कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पशुपतिमा साउनको अन्तिम सोमबार : दुई लाख बढी भक्तजनले गरे दर्शन (फोटोफिचर)

पशुपतिनाथमा साँझ आरती हेर्न आउने भक्तजनको पनि उत्तिकै भीड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : सौरमासअनुसार साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्र गई भगवान् श्री पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् ।

विगतका सोमबारभन्दा आज पशुपतिनाथलगायत राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिन्थ्यो । सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि भक्तजनको धेरै लाम लाग्ने भएकाले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि दर्शन गर्नुभएको कोषले जनाएको छ ।

पशुपतिनाथलगायत राजधानीका शिवालयमा विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको आज दिनभर लाम लागेको थियो । रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनमध्ये कतिपय भने तस्बिर खिच्न र टिकटक बनाउनकै लागि शिवालयमा आएका हुन् कि भनेजस्तो देखिने गरेको दर्शनार्थी राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।

कोषले पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिकै जसरी नै व्यवस्था गरेको थियो । भक्तजन जुन ढोकाबाट दर्शनका लागि छिरेका थिए, त्यसै ढोकाबाट निस्कने व्यवस्था गरिएको जनाइएको छ । पशुपतिनाथ मन्दिरमा भने अहिले पनि भक्तजनको भीड छ ।

यस वर्ष सौरमासअनुसार साउनमा पाँच सोमबार परेको छ । सौरमासअनुसार साउने सोमबारको अन्तिम दिन आज भए पनि यसपछि पनि चान्द्रमासअनुसार साउनका सोमबार भने बाँकी नै छन् । यस वर्ष सौरमासअनुसार साउन महिनामा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसारको साउन महिनामै गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत गरी त्यसको उद्यापन गर्नु हुने तर्क गरेका छन् ।

अर्का थरी धर्मशास्त्रीले भने अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउन महिनामा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन् । यस विषयमा निर्णय गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि यस विषयमा आधिकारिक निर्णय गरेको छैन । कुल, परम्पराअनुसार नै वर्तालुले साउनको सोमबारको व्रत गरेका छन् ।

साउनको सोमबार आज पशुपतिनाथमा बोलबम यात्रीको पनि भीड लागेको थियो । सुन्दरीजलस्थित बागमतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दरीजल पुगेका थिए । ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन् । बोलबम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत राजधानीका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका ठूला, साना शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।

साउन महिनामा शिवालयमा शुद्ध जलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ । साउनको सोमबार पारेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने भक्तजन पनि धेरै हुने गर्छन् । साउने सोमबार रु सात हजार पाँच सयभन्दा धेरैको मात्र विशेष पूजा गर्न सकिने गरी व्यवस्था गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथमा साँझ आरती हेर्न आउने भक्तजनको पनि भीड लाग्ने भएकाले पनि भक्तजन बेलुकीसम्म धेरै देखिएका हुन् । पशुपतिनाथमा बेलुका भक्तजन आएसम्म सौरमासअनुसार साउनको अन्तिम सोमबारको दर्शन गर्न दिइने कोषले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार