असार २१, २०८२ शनिबार July 5, 2025

कर्मचारी खटनपटनमा संघ र स्थानीय तहबीच द्वन्द्व : एक महिनामा आठ पालिकाले फिर्ता गरे प्रमुख प्रशासकीय अधिकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ भदौमा शाखा अधिकृत राजीव रिमाललाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटायो । हालै लोकसेवा परीक्षा पास गरेर नियुक्त भएका रिमालको पहिलो पदस्थापन कालीगण्डकीमा भएको थियो । तर, मन्त्रालयको पत्र लिएर गाउँपालिका कार्यालयमा पुगेका रिमालले हाजिर नै लगाउन पाएनन् । गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले उनलाई हाजिर गर्न रोकेका हुन् ।

कालीगण्डकीले रिमाललाई कामकाजमा खटाउन असमर्थ भएको भन्दै हाजिर नै नगराई फिर्ता गरिदिएको पत्र २५ भदौमा मन्त्रालयलाई पठायो । प्रशासकीय अधिकृतको पद रिक्त नभएको अवस्थामा जानकारी र सरसल्लाह नै नगरी कामकाजका लागि कर्मचारी खटाइएको भन्दै त्यसप्रति गम्भीर आपत्ति रहेको पालिकाको पत्रमा उल्लेख छ । रिमाललाई खटाउनुअघि त्यहाँ देवेन्द्र पाण्डेय प्रमुख प्रशासकीय अधिकृत थिए । संघले पाण्डेयलाई १० महिनामै सरुवा गरेर रिमाललाई प्रमुख प्रशासकीय अधिकृत बनाएको थियो । संघ र पालिकाबीचको विवादले कालीगण्डकीमा हाल नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन, । अहिले पालिका निमित्त प्रशासकीय अधिकृतले चलाइरहेका छन् ।

इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले कार्यालयभित्रै अनैतिक यौन गतिविधि गरेपछि उनलाई मन्त्रालय तानियो । त्यहाँ ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा कार्यरत स्काई पोखरेललाई ४ भदौमा पठाइयो । तर, आफूलाई हाजिर गर्न नदिइएको आरोप उनले लगाए । २४ भदौमा पालिकामा हाँजिर गर्न जाँदा पालिका अध्यक्षले नदिएको उनको आरोप छ । ‘मन्त्रालयले सरुवा गरेपछि हाँजिर गर्न जाँदा पालिका अध्यक्षले हाँजिर गर्न दिनुभएन,’ उनले भने, ‘हाँजिर नगराउनुपर्ने आधार र कारण पनि मलाई दिइएन । अहिले मन्त्रालयबाट स्विकृत गरेर बिदामा छु ।’

तर, माईजोगमाईका अध्यक्ष कुशबहादुर थेबे भने पोखरेलले साबिकको पालिकामा लेखापरीक्षण गराउनुपर्ने काम बाँकी रहेको भनेकाले सबै टुंग्याएर आउन भनेको बताउँछन् । ‘म कार्यालयमा भएका वेला उहाँ आउनुभएको थिएन । हाजिर गर्नुपूर्व कुराकानी गरेर समन्वयमा अघि बढौँ भनेको हुँ । पोखरेल फर्केर आउनुभएको छैन,’ थेबेले भने । पोखरेल अहिले गाउँपालिकाको सम्पर्कमा नरहेको उनी बताउँछन् । यो गाउँपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ । निमित्तले चलाइरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार एक महिनामै बैतडीको डिलासैनी, हुम्लाको सिमकोट, कपिलवस्तुको मायादेवी, धनुषाको जनकनन्दिनी, दैलेखको ठाँटीकाँध र सिराहाको बरियारपट्टी गाउँपालिकाले पनि प्रशासकीय अधिकृत फिर्ता पठाएका छन् । यीमध्ये अधिकांशले नयाँ प्रशासकीय अधिकृत पाइसकेका छन् । सिमकोट गाउँपालिकामा सुवास आले, मायादेवी गाउँपालिकामा सुरेश भण्डारी, जनकनन्दिनी  गाउँपालिकामा अयोधी दास र बरियारपट्टी गाउँपालिकामा रणजितकुमार यादव नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुगेका छन् । डिलासैनीमा गणेशसिंह बोहोरा र ठाँटीकाँधमा नेमबहादुर खत्री निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।

सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट भर्खर नियुक्ति पाएका ८० शाखा अधिकृतलाई ४ भदौमा प्रशासकीय अधिकृत बनाएर पदस्थापन गरेको थियो ।

पूर्वसामान्य प्रशासन सचिव पूर्णचन्द्र भट्टराई एउटा तह (संघ) ले कानुनबमोजिम पठाएको कर्मचारीलाई अर्को तह (पालिका)ले हाजिर नगराउने र फिर्ता गर्ने कुरा सामान्यतया कल्पना पनि गर्न नसकिने बताउँछन् । स्थानीय तहमा कर्मचारी खटाउँदा संघीय मन्त्रालयले प्रभावकारी समन्वय गर्न नसकेको र केही हदमा स्थानीय तहको पनि कमजोरी रहेको उनी बताउँछन् । ‘कानुनमा लेखे पनि नलेखे पनि संघीय मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर काम गर्नुपर्छ । मन्त्रालय यसमा चुकेकोजस्तो लाग्छ,’ उनले भने, ‘संघले पठाएका कर्मचारीभन्दा निमित्तसँग काममा रुचि देखाउने समस्या स्थानीय तहमा छ ।’ संघीय निजामती सेवा ऐन नआउँदा पनि यस्ता समस्या निम्तिएको उनको भनाइ छ ।

भट्टराईले भनेझैँ  संविधान जारी भएको आठ वर्षसम्म पनि संघ सरकारले निजामती सेवा ऐन जारी गर्न नसक्दा कर्मचारी खटनपटनमा समस्या भइरहेको छ । विशेषगरी प्रमुख प्रशासकीय अधिकृतका सवालमा संघ र स्थानीय तहबीच चरम विवाद छ । मापदण्डविना मन्त्रालय  मनलाग्दी सरुवामा छ भने स्थानीय तहका जनप्रतिनिधिले स्वार्थअनुकूल कर्मचारी खोज्दा पालिका प्रशासकीय अधिकृतविहीन हुने र निमित्तको भरमा चल्ने परम्परा नै बनेको छ ।जसको असर सेवा प्रवाहमा देखिएको छ। नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार