असार २२, २०८२ आइतबार July 6, 2025

तस्करीको सुन केजीकै १३ लाख सस्तोमा

संगठित गिरोहले तस्करीबाट भित्र्याएको सुन प्रतिकेजी ८३ लाख रुपैयाँसम्ममा बिक्री, चिनियाँ तस्करले क्रिप्टोकरेन्सीबाट भुक्तानी लिने गरेको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संगठित गिरोहले तस्करीबाट भित्र्याएको सुन प्रतिकेजी ८३ लाख रुपैयाँसम्म लिएर बेच्ने गरेको पाइएको छ । तस्करीबाट ल्याएको सुन आपराधिक सञ्जालको पहुँचमा रहेका व्यापारीले बजार मूल्यभन्दा सरदर १३ लाख कममा किन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

तस्करले स्थल र हवाईमार्गबाट ल्याएको सुन बिक्रीबाट प्रतिकेजी ६३ हजार अमेरिकी डलर बराबर रकम पाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट पत्ता लागेको हो ।

सीआईबीले विदेशबाट स्थल र हवाईमार्ग हुँदै भइरहेको सुन तस्करीको अनुसन्धान गरिरहेको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरी छाडिएको सामानभित्र लुकाइएको अवस्थामा सिनामंगल सडकबाट बरामद करिब ६१ केजी र त्यसअघि २०७९ पुस १० मा विद्युतीय चुरोटको आवरणमा भित्र्याएर गायब पारिएको ९ केजी सुन प्रकरणको सीआईबीले अनुसन्धान जारी राखेको छ ।

६१ केजी सुन प्रकरणमा पहिलो चरणको अनुसन्धान टुंग्याएर सीआईबीले करिब साढे ३ अर्ब बिगो कायम गरी ४४ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेको छ । सरकारी वकिल कार्यालयमा बुझाइएको अनुसन्धान प्रतिवेदनमा चिनियाँ तस्करले अवैध सुनको भुक्तानी ६३ हजार अमेरिकी डलर बराबर हुने क्रिप्टोकरेन्सी ‘यूएसडीटी’ लगायतबाट लिने गरेको उल्लेख छ । तस्करीको सुन व्यापारीसम्म पुर्‍याउन माओवादीका केही शीर्ष नेतासँग निकट रहेका दावा छिरिङ र दावाजिन वाङको समूहले तस्करका सहयोगी सुमन खरेलमार्फत काम गर्ने गरेको पुष्टि भएको छ ।

सन् २०२२ को सेप्टेम्बरदेखि गत जुलाईसम्मको ११ महिनामा मात्रै तस्करले करिब ३ सय ६३ केजी सुन विमानस्थलबाट भित्र्याएको सीआईबीको अनुसन्धानले पुष्टि गरिसकेको छ । त्यसमध्येको करिब ६१ केजी मात्रै बरामद भएको हो । त्यसकै अनुसन्धान गर्ने क्रममा तस्करीको सुन व्यापारीसम्म जाँदा प्रतिकेजीको कति रकम भुक्तानी हुन्छ भन्ने तथ्य खुलेको हो ।

६१ केजी प्रकरणमा सीआईबीले पक्राउ परेमध्येका एलेक्स भनिने याओ फुचेन मुख्य कारोबारीमध्येकै एक रहेको उल्लेख गरेको छ । उनले पनि आफू नेपालमा सुन तस्करी गर्नकै लागि आएको बयान दिएका छन् । बयानमै उनले हङकङलगायत मुलुकबाट भित्रिने तस्करीको सुन व्यापारीसम्म पुग्दा आफूहरूले ६३ हजार डलर बराबरको रकम बुझ्ने गरेको उल्लेख गरेका छन् । भुक्तानी रकम कहिले आफूले र कहिले अरूले बुझ्ने गरेको उनको बयानमा छ । यसरी भित्रिएको सुन रूपन्देहीका सुमन खरेलमार्फत व्यापारीसम्म पुग्ने गरेको पनि भेटिएको छ ।

पछिल्लो एक वर्षमा भित्रिएको सुन खरेलले चिनियाँ तस्करबाट बुझेर बाराका सुन व्यापारी शिव सर्राफको समूहलाई दिएको पनि भेटिएको छ । डिल भएको मूल्यअनुसारको सुन आएपछि सर्राफको समूहले नेपाल र भारतका बजारमा पुर्‍याउने गरेको र त्यसबापतको रकम क्यूआर कोडसहितको बार स्क्यानरमा उल्लेख गरिएको खातामा पठाउने गरेको पाइएको हो ।

एलेक्सको बयानअनुसार सरदर ६३ हजार डलर बराबरमा प्रतिकेजीको कारोबार हुन्थ्यो । ‘मैले प्रतिकेजी ६३ हजार यूएसडीटीमा सुमन खरेललाई सुन बेच्न भनी दिने गरेको थिएँ, मूल्य कहिलेकाहीँ तलमाथि हुने गरेको थियो,’ उनले भनेका छन् । अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकारीका अनुसार एलेक्सको बयान र खुलेका तथ्य र प्रमाण मिल्दोजुल्दो रहेको र तस्करले अवैध रूपमा भित्र्याएको सुन बेच्दा चलनचल्तीको बजार मूल्यभन्दा १२ देखि १४ लाख रुपैयाँसम्म सस्तो पर्न आउँछ । सस्तोमा सुन किन्ने व्यापारीले हुन्डी, तस्करी, भन्सार छलीलगायतबाट धन यसमा लगानी गरेको देखिएको ती अधिकारीको भनाइ छ ।

बिहीबारको दररेटअनुसार नेपालमा प्रतितोला सुन (शुद्ध) १ लाख ११ हजार ८ सय रुपैयाँ छ । एक केजीमा ८६ तोला हुन्छ, यो भाउअनुसार १ केजीको बजार मूल्य ९६ लाख १४ हजार ८ सय हुन आउँछ । तस्करीको सुन बिक्रीको मूल्यलाई आधार मान्ने हो भने १ केजीमै १३ लाखभन्दा बढी रकम कमिसन आउँछ ।

‘तस्करीको सुनमा लगानी गर्ने भनेको कमिसनकै लागि हो । १ केजीमै यति धेरै कमिसन आउने भएपछि आपराधिक सञ्जालसँग सम्बन्ध बढाएर व्यापारीले कालोधन सुनमा लगानी गर्ने गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकारी भन्छन्, अहिलेको अनुसन्धानमा भारत र नेपालका सुन व्यापारी यसमा जोडिएका छन्, एक जना पक्राउ परे पनि ठूलो लगानी गर्ने समूह फरार छ ।’ तस्करीको सुन खरिद गर्नेमध्येका बाराका शिव सर्राफ पक्राउ परिसकेका छन् । अर्का व्यक्ति भोला सर्राफ फरार छन् । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार