असार १०, २०८१ सोमबार June 24, 2024

एक महिनामै भित्रियो एक खर्ब १६ अर्ब रेमिट्यान्स

साउनमा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिनु र ३३ महिनापछि चालू खाता पनि बचतमा जानुले अर्थतन्त्रको बाह्य क्षेत्र बलियो हुँदै गएको संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चालू आर्थिक वर्षको पहिलो महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र उत्साहप्रद देखिएको छ । साउनमा एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ, जुन मासिक गणनामा हालसम्मकै उच्च हो । करिब ३३ महिनापछि देशको चालू खाता पनि बचतमा देखिएको छ ।

यसअघि गत चैतमा एक खर्ब नौ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, असारमा एक खर्ब आठ अर्ब आएको थियो । अघिल्लो आर्थिक वर्ष ०७९/८० मा मासिक औसत एक खर्ब एक अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको थियो । त्यसअघि आव ०७८/७९ मा मासिक औसत ८३ अर्ब ९४ करोड भित्रिएको थियो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले रेमिट्यान्स आप्रवाह ऐतिहासिक उच्च हुनु र लामो समयपछि चालू खाता बचतमा जानुले अर्थतन्त्रको बाह्य क्षेत्र थप बलियो भएको देखाएको बताए । ‘कोभिडका कारण दुई वर्षअघि रेमिट्यान्स वृद्धिदर ऋणात्मक थियो, अघिल्लो वर्षदेखि क्रमशः बढ्न थालेको हो,’ उनले भने, ‘तथ्यांकले साउनमा भएको रेमिट्यान्स आप्रवाह ऐतिहासिक देखिन्छ, यो अर्थतन्त्रका लागि सुखद संकेत हो ।’

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्चदरमा बढेका कारण रेमिट्यान्स आप्रवाहमा समेत उल्लेखनीय वृद्धि भएको डा. भट्टको विश्लेषण छ । ‘पछिल्ला दुई आर्थिक वर्षमा मात्रै १४ लाख नेपाली कामका लागि तेस्रो मुलुक गएका छन्, भारतमा जानेको संख्या पनि उच्च छ,’ उनले भने, ‘बिदेसिनेको संख्या बढ्दै जाँदा रेमिट्यान्स बढेको हो, जुन अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।’ नेपालीको मुख्य श्रम गन्तव्य रहेका मुलुकहरू अरब, मध्यपूर्व, भारत र अमेरिकाको अर्थतन्त्र सबल हुनुले पनि रेमिट्यान्स वृद्धिमा सहयोग पुगेको उनले बताए ।

दुई वर्ष नौ महिनापछि नेपालको चालू खाता पनि बचतमा देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को मंसिरयता देशको चालू खाता निरन्तर घाटामा देखिएको थियो । ३३ महिनापछि यो साउनमा चालू खाता १२ अर्ब ९८ करोडले बचत देखिएको हो ।

कार्यकारी निर्देशक भट्टले चालू खाता बचतमा हुनुले अर्थतन्त्रको बाह्य क्षेत्र थप बलियो भएको देखिने बताए । तर, हाम्रोजस्तो देशमा चालू खाता बचतमा जानुले लगानी घटेको संकेतसमेत गर्न सक्ने उनको भनाइ छ । ‘चालू खाता बचतमा हुँदा बाह्य क्षेत्र मजबुत छ है भन्ने त देखियो । तर, सँगसँगै आर्थिक गतिवधि बढ्न सकेको छैन, लगानी बढ्न सकेको छैन भन्ने पनि देखिन्छ,’ उनले भने, ‘चालू खाता बचत अथवा कति घाटा कति बचत र कति लगानी भयो भन्नेमा सम्बन्धित हुन्छ,’ उनले भने, ‘बचत र लगानीको ग्याप बढ्दा अथवा लगानीभन्दा बचत बढी हुँदा हाम्रो अर्थतन्त्रलाई लाभ नहोला, यसमा ध्यान दिनुपर्छ ।’

साउनमा उपभोक्ता मूल्य वृद्धिदर ७.५२ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ६.४२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।  साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसलाको मूल्य सूचकांक ४५.५६, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२०, दुग्ध पदार्थ तथा अन्डाको १२.१९, रेस्टुरेन्ट तथा होटेलको ११.०५ र तरकारीको १०.८० प्रतिशतले बढेको छ । घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक भने १५.१३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको मूल्य सूचकांक १५.५५, शिक्षाको ९.१०, घरायसी उपयोगका वस्तुहरूको ६.९३ र फर्निसिङ तथा घरायसी उपकरणहरूको ६.७९ प्रतिशतले बढेको छ । यातायात उपसमूहको मूल्य सूचकांक भने ०.८१ प्रतिशतले घटेको छ ।

साउनमा सबैभन्दा बढी मूल्यवृद्धि हिमाली क्षेत्रमा देखिएको छ । हिमाली क्षेत्रको मूल्यवृद्धिदर ११.४६ प्रतिशत रहेको छ । त्यस्तै, काठमाडौं उपत्यकामा ८.५०, तराईमा ६.७० र पहाडमा ७.५० प्रतिशत मूल्यवृद्धिदर रहेको राष्ट्र बैंकले जनाएको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
२०८१ असार ११, मंगलबार
मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
२०८१ असार १०, सोमबार
संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
२०८१ असार १०, सोमबार
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूची हेर्नुहोस्)
२०८१ असार १०, सोमबार
छानविन समितिले सहकारी पीडितलाई न्याय दिन सक्दैन : चित्र बहादुर केसी
२०८१ असार १०, सोमबार
काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक: गगन थापा
२०८१ असार १०, सोमबार
धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
२०८१ असार १०, सोमबार