श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आध्यात्मिक पुस्तकको माग बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, काठमाडौँ । बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका समयमा घरमै बस्न बाध्य मानिसमा आध्यात्मिक पुस्तक खोजीखोजी पढ्ने बानीको विकास भएपछि केन्द्र खोल्न अनुरोध भएको थियो । पाठकको मागका कारण एक हप्ताअघिदेखि दैनिक बिहान ९ बजेदेखि दिउँसो एक बजेसम्म चार घण्टा सुरक्षित तवरले खोलिएको केन्द्रका संस्थापक एवं सञ्चालक जयकिसन सारडाले बताए ।

नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्रका रूपमा २०७३ जेठमा पशुपतिमा गीता प्रेस खुलेको हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पको त्रास बढेका बेला नेपाली पाठकमा आध्यात्मिक पुस्तक पढ्ने बानीमा वृद्धि भएपछि केन्द्र खोलिएको उनले बताए । विपत्ति एवं महामारीका बेला मानिसमा आध्यात्मिक पुस्तकका साथै टेलिचलचित्र हेर्ने क्रमसमेत बढ्न थालेको छ ।

प्रेसले नेपाली लगायत १४ भाषामा मानव कल्याणका लागि आध्यात्मिक पुस्तक प्रकाशन गर्दै आएको छ । पशुपति वनकालीस्थित माधवराज सुमार्गी स्मृति भवनको पसल नं ६, ७ र ८ मा केन्द्र सञ्चालन भइरहेको छ ।

“केन्द्रमा ९७ हजार ३०० नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक छन्, प्रेसका ५० पुस्तक नेपालीमा अनुवाद भएका छन्, प्रेसले प्रकाशन गरेका सबै पुस्तक नेपालीमा अनुवाद गराई नेपालीको कल्याण गर्ने केन्द्रको उद्देश्य हुनेछ, प्रत्येक नेपालीको घरमा गीता पुस्तक पुर्याउने उद्देश्यले हामीले नेपालीमा अनुवाद गरी अभियान नै चलाएका छौँ”, सञ्चालक सारडाले भने ।

प्रेसले विसं २०६२ मा ‘रामचरितमानस’ र ‘मानव मात्रको कल्याणका लागि’ गरी दुई पुस्तक नेपालीमा अनुवाद गरेको थियो भने भूकम्पपछि पाठकको मागअनुसार आठ महिनामै अन्य आठ पुस्तक अनुवाद गरेको थियो । ‘श्रीरामचरितमानस सुन्दरकाण्ड’, ‘शरणागति’, ‘श्रीहनुमानचालिसा’, ‘आदित्यहृदयस्तोत्र’, ‘श्रीनारायणकवच’, ‘रामरक्षास्तोत्र’, ‘गजेन्द्रमोक्ष’, ‘अमोघ शिवकवच’, ‘श्रीमद्भगवत्गीता’ लगायत नेपालीमा अनुवाद गरिएका हुन् ।

नेपालीमा अनुवाद गरिएका पुस्तकमध्ये ‘शरणागति’ वाल्मीकि विद्यापीठका प्राध्यापक पदमप्रसाद भट्टराईले अनुवाद गरेका हुन् भने अन्य पुस्तक केदारनाथ दासलगायत लेखकले अनुवाद गरेका हुन् । बाँकी पुस्तक पशुपति क्षेत्रमै बसेर विभिन्न लेखक एवं अनुवादकले अनुवाद गरिरहेका छन् ।

गीताप्रेसको मुख्यालय गोरखपुरले नेपालको पहिलो बिक्री केन्द्र पशुपति क्षेत्रमै खोल्ने र अनुवाद पनि पशुपति क्षेत्रमै बसेर गर्नुपर्ने शर्त राखेको थियो । केन्द्र प्रमुख सारडा यो शर्त मानेरै केन्द्र स्थापना गरिएको बताउछन् । केन्द्रको स्थापनापछि नेपालमा भारतीय धार्मिक पर्यटकको भ्रमण पशुपति क्षेत्रमा अझ बढेको जनाइएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि मानव कल्याणका लागि केही गरौँ भन्ने भावना जागेकाले एक वर्ष प्रयास गरेर प्रेसको आधिकारिक बिक्री केन्द्र खोलिएको संस्थापक सारडा बताउछन् । केन्द्रले नाफा लिने उद्देश्य नलिएको र कर पनि नलाग्ने भएकाले प्रेसले तोकेकै मूल्यमा पुस्तक बिक्री गरिन्छ । प्रेसले पुस्तक निःशुल्क पनि नदिने र तोकिएको भन्दा बढी मूल्य पनि नलिने नीति लिँदै आएको छ ।

भूकम्पपछि जस्तै बन्दाबन्दीका समयमा पनि आध्यात्मिक पुस्तक किन्नेको सङ्ख्या बढ्न थालेको कमलपोखरीमा गीता प्रेसका पुस्तक बिक्री गर्दै आएका रोशन अधिकारी बताउछन् ।

“भूकम्पपछि दश जोड दुईमा अध्ययनरत किशोर–किशोरी पनि आध्यात्मिक पुस्तक किन्न आउन थालेका थिए, अहिले पनि रोगको त्रासका कारण पनि हुनसक्छ युवायुवतीसमेत गीता प्रेसका आध्यात्मिक पुस्तक खोज्दै आउने गरेका छन्”, उनले भने । केन्द्र खोलेपछि चार वर्षको समय आफ्नो जीवन सबैभन्दा खुसी बनेको प्रमुख सारडाको अनुभव छ ।

बन्दाबन्दीका कारण घरमै बस्न बाध्य हुनुपर्दा मानिसमा चिन्ता, थकान, दबाबलगायत नकारात्मक तत्वको वृद्धि हुन्छ । यस्तो बेलामा गीतालगायत आध्यात्मिक पुस्तक अध्ययन गर्दा भित्रैदेखि शान्ति मिल्ने गोठाटारदेखि हिँडेर आध्यात्मिक पुस्तक किनेर फर्किएका पाठक रामेश्वर पुडासैनी बताउछन् ।

विसं १९८० मा भारतको गोरखपुरमा श्रीजयदयालजी गोयन्दकाले वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रचार गर्ने उद्देश्यले प्रेसको स्थापना गरेका हुन् । प्रेसले हालसम्म रु ६० करोड ४६ लाख आध्यात्मिक पुस्तक १४ भाषामा प्रकाशन गरेको जनाइएको छ ।

हाल नेपाल लगायत भारतमा समेत प्रेसका २३ बिक्री केन्द्र छन् । गीता प्रेसका सबै बिक्री केन्द्रले प्रकाशनको लगानी मात्र लिने गरी पुस्तक बेच्ने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया