काठमाण्डौः पर्यटकीयस्थल पाल्पाको रानीमहल क्षेत्रलाई ‘बिच भलिबल’को हब घोषणा गरिएको छ । खेल र पर्यटनलाई जोड्न नेपालमै पहिलो पटक ‘बिच भलिबलको हब’ घोषणा गरेको हो । यहाँ हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सकिने प्रशस्त सम्भावना पनि छ ।
गत वर्ष पाल्पामा आयोजित राष्ट्रिय महिला ‘बिच भलिबल’ प्रतयोगिता र यस वर्ष भएको पुरुषतर्फको राष्ट्रिय ‘बिच भलिबल’ले पनि रानीमहल क्षेत्रको विकासका लागि आगामी दिनमा भौतिक पूर्वाधार तयार गरेर प्रतियोगिता आयोजना गर्न सकिने पुष्टि गरेको भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले बताए । ‘धेरै राम्रो क्षेत्र हो,’ उनले भने, ‘यसलाई हब घोषणा गर्दा हामीलाई पनि उत्साहित बनाएको छ ।’
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहललाई ‘बिच भलिबल’को हब बनाउन प्रतिवद्धता व्यक्त गरेका हुनन् । ‘रानीमहल क्षेत्र ‘बिच भलिबल’को केन्द्र’ घोषणा गर्दै दुवै पालिका प्रमुखले आगामी दिनमा हुने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार विकास गर्दै खेल निरन्तरताका लागि समेत प्रतिवद्धता जनाए ।
दुवै स्थानीय तहले गरेको प्रतिवद्धतामा सञ्जय स्मृति प्रतिष्ठान, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघ साक्षी बसेका छन् । रानीमहललाई ‘बिच भलिबल’को हब बनाउनका लागि तानसेन नगरपालिकासँग मिलेर काम गर्न बगनासकाली पनि तयार अध्यक्ष दर्लामीले बताइन् । ‘हामी र नगरपालिका मिलेर काम गर्न तयार नै छौं,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार लगायतका क्षेत्रमा काम दुवै पालिका मिलेर गर्नुपर्छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया