वैशाख १९, २०८१ बुधबार May 1, 2024

बीपीका बहुआयाम – नैनसिंह महर

न्तर्राष्ट्रिय खेलमा भाग लिन गएका खेलाडी र विदेश भ्रमणमा गएका जनप्रतिनिधिसमेत उतै हराउनुले मुलुकको अत्यासलाग्दो अवस्थालाई झल्काउँछ 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बीपी कोइराला आधुनिक नेपालका राजनेता हुनुहुन्छ भन्नेमा नेपाली कांग्रेस मात्र होइन, उहाँलाई बुझेका, संगत गरेका र पढेका कम्युनिस्ट नेताहरूसमेत सहमत छन् । यस्ता उच्च कोटिका नेताको सम्झना कांग्रेसले यस पटक विशेष ढंगले गर्दै छ । कांग्रेस केन्द्रीय कार्यालयले बीपी जयन्ती भदौ २४ देखि तीन दिनसम्म ‘बीपी साहित्य महोत्सव’ को सुरुआत गरेको छ ।

संसारमा त्यही मानिसलाई पछि आउने पुस्ताले स्मरण गर्छ, जसका चिन्तनहरू कुनै न कुनै रूपमा समाजका लागि अनुकरणीय र प्रेरणादायी हुन्छन् । उच्च जिम्मेवारी निर्वाह गरेका धेरै व्यक्ति पदबाट बाहिरिनेबित्तिकै असान्दर्भिक हुन्छन् ।

आठ महिना (२००७ फागुनदेखि २००८ असोजसम्म) गृहमन्त्री र करिब १८ महिना (२०१६ जेठ १३ देखि २०१७ पुस १ सम्म) प्रधानमन्त्री पद सम्हालेका बीपीलाई मृत्यु भएको चार दशकपछि पनि उच्च मर्यादाका साथ सम्झना गरिँदै छ । यसले बीपीका विचारहरू अहिले पनि समयसापेक्ष नै छन् भन्ने दर्साउँछ ।

समाजवादप्रति दरिलो आस्थाका कारण बीपी उदारवादी वाम चिन्तक मानिनुहुन्छ । उहाँको समाजवादमा आर्थिक समानता र राजनीतिमा लोकतान्त्रिक मान्यता समाविष्ट छन् । लोकतान्त्रिक समाजवादको अवधारणा राख्ने बीपी नेपाली समाजमा अझै धेरै वर्ष प्रेरक व्यक्तित्व बनिरहने पक्का छ ।

नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाको केहीपछि बीपीले ‘हाम्रो ध्येय’ र ‘हाम्रो साधन’ शीर्षक दुइटा लेख ‘युगवाणी’ मा लेख्नुभएको थियो । तिनमा उहाँले बालिग मताधिकार र उत्तरदायी सरकार भए पुग्छ भन्ने धारणा राख्नुभएको थियो ।

२००७ सालको क्रान्तिको तयारीका क्रममै बीपी कांग्रेसमा सर्वाधिक प्रभावशाली नेताका रूपमा प्रतिष्ठित भइसक्नुभएको थियो । उहाँ तत्कालीन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिका ज्ञाता हुनुहुन्थ्यो । लेख्ने र बोल्ने कला दुवै थियो । कुनै पनि मोर्चामा अग्रसर हुन सधैं तयार हुनुहुन्थ्यो ।

बीपीमा राजनीतिक दर्शन र धर्मको चेत थियो । वामपन्थीहरूको समाजवादी दर्शन र गान्धीको शान्ति–सादगी प्रेरित अन्तर्घुलनबाट उम्रिएको बहुआयामिक प्रजातान्त्रिक समाजवादी दार्शनिक हुनुहुन्थ्यो बीपी । बीपीकै समयमा नेपालमा मार्क्सवादी वैचारिकीले प्रवेश पायो । उहाँ स्वयं आफूलाई मार्क्सवादबाट प्रभावित मानिनुहुन्थ्यो ।

