जेठ २०, २०८० शनिबार June 3, 2023

निष्पक्ष छानबिनमा आशंका नागरिक सडकमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियो ?’ यो वाक्य शनिबार सामाजिक सञ्जालका भित्ताहरूमा भाइरल बन्यो। बिहानैदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले यही वाक्य लेखेर भ्रष्टाचारविरुद्ध आवाज उठाइरहे।

भ्रष्टाचारीलाई प्रश्न गर्दै शनिबार बिहान काठमाडौंस्थित माइतीघर मण्डलमा ‘करोडौं पर्ने बंगला तिम्लाई कसले किन्दियो?’ भन्ने प्लेकार्डसहित प्रदर्शन गरिएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा संगठित भ्रष्टाचार र ठगी भएको भन्दै दोषीलाई कारबाही माग गर्दै नागरिक स्वतःस्फूर्त सडकमा ओर्लिएका हुन्। नागरिक अगुवाइमा माइतीघर मण्डलमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रदर्शनकारीले नेताहरूलाई व्यंग्य गरिएका प्लेकार्डहरू बोकेका थिए। माइतीघर मण्डलमा गरिएको प्रदर्शनमा डा. गोविन्द केसीसहित विभिन्न क्षेत्रका नागरिक अगुवा, राजनीतिक दलका नेता तथा कार्यकतालगायत उपस्थित थिए।

यस्तै दिउँसो नक्सालस्थित नारायणचौरमा पनि नागरिकले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरे। उक्त प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित अन्य दलका नेता, कार्यकर्ता र नागरिक अगुवाको बाक्लो उपस्थिति थियो।

नारायणचौरमा आयोजित प्रदर्शनमा पनि ऐक्यबद्धता जनाउन पुगेका चिकित्सा शिक्षा सुधार अभियन्तासमेत रहेका डा. केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरू पनि जोडिएको आशंका गरे। ‘ठूला नेताको आड नपाईकन अरू नेताले यत्रो भ्रष्टाचार गर्ने हिम्मत गर्दैनन्,’ उनले भने, ‘अब सरकारले भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी देखिए उनीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ, कारबाही हुुनुपर्छ। देउवा, ओली, प्रचण्ड पनि दोषी पाइए भने कारबाही हुनुपर्छ।’ शीर्ष नेता भ्रष्ट नभईकन मातहतका नेता भ्रष्ट हुन गाह्रो हुने उनले दाबी गरे।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव टोपबहादुर रायमाझी फरार हुनुमा पनि शीर्ष नेताहरूकै मिलेमतो रहेको दाबी केसीले गरे। ‘पक्राउ पुर्जी जारी भइसकेका नेताहरू फरार हुनुले उनीहरू दोषी रहेको प्रस्टै देखिन्छ। भाग्न खोज्नु र भाग्नुले दोषी भएको स्वतः प्रस्ट हुन्छ। यसरी भाग्दा पनि शीर्ष नेताको सहयोग छ भन्ने बुझिन्छ,’ केसीले भने।

बाबुराम भट्टराई पुग्दा विरोध

नक्सालस्थित नारायणचौरमा आयोजित प्रदर्शनमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पुगेका थिए। उनी पुग्दा उपस्थित प्रदर्शनकारीले असन्तुष्टि जनाएका थिए। प्रदर्शनकारीले मुलुकमा भ्रष्टाचार मौलाउनुमा डा. भट्टराई र उनकी पत्नी हिसिला यमीको पनि संलग्नता रहेको दाबी गर्दै असन्तुष्टि पोखे। आफ्नो उपस्थितिमा असन्तुष्टि प्रकट भए पनि भट्टराई प्रदर्शनमा सहभागी भए। भट्टराईले देशमा स्थिर सरकार नभए भुटानी शरणार्थीजस्ता प्रकरणमा निष्पक्ष छानबिन हुन नसक्ने बताए।

‘स्थिर सरकार नहुँदा नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष रूपमा छानबिन हुने कुरामा शंका हुन्छ,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले कुनै दलको बहुमत पुग्दैन, बहुमत नभएपछि सरकार अस्थिर हुन्छ। यस्तो अवस्थामा सरकार जोगाउनुपर्ने भएकाले कार्यकारी प्रमुखले दह्रोसँग कदम चाल्न सक्दैन। राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ।’ भ्रष्टाचारविरुद्ध सडक, सदन र सरकारबाटै खबरदारी हुनुपर्ने भट्टराईले बताए। उनले भने, ‘हामीले यो गर्न सके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ।’

प्रदर्शनमा ऐक्यबद्धता जनाउन पुगेका रास्वपा सभापति लामिछानेले एउटा काण्डको मात्र छानबिन गरेर सरकार सफल भयो भन्न नसकिने बताए। ‘एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलभन्दा अलि धेरै हुन्छ। त्यति धेरै पनि नभनौं होला। आशावादी हुनुपर्छ। धेरै काण्ड लाइनमा छन्, ती काण्डमा पनि अनुसन्धान हुनुपर्छ। अनि हामी हेर्छौं,’ उनले भने, ‘सरकारले यसलाई सुरुआत बिन्दु मानेको हो भने स्याबास् सरकार! तर यो रोकिनु भएन।’

नक्कली शरणार्थी प्रकरणमा छानबिन भइरहेको अवस्थामा कसैले विषयान्तर गर्न नमिल्ने लामिछानेले बताए। ‘अहिलेलाई विषयान्तर कसैले नगरोस्। आफ्नो दलका दोषीलाई बचाउने, छेक्ने, ढाँट्ने नगर्नुस्। नांगिसकेपछि अब किन छेक्ने?’ उनले भने।

गलत गर्ने पूर्व गृहमन्त्रीलाई मात्र नभई पूर्व प्रधानमन्त्रीहरूलाई पनि हतकडी लगाएर जेल कोच्नुपर्ने लामिछानेले बताए। उनले भने, ‘अब पूर्व प्रधानमन्त्रीहरूलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरूको नजिर नेपालले बनाउने हो।’

भुटानी शरणार्थी प्रकरणमा हालसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परेका छन्। पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ तर उनी फरार छन्।

यसै प्रकरणमा अझै आधा दर्जन ‘हाई प्रोफाइल’ व्यक्ति तानिने देखिएको छ। उनीहरूविरुद्ध पनि प्रमाण जुटाउनेगरी अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जनाएका छन्। यो प्रकरणमा निष्पक्ष छानबिन हुने आश्वासन सरकारले दिँदै आएको छ। तर पनि ‘हाई प्रोफाइल’ का व्यक्तिको पनि संलग्नता भएको र देखिएकाले निष्पक्ष छानबिनमा शंका उब्जिएको छ। निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिन केही दिनयता दिनहुँ नागरिक सडकमा उत्रिएका छन्। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया