पार्टीको बैठक समयमै राखिएन । महाधिवेशनमा एकलौटी गर्न नेतृत्वमा हैकमवादी प्रवृत्ति देखियो । सबैलाई अवसर दिनुपर्छ, प्रक्रिया र विधिसम्मत रूपमा जो निर्वाचित हुन्छ, त्यो अध्यक्ष हुन्छ भन्ने भावना पार्टीमा थियो । तर, उहाँले त्यसलाई रोक्न खोज्नुभयो ।

एकलौटी रूपमा आफैं निर्वाचित भएर आउने काममा लाग्नुभयो । अर्को कुरा, सत्तामा पनि कहिले यता लाग्ने, कहिले उता लाग्ने, स्थिर नहुने । पटक–पटक सरकार परिवर्तन हुने, प्रदेश सरकार पनि परिवर्तन हुन थालेपछि संघीयतामाथि पनि प्रश्न उठ्न थाल्यो । त्यसैले दीर्घकालीन मोर्चाका रूपमा र सरकारलाई स्थिर बनाउने हिसाबले कदम उठाइएको हो । पार्टीमा पनि हैकमवादी प्रवृत्तिबाट होइन, सामूहिक नेतृत्वको हिसाबले अघि बढाउनुपर्छ भन्ने भावनाका साथ हामीले छुट्टै पार्टी बनाउने निर्णयमा पुगेका हौं ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेलामा पनि जसपाभित्र सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा चर्को विवाद थियो । अहिले त्यसैको परिणाम हो ?

त्यस्तो होइन । पार्टीभित्र त्यतिबेलादेखि होइन, लामै समयदेखि विवाद थियो । सरकारमा विश्वासको मत दिने बेलामा उहाँलाई मन्त्री बनाउने कुरामा विवाद थिएन । महाधिवेशनमा एकलौटी ढंगले अघि बढ्न खोजेपछि अवस्था बिग्रेको हो र अहिलेको निर्णय लिन बाध्य भएका हौं ।

सत्ता गठबन्धन बदल्नकै लागि तपाईंहरूले पार्टी विभाजन गर्नुभएको भन्ने सन्देश गइरहेको छ नि ?

होइन । अहिलेसम्म गठबन्धनमा कुनै संकट परेको छैन । गठबन्धनको निरन्तरताको पक्षमा हामीहरू छौं । नयाँ गठबन्धन केका लागि बनाउने ? फेरि अस्थिरता ल्याउने ? केन्द्रमा गठबन्धन परिवर्तन भएपछि फेरि सातै प्रदेशमा सरकारहरू परिवर्तन गर्ने ? यसले कस्तो सन्देश दिन्छ ? देशको आर्थिक अवस्था कमजोर भएका बेलामा स्थिर सरकार होस् भन्ने हामीहरूको कुरा हो ।

जसपा विभाजनमा भूराजनीतिक कारण पनि जोडिएको भनेर अर्थ्याउन खोजिएको छ, तपाईं के भन्नुहुन्छ ?

भूराजनीतिक कुरा केही होइन । यो विभाजनको मुख्य कारण उपेन्द्रजी नै हो । उपेन्द्रजीको प्रवृत्ति र कार्यशैली जिम्मेवार हो । हामी गलत थियौं भने महन्थ, जेपी, विजय, राजेन्द्र, बाबुराम सबै गलत कसरी हुन्छन् ? एउटै व्यक्तिका कारण यस्तो सिनियर नेताहरू किन टिक्न सकेका छैनन् ? बाबुराम भट्टराई जस्तो प्रधानमन्त्री भइसकेको मान्छेले नेतृत्व स्वीकार गरेर आउनुभयो । तर, टिक्न सक्नु भएन । महन्थ ठाकुर, विजयकुमार गच्छदार सबै उपेन्द्र यादवभन्दा वरिष्ठ हुन् । तर, उनीहरूलाई पार्टी छोडेर जान बाध्य पारियो । हामीहरू सुधार होला भनेर बस्यौं । तर भएन । त्यही भएर यो निर्णय लिनुपरेको हो ।

एमालेसँग एकीकरण गर्ने कुरा पनि चलिरहेको छ नि ?

एमालेसँग किन एकीकरण गर्नुपर्‍यो ? हामीले एकीकरण गर्ने हो भने सोझै गर्न सकिन्थ्यो । कानुनमा व्यवस्था छँदै थियो । हाम्रो पार्टीको नाम छ, एजेन्डा र विधान छ । हामीलाई एकीकरण गर्न आवश्यक छैन । हामी आफ्नै मुद्दा लिएर जान्छौं । पार्टी बनाउँछौं । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्री दाहाललाई विश्वास मत दिन्छौँ : माधव नेपाल
२०८१ जेठ ६, आइतबार
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
२०८१ जेठ ६, आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
२०८१ जेठ ६, आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
२०८१ जेठ ६, आइतबार
टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२०८१ जेठ ६, आइतबार
प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट
२०८१ जेठ ६, आइतबार