मार्क्ससँगको उहाँको असहमति साम्यवादी शासकीय ढाँचासँग मात्रजस्तो देखिन्छ ।

मानवीय संवेदनशीलताप्रति निकै घोत्लिने बीपी आफ्नो समयभन्दा निकै अगाडिको चिन्तनका व्याख्याकार हुनुहुन्थ्यो । त्यो समय पनि यौनप्रति उदार दृष्टि राख्नुहुन्थ्यो । सिग्मन्ड फ्रायडको यौन मनोविज्ञानबाट प्रेरित हुनुहुन्थ्यो । बीपीले कथाहरूमा त्यसको प्रयोग गर्नुभयो । नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने श्रेय उहाँलाई नै जान्छ । साहित्यमा अराजकतावाद र राजनीतिमा समाजवाद उहाँका पहिचान हुन् । स्वच्छन्दता नै साहित्यको विशिष्टता भएको बताउने उहाँले आफ्नो एउटा अभिनन्दन समारोहमा ‘साहित्यमा सम्राट् पनि नांगो हुन्छ’ भन्नुभएको थियो, जसलाई पनि महत्त्वका साथ लिने गरिएको छ ।

बीपीले प्रजातन्त्र र राष्ट्रियतालाई मूल मन्त्र मान्नुभएको थियो । उहाँले ‘जेल जर्नल’ पुस्तकमा भन्नुभएको छ, ‘जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छोड्छ, यो पार्टी निरर्थक भएर जान्छ । देशमा प्रजातन्त्रको पुनःस्थापना गरिनुपर्दछ । त्यसो नभएमा शल्यक्रियाद्वारा बच्चा पैदा गराएजस्तै अन्य उपायद्वारा पनि प्रजातन्त्रको स्थापनाका लागि जनताले सोच्नुपर्छ ।’

देश हाँक्ने समय मिलेन

देशमा केही हुँदैन भनेर अहिले आम नेपालीमा चरम निराशा छ । युवालाई देशको उच्च जनशक्ति तथा मानव स्रोत मानिन्छ । युवाबिनाको आर्थिक विकास र देशका स्रोतसाधन परिचालनको कल्पनासम्म गर्न सकिँदैन ।

अभिभावक आफ्ना छोराछोरीको भरोसामा बाँचेजस्तै देशलाई युवाको भरोसा चाहिन्छ । देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा हुन् भन्नेमा द्विविधा छैन । तर यही युवा वर्ग अस्वाभाविक रूपमा अहिले विदेश पलायन भइरहेको छ ।

दस वर्षयता रोजगारीका लागि विदेश जानेहरूको लर्को त्रिभुवन विमानस्थलमा थामिनसक्नु छ । नेपाल सरकारका सचिव, अधिकृत, प्राध्यापक, शिक्षकहरूसमेत सेवाबाट राजीनामा दिएर बिदेसिइरहेका छन् । अन्तर्राष्ट्रिय खेलमा भाग लिन गएका खेलाडी र विदेश भ्रमणमा गएका जनप्रतिनिधिसमेत उतै हराउनुले मुलुकको अत्यासलाग्दो अवस्थालाई झल्काउँछ । यस्तो दुर्दशाको मुख्य कारण सरकार र राजनीतिकर्मीप्रति अविश्वास र भरोसा नहुनु हो । नागरिकमा आशा भर्न र विदेश पलायनको समस्या समाधान गर्न राजनीतिकर्मीहरू प्रतिबद्ध हुन जरुरी छ । असल शासनको अभ्यास गर्न, जनतामा उत्पन्न वितृष्णा र निराशाको अन्त्य गर्न नसक्ने हो मुलुक वृद्धाश्रम हुने खतरा छ ।

हामीले युवामा देशप्रेमको भाव जगाउनैपर्ने भएको छ । बीपीले उपचारका क्रममा न्युयोर्कमा रहँदा २० जुन १९७७ मा न्युयोर्क टाइम्ससँगको कुराकानीमा भन्नुभएको छ, ‘नेपाल मेरो घर हो र म नेपालबाट टाढा रहन सक्दिनँ ।’ उहाँको भनाइले धेरै आप्रवासी नेपालीलाई प्रेरणा र त्यस्तै आत्मविश्वास दिन्छ होला भन्ने मलाई आशा छ ।

बीपीले लामो समयसम्म देश चलाउने अवसर पाउनुभएन । कार्यकाल डेढ वर्षको मात्रै भए पनि उपलब्धिहरू हेर्दा बीपीले देश निर्माणको राम्रो जग बसाल्न पहल गर्नुभएको स्पष्ट देख्न सकिन्छ । प्रजातन्त्रको स्थापनापछि जति पनि सरकार निर्माण भए, तीमध्ये बीपीको सरकार नै नमुनाका रूपमा स्थापित भएको छ ।

बीपीले पूरा कार्यकाल काम गर्न पाउनुभएको भए देशले विकासको अर्कै दिशा समात्ने थियो भनी सजिलै अनुमान गर्न सकिन्छ । २०१७ सालमा राजाले ‘कू’ नगरेका भए नेपाली युवालाई सायद आजको जस्तो विदेश पलायन हुनुपर्ने बाध्यता आइलाग्ने थिएन ।

कूटनीतिमा कुशल

बीपीमा राजनीतिक विचार नमिल्नेसँग पनि मित्रता गाँस्ने अदम्य क्षमता थियो । नेपालको पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपीले १९६० मार्च ११ देखि २४ सम्म चीनको भ्रमण गर्नुभएको थियो । उहाँले चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिनुभयो । लगत्तै १९६० को अप्रिल २६ देखि २९ सम्म चाउले दोस्रो पटक नेपालको भ्रमण गरे । उनले त्यस बेला नेपाली संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । बीपीले सरकारको नेतृत्व गर्दाको समयमा कुशल परराष्ट्र नीति अवलम्बन गरेको देखिन्छ । समस्या र आलोचनामा लुकेको चुनौतीपूर्ण अवसरलाई उहाँले बुझ्ने गर्नुभएको थियो ।

बीपीलाई धेरैले नबुझेर भारतपरस्तको संज्ञा दिन्छन् । तर उहाँले भारतको बढ्दो राजनीतिक हस्तक्षेपविरुद्ध धावा बोल्नुभएको थियो । बीपीको समयमा देश संयुक्त राष्ट्र संघको सदस्य बन्न सफल भयो । भारतीय मुद्राको सट्टा नेपाली रुपैयाँको चलनको सुरुआत, धान–चामल निर्यात कम्पनीको स्थापना, नेपालको मन्त्रिपरिषद्बाट भारतीय प्रतिनिधि र राजदरबारमा नियुक्त भारतीय कर्मचारीलाई हटाउने काम भयो ।

बीपीले चीन र भारतसँगको सम्बन्धमा तटस्थता निर्वाह गर्नुभएको थियो, गाउँ फर्क अभियान चलाउनुभएको थियो । सोही समय करिब ५१ देशसँग कूटनीतिक सम्बन्ध पनि स्थापित भएको थियो । भारतले नचाहँदा–नचाहँदै पनि कोदारी राजमार्ग बनाउनु, नेपाल राष्ट्र बैंक स्थापना गर्नु, सर्वोच्च अदालतको स्थापना गर्नु, उत्तरी नाकाबाट भारतीय सैनिक पोस्ट हटाउनु काम पनि बीपीकै पहल थिए ।

बीपी चीनसँग पनि निर्भय ढंगले उभिनुभएको थियो । चिनियाँ सैनिकको गोलीले सीमामा एक जना सुबेदारको मृत्यु भएपछि बीपीले कडा ढंगले आवाज उठाउनुभयो । नेपाल सरकारले पत्राचार गर्‍यो, चीनका तत्कालीन प्रधानमन्त्रीले लिखित रूपमा क्षमा मागे । चीनले मृतकका परिवारलाई ५० हजार रुपैयाँ हर्जानास्वरूप पठायो । यसले पनि बीपीको अन्तर्राष्ट्रिय उचाइ निकै माथि रहेको प्रमाणित गर्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारीले दिइन् अन्तर्राष्ट्रिय श्रमिक दिवसमा शुभकामना
२०८१ वैशाख १९, बुधबार
पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो-भिडियो’, मच्चियो हंगामा
२०८१ वैशाख १९, बुधबार
आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै
२०८१ वैशाख १९, बुधबार
अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
२०८१ वैशाख १९, बुधबार
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल
२०८१ वैशाख १९, बुधबार
दर्शनटुप्पो बन्यो विकृतिको अखडा
२०८१ वैशाख १९, बुधबार
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखले दिए शुभकामना
२०८१ वैशाख १९, बुधबार