कार्तिक २८, २०८३ शनिबार November 14, 2026

जिल्ला समन्वय समितिलाई साधन स्रोतको अभाव हुन दिइन्न : मन्त्री देवी

जिससमा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापनका लागि शीघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले जिल्ला समन्वय समितिलाई साधन स्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला समन्वय समिति महासङ्घले आज (शनिबार) यहाँ आयोजना गरेको ‘जिल्ला समन्वय समिति समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्नुहुँदै उहाँले जिससमा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापनका लागि शीघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “आगामी दिनमा कर्मचारी अभावमा कार्यसम्पादनमा समस्या पर्न नदिनेतर्फ मेरो ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो ।

मन्त्री देवीले जिससलाई कार्यसम्पादनका आधारमा आवश्यक बजेट, कर्मचारी तथा साधा स्रोतको व्यवस्था मिलाउन महासङ्घसँग समन्वय गरी अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सङ्घ तथा प्रदेशका विभिन्न योजना कार्यान्वयनमा दोहोरोपनका साथै समस्या आउन नदिने गरी सन्तुलित र न्यायोचित विकासमा जिससको भूमिका बढाउन सकिएमा आर्थिक समृद्धिमा अनुकूल वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले जिससलाई साधन स्रोतयुक्त बनाइनुपर्नेमा जोड दिँदै अनुगमन र समन्वयलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले स्थानीय तहबीचको समन्वयका लागि जिससको महत्त्वपूर्ण भूमिका भएको उल्लेख गर्दै जिम्मेवारीलाई ठीक ढङ्गले निर्वाह गर्नका लागि आग्रह गर्नुभयो । “संविधानले जुन भावका साथ जिससलाई समन्वयको जिम्मेवारी दिएको छ, यसलाई कानुनले पनि जिम्मेवारी दिने गरी काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेश सरकारले पनि यथेष्ट साधन स्रोत उपलब्ध गराएर जिससलाई बढीभन्दा बढी कामकाजी बनाउनुपर्छ ।”

नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जिल्ला समन्वय समितिलाई सफल र प्रभावकारी बनाउन प्रमुख दलले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । “आवश्यक कानुन निर्माण गरेर जिससलाई देखिने गरी भूमिकामा रहन पाउने गरी अगाडि बढाउन हामी तयार छौँ, सरकारले प्रस्ताव ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “संविधानमा व्यवस्था गरिएको यस  संरचनालाई सरकारले नचिन्न पाउँदैन ।”

प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधानको पूर्ण पालना गरेर जानुपर्नेमा जोड दिँदै जिससको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्ने बताउनुभयो ।

महासङ्घका निवर्तमान अध्यक्ष नवराज गोलालले जिल्ला समन्वय समितिलाई संविधानमा भएको व्यवस्थाअनुसारको काम गर्नका लागि जनशक्ति र स्रोत दिनुपर्ने बताउनुभयो । जिल्ला विकास समिति महासङ्घका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाले सरकारले जिल्ला समन्वय समितिको भूमिकालाई खुम्च्याउन नहुने बताउनुभयो ।

सम्मेलनमा जिससका प्रमुख तथा उपप्रमुखले संविधानले चिनेको जिससलाई सरकारी संयन्त्रका रूपमा बुझिदिन र कर्मचारीको अभावको समस्या समाधान गरिदिन आग्रह गर्नुभएको थियो । उहाँहरूले तत्कालीन जिल्ला विकास समितिको मौज्दात कोषमा रहेको रकम खर्च गर्न नसक्ने अवस्था रहेको हुँदा जिल्लासभाबाट कार्यक्रम बनाएर खर्च गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको थियो ।

जिससको भवनबाट उठेको भाडा सङ्घीय सरकारको खातामा जम्मा भए पनि आवश्यक मर्मतसम्भार गर्न बजेट अभाव हुँदा उत्पन्न भएका समस्या सुनाउँदै भाडाबापत उठेको रकम आफैँले खर्च गर्ने व्यवस्था मिलाउन उहाँहरूले आग्रह गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार