काठमाडौंः सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय लगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो ।
सरकारले राष्ट्रपतिको कार्यालयलाई पठाएको आममाफीको पत्रसहित सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको छ । मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ । ३ असोजमा संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले योगराज ढकालको कैद मिनाहा गरेका थिए ।
रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयपछि उनले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएको छ । चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । सो रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले निवेदक भारती र उनको परिवारको सुरक्षाको प्रत्याभूति गराउन पनि आदेश दिएको छ ।
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयबाट पीडित बनेको परिवारलाई सुरक्षा दिन पनि आदेश दिएको छ । निवेदक तथा निजका परिवारका सदस्यहरूलाई यथोचित सुरक्षा प्रदान गर्ने गराउने आवश्यक व्यवस्था गर्न नेपाल सरकार, गृह मन्त्रालयलाई लेखी पठाउनू,सर्वोच्चले भनेको छ ।
रिगल घटना भएकाले बेला नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया