वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

‘भारत भ्रमणका क्रममा हुने सम्झौतामा राष्ट्रिय सहमति हुन्छ’ – प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री, विभिन्न दलका नेता र परराष्ट्र मामिलाका जानकारहरूसँग सुझाव लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उहाँले आफ्नो आसन्न भारत भ्रमणलाई फलदायी बनाउने सन्दर्भमा सुझाव लिनुभएको हो ।

सञ्चारकर्मीले यस पटक गरिने सम्झौताहरूमा राष्ट्रिय सहमति हुन्छ? भनी गरिएको प्रश्नमा उहाँले भन्नुभयो, “राष्ट्रिय सहमति हुन्छ ।” प्रधानमन्त्री दाहालले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जान लाग्नुभएको हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूले द्विपक्षीय सम्बन्ध राम्रो बनाउन सर्वप्रथम दुई देशबीच विश्वासको वातावरण हुनुपर्ने सुझाव दिएको बताउनुभयो । साथै उहाँले प्रधानमन्त्री दाहाललाई दुई देशबीचका विभिन्न मुद्दा समाधानका लागि प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन ग्रहण गर्नुपर्ने बताउँदै यसले समग्रतामा हल हुने सुझाव दिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

पूर्व परराष्ट्र मन्त्री डा नारायण खड्काले कार्यक्रममा प्रधानमन्त्री दाहालले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र आर्थिक व्यापारिक, वाणिज्य, ऊर्जा लगायत विविध विषयमा छलफल र सहमति हुने जानकारी गराउनुभएको बताउनुभयो । पूर्व मन्त्री खड्काले राष्ट्रको हितलाई सर्वोपरि ठानेर आत्मविश्वासका साथ आफ्ना कुरा राख्न सुझाव दिएको जानकारी गराउनुभयो ।

पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको राष्ट्रिय हितमा दृढतापूर्वक उभिँदा प्रमुख प्रतिपक्ष दलको पूर्ण समर्थन हुने आफूले बताएको जानकारी दिनुभयो । उहाँले भ्रमण र संवादका क्रममा इपिजी प्रतिवेदन ग्रहण गर्नका लागि जोड दिन, ऐतिहासिक तथ्यका आधारमा सिमानाको विषय समाधान गर्न, व्यापार घाटा कम गर्नका लागि नेपालमा उत्पादित सामग्री प्रवेशमा भारतलाई उदार हुनका लागि पहल गर्न, विभिन्न जलविद्युत् आयोजना अघि बढाउन पहल गर्ने लगायत विषयमा आफूले सुझाव दिएको बताउनुभयो ।

पूर्व परराष्ट्र मन्त्री डा प्रकाशचन्द्र लोहनीले राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र नेपाली जनताको आत्मसम्मानलाई दृष्टिगत गरेर तथा केन्द्रित भएर मित्रराष्ट्र भारतसँग आपसी हितका कुराकानी गरेर विश्वासको वातावरण बनाउन सुझाव दिएको बताउनुभयो ।

पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले प्रधानमन्त्री दाहालले दुई देशबीच सहयोगका बारेमा यसपालि सहमति बन्ने, समझदारी हुने र केही विषयमा सम्झौतामा हस्ताक्षर हुने जानकारी गराएको बताउँदै सिमानाको विषय समाधानका लागि अध्ययन गरेर दह्रो भएर कुरा राख्न आफूले सुझाव दिएको जानकारी गराउनुभयो ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यसैगरी, उहाँले जेठ १८ गते भारतका प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुने वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुने छ ।

प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौँ पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार