भाद्र २८, २०८३ आइतबार September 13, 2026

सबै इमानदार भइदिए सजिलै राजस्व लक्ष्य भेट्न सकिन्छ : अर्थमन्त्री डा. महत

सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चितरूपमा व्यवसायीले अर्को बाटो रोज्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमानदार भएर काम गरे राजस्व लक्ष्य भेट्ने बताउनुभएको छ । बिहीवार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उहाँले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिन सके र सबै इमानदार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताउनुभयो ।

मन्त्री महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रणबाहिरको कुरा भएको बताउनुभयो । तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न गर्न सकिने उहाँको भनाइ थियो ।

‘हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्त्व दियौँ भने राजस्व कम उठ्छ’, उहाँले भन्नुभयो ।

जायज कुरालाई नजायज बनाउन थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चितरूपमा व्यवसायीले अर्को बाटो रोज्ने उहाँको भनाइ थियो । ‘राजस्व सङ्कलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट मालवस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ’, मन्त्री महतले भन्नुभयो ।

सुक्खा बन्दरगाहमा ठूलो मेशिन आए पनि उपयोगमा आउन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उपयोगमा किन आएन कसैलाई थाहा छैन, अरूले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो, प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो, त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेड गर्न स्रोतको कमी हुँदैन तर तपाईँहरूले सहयोग गर्नुपर्छ ।’

आफू फाइदा उठाउन नभई काम गर्न आएको, फाइदा मलाई सरकारले दिएको छ भन्ने कुरा मनन गरेमा भने राजस्वले लक्ष्य भेट्ने उहाँको जिकिर थियो । राजस्वको लक्ष्य के छ ? गएको वर्ष कस्तो प्रगति भयो ? के कारणले लक्ष्य प्राप्त गर्न सकिएन ? कार्यालयको योजना के छ ? यसको समाधान गर्ने बाटो के हुन सक्छ ? मन्त्रालयसँग के अपेक्षा छ ? भन्ने कुरामा सबै स्पष्ट रहेको मन्त्री महतले प्रष्ट पार्नुभयो ।

भन्सार योगदानको ४० प्रतिशत सुक्खा बन्दरगाह भन्सार र वीरगञ्ज भन्सार कार्यालयबाट प्राप्त हुने उल्लेख गर्दै उहाँले कर्मचारीको जिम्मेवारी कति गहन छ भन्ने यसैबाट बुझ्नुपर्ने बताउनुभयो । ‘राजस्वको लक्ष्य प्राप्त गर्नका लागि धेरै ठूलो जिम्मेवारी यी दुई भन्सार कार्यालयको छ’, उहाँले भन्नुभयो, ‘त्यस कारण तपाईँहरू सजग रहनुहोस् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया