वैशाख १३, २०८१ बिहिबार April 25, 2024

पनौतीमा हिलेजात्रा (ज्याःपुन्ही) सुरु : जात्रा सकिएपछि मात्र रोपाइँ

तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काभ्रेपलाञ्चोकको पनौतीमा आज जेष्ठ त्रयोदशीदेखि हिलेजात्रा (ज्याःपुन्ही) सुरु भएको छ। तीन दिन पूर्णिमाको रात रहुन्जेल स्थानीयले हिलेजात्रा मनाउँछन्। जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन हो।

‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने स्थानीय बूढापाकाको भनाइमा उक्त जात्रामा सामेल हुनुपर्ने परम्परागत तथ्य पनि छ। जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भन्ने गरिएको पाइन्छ।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष औपचारिक पूजाअर्चना मात्रै गरी मनाइएको थियो। मान्यताअनुसार जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ। यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ र प्रत्येक वर्ष यस्तै हुँदै आएको स्थानीयसँग अनुभव छ।

करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई वटा बाँस तेर्स्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ। तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठूलो जात्राका रूपमा लिने गरिएको छ। जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ।

साथै इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ। जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भाग दौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने काम हुन्छ। यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिँदै युवायुवतीको सहभागिता उत्साहजनक रहने गर्दछ।

स्थानीय वृद्ध वृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन्। महादेव त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन्।

भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ। रथ जुधाइसँगै अविरजात्रा पनि हुन्छ। लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन्।

जात्रा अवधिभर स्थानीय फोटो पत्रकारले काभे्रपलाञ्चोकको सम्पदा, प्रकृति, संस्कृति तथा पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गर्ने गर्छन्। स्थानीय मुख्य पर्व जनाउँदै पनौती हिले जात्राको अन्तिम दिन नगरपालिका कार्यालयले नगरमा सार्वजनिक बिदासमेत दिने गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया