असोज १४, २०८० आइतबार October 1, 2023

आज पशुपतिनाथ मन्दिरको चारवटै स्थानबाट दर्शन गर्न सकिने

शुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरेको छ ।

कोषले कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको छ ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिकोमध्ये क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको हो ।

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भाग राखिनेछ ।

चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । मूल मन्दिर परिसरको तस्बिर, भिडियो खिचेमा मोबाइल सिज गरिनेछ । पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवं भिडियो खिचेमा मोबाइल सिज गरी नगद जरिवानासमेत गरिने भएको छ ।

पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर एवं भिडियो खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । कोषले गत वर्षदेखि नै गर्भगृहको तस्बिर खिचेमा दुई हजार १००, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार १०० र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५०० जरिवाना गर्न सुरु गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया