मंसिर २५, २०८० सोमबार December 11, 2023

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा, यस्तो छ भ्रमण कार्यक्रम

प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यतालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ। अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन्।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ। चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा उनी चीन गएका हुन्।

प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। त्यसपछि बेइजिङ जाने कार्यक्रम छ।

बेइजिङमा रहँदा प्रधानमन्त्रीले आजै चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र असोज ८ गते चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गर्ने छन्। यसका साथै उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीको चीन भ्रमण : दुईपटक ‘गार्ड अफ अनर’देखि कैलाश पर्वतको यात्रासम्म (सम्पूर्ण तालिका) प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ।

प्रधानमन्त्री अर्को शनिबार स्वदेश फर्कनेछन् । यो बीचमा उनले केके गर्नेछन् ? यस्तो छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण कार्यक्रम तालिकाः

असोज ०६ गते

– हङकङ हुँदै बिहान १०.१० मा हान्जाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ।

– नेपाली राजदूत र चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीको स्वागत ।

– विमानस्थलमै प्रधानमन्त्रीलाई गार्ड अफ अनर । त्यसपछि टोली होटल प्रस्थान ।

– ११.५० मा राष्ट्रपति सी चिनफिङले दिएको स्वागत समारोहमा सहभागी।

– ४.४० मा उच्चस्तरीय द्वीपक्षीय बैठक सुरु।

– संयुक्त बैठकपछि ५ बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग औपचारिक भेटवार्ता । भेटवार्ताका लागि आधा घण्टाको समय निर्धारण ।

– केहीबेर आराम गरेर बेलुका ७.२० मा प्रधानमन्त्री प्रचण्ड १९ औं एसियाली खेलको उद्घाटन समारोहमा सहभागी हुन प्रस्थान ।

– स्टेडियमबाट राति १० बजे हुजिसान रिसोर्ट प्रस्थान ।

असोज ०७ गते

– प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ ।

– ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट स्टेट गेष्ट हाउसमा प्रस्थान ।

– अपराह्न ४ बजेदेखि ५ बजेसम्म नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले त्यहाँ सम्बोधन गर्नेछन् ।

– पौने ६ बजे नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।

असोज ०८ गते

– ९ बजे ग्रेटहल प्रस्थान । ग्रेटहलमा ९.४५ देखि आधा घण्टा चिनियाँ जनकांग्रेसका अध्यक्ष झाउ लेजीसँग भेटवार्ता ।

– १०.४५ मा प्रधानमन्त्री त्यानआनमेन स्क्वायरमा हुने स्वागत समारोहमा सहभागी हुनेछन् । त्यहाँ उनलाई गार्ड अफ अनर दिइनेछ ।

– १०.५५ मा चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता हुनेछ । भेटवार्तालगत्तै दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही सहमति सम्झौतामा हस्ताक्षर हुनेछ ।

– १२ बजे प्रधानमन्त्रीले दिएको स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

– १ बजे हुवाइ बेइजिङ ग्रुपमा नेपाली टोली पुग्नेछ ।

– प्रधानमन्त्रीले साढे ५ बजे चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई अन्तरवार्ता दिनेछन् ।

– ६ बजे दा दोङ बेइजिङ डक रेस्टुरेन्टमा पुगेर उनले बेलुकाको खाना खानेछन् ।

असोज ०९ गते

प्रधानमन्त्री प्रचण्डले बिहान ७ बजे माओको शव राखिएको स्थानमा पुगेर दर्शन गर्नेछन् ।

८ बजे बेइजिङबाट चोनकिङ प्रस्थान गर्नेछन् । त्यहाँ एकेडेमी अफ एग्रिकल्चर साइन्सको अवलोकन गर्नेछन् ।

६ बजे चोनकिङका प्रमुख चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य यान लिजुनसँग भेटवार्ता गर्नेछन् । सात बजे यानले दिएको रात्रिभोजमा सहभागी हुनेछन् ।

असोज १० गते

प्रधानमन्त्रीसहितको टोली ८ बजे तिब्बतको ल्हासाका लागि प्रस्थान गर्नेछ ।

१ बजे ल्हासामा नेपाली वाणिज्य दूतावासको स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन ।

प्रधानमन्त्रीले दिउँसो पोताला दरबारको अवलोकन गर्नेछन् ।

बेलुका ६ बजे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङ जुनझेङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ ।

बेलुका उनले दिएको रात्रिभोजमा प्रधानमन्त्रीसहितको टोली सहभागी हुनेछ ।

बिहीबार असोज ११ गते

बिहान ७.३० मा ल्हासाबाट नाग्री घुन्सा विमानस्थलका लागि प्रस्थान । दिउँसो १२ देखि २ बजेसम्म माउन्ट कैलाशको बेसक्याम भ्रमण । कैलाश पर्वतको अवलोकन ।

प्रधानमन्त्री दिउँसो २ बजेपछि मानसरोवर तालको अवलोकनमा जानेछन् ।

असोज १२ गते

९.४५ मा अली घुन्सा विमानस्थलबाट प्रधानमन्त्री ल्हासाका लागि प्रस्थान गर्नेछन् ।

१२.४५ ल्हासाबाट उनी फेरि छेंङदुका लागि प्रस्थान गर्नेछन् । ३ बजे प्रधानमन्त्री छेङदु पुग्नेछन् ।

४ बजे प्रधानमन्त्रीले पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रको अवलोकन गर्नेछन् ।

६ बजे सिचुवान प्रान्तका कम्युनिष्ट पार्टी प्रमुख वाङ सीओहुइसँग उनको भेटवार्ता हुनेछ ।

७ बजे वाङले दिएको रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

शनिबार असोज १३ गते

प्रधानमन्त्री बिहान ९.५५ मा छेङ्दु विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री बिहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया