मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

पाकिस्तानसँग पहिलो एक दिवसीयमा पाँच विकेटले हार्यो न्युजिल्यान्ड

पाकिस्तानले ४८.३ ओभरमा पाँच विकेट गुमाएर दुई सय ९१ रनसहित लक्ष्य पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः फकहर जमानको शतकप्रेरित घरेलु टिम पाकिस्तानले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ। रावलपिन्डी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले सात विकेटको क्षतिमा दुई सय ८८ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४८.३ ओभरमा पाँच विकेट गुमाएर दुई सय ९१ रनसहित लक्ष्य पूरा गर्यो। पाकिस्तानका ओपनर जमान र इमाम–उल–हकले पहिलो विकेटका लागि एक सय २४ रनको साभेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । घरेलु टिमका लागि एक सय १४ बलको सामना गरेका जमानले १३ चौका र एक छक्कासहित एक सय १७ रनको शतकीय इनिङ खेले।

यस्तै, उल–हकले ६५ बलमा पाँच चोका र एक छक्कासहित ६० रनको अर्धशतकीय इनिङ खेले। वान् डाउनमा क्रिजमा उत्रिएका कप्तान बाबर आजमले जमानसँग दोस्रो विकेटका लागि ९० रनको साझेदारी गर्दै ४९ रन जोडेर पभिलियन फर्के।

पाँचौं नम्बरमा क्रिजममा उत्रिएका मोहम्मद रिजवानले ३४ बलमा ६ चौका र एक छक्कासहित ४२ रनको इनिङ खेल्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। न्युजिल्यान्डका लागि आडम मिल्नले दुई तथा ब्लेर टिक्नेर, इश सोधी र रचिन रविन्द्रले जनही एक विकेट लिए। पहिलो इनिङमा न्युजिल्यान्डका ओपनर विल यङ र डार्यल मिचेलले दोस्रो विकेटका लागि एक सय दुई रनको साभेदारी गरेका थिए।

भ्रमणकारी टिमका लागि ७८ बलको सामना गरेका यङले आठ चौका र दुई छक्कासहित ८६ रनको अर्धशतकीय इनिङ खेले।यस्तै, मिचेलले एक सय १५ बलमा ११ चौका र एक छक्कासहित एक सय १३ रनको शतकीय इनिङ खेल्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

पाकिस्तानी बलर शाहीन साह अफ्रिदी, नसीम साह र ह्यारिस रौफले दुई–दुई विकेट लिए। यस्तै, सादाब खानले एक न्युजिल्यान्डका ब्याटरलाई पभिलियन फर्काएका थिए। जितसँगै पाँच खेलको शृंखलामा घरेलु टिमले १–० को अग्रता बनाएको छ। दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय भोलि (शनिबार) रावलपिन्डीमै हुनेछ।

तेस्रो, चौथो र पाँचौं एकदिवसीय कराँचीमा हुनेछ। यसअघि सम्पन्न ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला २–२ को बराबरीमा टङ्गिएको थियो। अन्तिम खेल असिना–पानीका कारण रद्द भएपछि शृंखला बराबरीमा सीमित बनेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया