जेठ २०, २०८० शनिबार June 3, 2023

नेपाल पञ्चाङ्गको स्वीकृतिबिना चार पात्रो प्रकाशन

दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चारवटा पात्रो स्वीकृतिबिना प्रकाशन भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिइ चार पात्रो प्रकाशन भएको पाइएको हो । यस्तै दुई सयभन्दा बढी भित्तेपात्रो पनि स्वीकृतिबिना प्रकाशन भएको पाइएको छ ।

समितिले गठन गरेको अनुगमन उपसमितिको प्रारम्भिक अनुगमनबाट ती पात्रो र भित्तेपात्रो स्वीकृतिबिना प्रकाशन भएको पाइएको संयोजक मुरारी पाण्डेले जानकारी दिनुभयो । समितिबाट स्वीकृति नलिइ प्रकाशन भएका पात्रोमा ज्वाला पञ्चाङ्गम्, वैदिक पञ्चाङ्गम्लगायत रहेका छन् । प्रकाशन भएका पात्रो र भित्तेपात्रोको अनुगमन जारी रहेको उहाँले बताउनुभयो ।

उपसमितिले प्रारम्भिक अनुगमन गरी त्यसको तथ्याङ्क संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिमा पेस गरिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । अनुगमन समितिले कानुनी कारबाहीका लागि प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने बताइएको छ ।

समितिसँग स्वीकृति लिएर १५ पात्रो र करिब एक हजार भित्तेपात्रो प्रकाशन भएका छन् । सही तिथिमिति र चाडपर्वको जानकारी लिन समितिले स्वीकृति दिएका पात्रो र भित्तेपात्रो मात्र प्रयोग गर्न समितिले आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया