वैशाख १९, २०८१ बुधबार May 1, 2024

‘ए’ डिभिजन लिगमा मनाङले थ्री स्टारलाई १-० ले हरायो

थ्री स्टार २२ खेलबाट २६ अंक जोडेर ११औं स्थानमा तल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मनाङ-मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबलाई पराजित गरेको छ । मनाङले थ्री स्टारलाई १–० ले पराजित गरेको हो ।

मनाङको जितमा पहिलो हाफमा चेतन कुमार थारुले गरेको गोल नै निर्णायक बन्यो । उनले ३८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको निकै नै फितलो खेलको १७औं मिनेटमा लाकेन लिम्बुको प्रहार क्रसबारमा लागेर फर्कदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

३४औं मिनेटमा फरवार्ड अजायी मार्टिन्स घाइते भएर खेल्न नसक्ने भएपछि थ्री स्टार थप समस्यामा पर्यो । मार्टिन्स घाइते भएपछि थ्री स्टारको अग्रपङ्ति डिफेन्डर पिटर सेगुनले सम्हालेका थिए ।

मार्टिन्स घाइते भएको चार मिनेटपछि थ्री स्टारले गोल खान पुग्यो । ३८औ मिनेटमा चेतन कुमार थारुले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए ।

अशोक खवासले रोशन राना मगरलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा डियाको प्रहार पोलमा लागेर फर्कदा कोफी टिमोथी कोउडुले मिलाइदिएको पासलाई नजिकै रहेका चेतनले सहजै गोल गरे ।

एक गोलले पछि परेको थ्री स्टारले दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि मनाङको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

संकटालाई ३–० ले पराजित गरेयताको ११ खेलमा थ्री स्टारको यो लगातार चौथो हार हो । आर्मीसँग १–१ गोलको बराबरी खेलेयताको सबै चार खेलमा थ्री स्टार समान १–० को नतिजामा पराजित भएको छ ।

लगातारको हार र जितविहीन यात्राले थ्री स्टारलाई पनि रेलिगेसनको दवाव बढेको छ । यस हारसँगै थ्री स्टार २२ खेलबाट २६ अंक जोडेर ११औं स्थानमा झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया