कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नागार्गुन नगरपालिकाले उपलब्ध गराएको जग्गामा ‘मानवसेवा आश्रम’ बन्ने

१२ करोडको लागतमा काठमाडौँमा बन्ने भवनका लागि नागार्गुन नगरपालिकाले जग्गा र काठमाडौँ महानगरपालिकाले बजेट उपलब्ध गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाललाई मानवीयताको देश बनाउने लक्ष्यमा समर्पित ‘मानवसेवा आश्रम’का ठाउँ ठाउँमा भवन निर्माण भइरहेका छन् । आश्रमका अभियन्ताका भनाइमा ती भवन ‘मानवताका मन्दिर’ हुन् ।

गण्डकी प्रदेशस्थित आश्रमका कास्की, बागलुङ, लमजुङ र गोरखा शाखा अब छिट्टै आफ्नै भवनबाट सञ्चालन हुने कास्कीस्थित मानवसेवा आश्रमका संयोजक सदिस पुनले बताउनुभयो । आश्रमको पोखरा महानगरपालिका-२५ हेम्जामा निर्माणाधीन भवन रु १० करोडको लागतमा बन्न लागेको हो ।

“भूइँतला र तेस्रो तला फिनिसिङ हुने चरणमा छ”, संयोजक पुनले भन्नुभयो, “बीचको तलाका लागि पोखरा महानगरले ७१ लाख सहयोग गर्ने कबोल गरेकाले बजेटको पखाईमा छौँ, अरु दाताबाट पनि सहयोग आइरहेको छ ।” पाँच लाख ११ हजार एक सय ११ सहयोग गर्ने दाताको नाममा कोठाको नामकरण गरिने भएपछि २० भन्दाबढी त्यस्ता सहयोगी जुटेको उहाँले बताउनुभयो ।

आश्रम निर्माणका लागि गत वर्ष माघमा आयोजना गरिएको महायज्ञबाट तीन करोड बढी आर्थिक संकलन भएको संयोजक पुनले बताउनुभयो । वि.सं.२०७५ चैतदेखि निर्माण थालिएको उक्त आश्रम भवन दुई सय जनालाई आवसीय सुविधा दिने गरी बन्न लागेको हो । आश्रमको कास्कीमा दुई वटा सेवा केन्द्र छन् । हेम्जामा एक सय ११ जना र छोरेपाटनमा ६५ जना असहायले आश्रय लिइरहेको संयोजक पुनले बताउनुभयो ।

छोरेपाटन सेवाकेन्द्रमा महिला मात्र आश्रित रहेको उहाँले उल्लेख गर्नुभयो । “सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार र जीवन रक्षामा आश्रम क्रियाशील छ”, संयोजक पुनले भन्नुभयो, “आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर, सडकआश्रित मानवको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ ।” सुविधायुक्त भवन बनेपछि आश्रमको सेवामा सहजता थपिने उहाँले बताउनुभयो ।

आश्रम निर्माणमा प्रदेश सरकार, पोखरा महानगरलगायत सरकारी निकाय, सङ्घ संस्था र सर्वसाधारण दातालगायतको हातेमालो रहेको संयोजक पुनले उल्लेख गर्नुभयो । आश्रमको बागलुङ शाखा भवन पनि निर्माणकै चरणमा छ । बागलुङ नगरपालिका-४ निरयघाटमा बन्न लागेको आश्रमको ४० प्रतिशत निर्माण सकिएको निर्माण समितिका अध्यक्ष शिव खड्काले बताउनुभयो । “स्रोत जुटाउन सकियो भने विसं २०८२ भित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “१२ करोड ७५ लाखको लागत योजनासहित आश्रम निर्माणको काम भइरहेको छ ।”

अध्यक्ष खड्काका अनुसार आश्रमका लागि चालु आवमा गण्डकी प्रदेश सरकारबाट २५ लाख, बागलुङ नगरपालिकाबाट चार लाख, बरेङ गाउँपालिकाबाट छ लाख, गलकोट नगरपालिकाबाट पाँच लाख र म्याग्दीको बेनी नगरपालिकाबाट चार लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकाले गत आवमा ५० लाख बजेट दिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

गत आवको तुलनामा चालु आवमा कम बजेट रहेकाले भवन निर्माणमा केही ढिलाइ हुने देखिएको उहाँले बताउनुभयो । “जतिसक्दो भवन निर्माण सकेर नयाँ ठाउँबाट सेवा दिन हामी आतुर छौँ”, आश्रमका अभिभावकसमेत रहनुभएका खड्काले भन्नुभयो, “अहिले अस्थायी संरचनाबाट आश्रम चलिरहेको छ, साँघुरो ठाउँबाट सेवा सञ्चालन गर्नुपर्दा व्यवस्थापनमा जटिलता छ ।” परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेकाको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरुको पहलमा विसं २०७२ मा बागलुङमा आश्रम खोलिएको थियो ।

आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिसकिएको र कैयनको परिवारसँग पुर्नमिलन भएको सो आश्रमका संयोजक विपना तामाङले बताउनुभयो । मानवीय सेवाको पवित्र उद्देश्य राखेर आश्रम बनाउन लागिएकाले विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ ।

बागलुङ नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिएपछि दुई वर्षअघि आश्रमको भवन निर्माण सुरु भएको थियो । तीन तले उक्त भवन पनि दुई सय क्षमताको रहने संयोजक तामाङले बताउनुभयो । उक्त भवनमा योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष रहने जनाइएको छ ।

गोरखा र लमजुङ शाखाको भवन निर्माण पनि तीव्र गतिमा भइरहेको मानवसेवा आश्रमका केन्द्रीय सदस्य सुमिरा लामाले बताउनुभयो । “अहिलेको आर्थिक मन्दिले केही असर पुग्ने देखिएको छ, तै पनि वि.सं.२०८२ भित्रमा आश्रमका सबै शाखा र सेवाकेन्द्रको आफ्नै भवन बनाउने लक्ष्यसहित हामी काममा खटिएका छौँ”, केन्द्रीय सदस्य लामाले भन्नुभयो । उहाँका अनुसार लमजुङ शाखा भवनको १५ करोड र गोरखाको शाखा भवनको तीन करोड लागत योजना रहेको छ ।

गण्डकी प्रदेशसहित देशभर गरी ११ जिल्लामा आश्रमका भवन निर्माणको चरणमा रहेको केन्द्रीय सदस्य लामाले उल्लेख गर्नुभयो । आश्रमको केन्द्रीय कार्यालय हेटौँडासहित शाखा कार्यालय रुपन्देही र चितवनको भने भवन बनेर पनि सेवा सञ्चालनमा आइसकेको जनाइएको छ । मोरङ, झापा, सर्लाही, पर्सा, धनगढी, काठमाडौँ र ललितपुरमा पनि भवन निर्माणको प्रक्रिया अगाडि बढेको केन्द्रीय सदस्य लामाले बताउनुभयो ।

१२ करोडको लागतमा काठमाडौँमा बन्ने भवनका लागि नागार्गुन नगरपालिकाले जग्गा र काठमाडौँ महानगरपालिकाले बजेट उपलब्ध गराएको उहाँको भनाइ छ । मानवसेवा आश्रमले अहिलेसम्म १९ जिल्लामा सेवा विस्तार गरिसकेको छ । हाल देशभरका आश्रमका शाखा र सेवाकेन्द्रमा गरी एक हजार छ सयभन्दा बढीले आश्रय लिइरहेको केन्द्रीय सदस्य लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म दुई हजार आठ सय बढीको पारिवारिक पुर्नमिलन भएको छ भने दुई हजार दुई सयभन्दा बढी उपचारपछि स्वेच्छाले आश्रमबाट बाहिरिएका छन् । आश्रममै रहेका बेला आठ सय २६ जनाले मृत्युवरण गरेको जनाइएको छ । यस्तै छ सय ३१ जनाको सामुदायिक पुनः स्थापना भएको छ ।

मानवसेवा आश्रम ‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा जुटेको केन्द्रीय सदस्य लामाले बताउनुभयो । “सारा व्यक्तिगत इच्छा त्यागेर सयौँ अभियन्ता र साधकसाधिका मानवसेवामा समर्मित हुनुभएको छ”, उहाँले भन्नुभयो, “सबैको साथ र हौँसलाले लक्ष्य प्राप्तिमा हामीलाई ऊर्जा र प्रेरणा मिलेको छ ।” मानवसेवा आश्रमले तत्कालीन योजनामा आश्रमका भवन निर्माण, सडकआश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र स्थापना र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणलाई अघि सारेको छ ।

मध्यकालीन योजनामा वि.सं.२०८७ भित्र मानवसेवा आश्रमलाई मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रुपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र (अस्पताल) स्थापनालाई समेटिएको केन्द्रीय सदस्य लामाले बताउनुभयो । “हाम्रो दीर्घकालीन योजना र लक्ष्य नेपाललाई मानवीयताको राष्ट्र बनाउनु हो”, उहाँले भन्नुभयो । राससको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार