भाद्र २९, २०८३ सोमबार September 14, 2026

न्यायको प्रतीक्षामा रामआशिष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनुषाको हंसपुर नगरपालिका-४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक हुन् । उनी दश वर्षअघि माध्यमिक विद्यालय शिक्षकबाट अवकाश भएका हुन् । दासले अवकाश हुँदा प्राप्त रकमबाट जनकपुरधाम-१६ पुल्चोकमा किराना पसल सञ्चालन गरी त्यसैबाट जीविकोपार्जन गर्दै आएका छन् ।

विसं २०८० वैशाख २४ गतेसम्म दासको व्यवसाय र समय ठिकठाक चलिरहेको थियो । तर गत वैशाख २५ गते भने उनले अप्रत्यासित घटना सामना गर्नुपर्‍यो । राति ९ बजेको समयमा उनी फिल्मी शैलीमा कुटपिट र लुटपाटमा परे । सो रात दाससँग भएको रु. एक लाख ५१ हजार नगद लुटपाट भयो । साथै उनलाई १५-२० वटा कागजको पानामा औँठा छाप लगाइयो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर उद्धार गर्‍यो ।

“राति ९ बजेको थियो, म पसल बन्द गरेर घर जाँदै थिए, नकाबधारी समूहले फिल्मी शैलीमा सडकमै कुटपिट गरी नगद लुटपाट गरे”, दासले भने, “नकाबधारीले पेस्तोल, फलामे रड र लट्ठी बोकेका थिए । मैले राम विलास दास र इन्द्र दासलाई मात्र ठम्याउन सके । उनीहरूले रोडभन्दा दुई सय मिटर जति उत्तरतर्फ खेतमा लगेर लुटपाट र कुटपिट गरे । कागजमा मेरो औँठा छाप लगाएर भागे । यो सबै घटना प्रहरीलाई थाहा छ ।”

घटना भएको छ महिना पूरा हुँदैछ । अहिलेसम्म दासको जाहेरी दर्ता भएको छैन । लुटपाटको भोलिपल्ट अर्थात् गत वैशाख २६ गते कपिलेश्वर प्रहरी चौकी र वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनाबारे जाहेरी दर्ता गराउन पुगे पनि पहिले घटनाबारे बुझ्छौँ अनि दर्ता गरौँला भनेर त्यहाँबाट फर्काइएको दासले बताए ।

मङ्गलबार पत्रकार सम्मेलन गरी दासले गुनासो गरे, “मेरो जाहेरीको विषयमा प्रहरीसित पटक-पटक जानकारी लिन खोजेँ । तर बुझ्दै छौँ भनेर आलटाल गर्ने गरेका छन् । गत साउन २१ गते जनकपुरधामस्थित जिल्ला सरकारी वकिल कार्यालयलाई निवेदन दिएको छु । सो कार्यालयको चलानी नं ३२१ पत्रसहित हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी पठाएको थिएँ । तर कुनै सुनुवाइ भएको छैन ।”

करिब २० वटा कागजमा औँठा छाप लगाइएकामा एउटा कागज भने मिटरब्याजी शैलीमा रकम लिएको भनेर सार्वजनिक भएपछि आफू जालसाझीको सिकार भएको र त्यो विषय जानकारी गराउँदा पनि प्रहरीले सहयोग नगरेको दासको गुनासो छ । सार्वजनिक भएको सो कागजमा घटना घटेको छ वर्ष पुरानो मिति राखेर अर्थात् विसं २०७४ माघ १४ गते दासले महोत्तरीको लोहरपट्टी–५ का ४२ वर्षीय अशोककुमार ठाकुरबाट सयकडा १० प्रतिशत ब्याजमा रु बीस लाख ऋण लिएको उल्लेख छ ।

“बीसवटा कागजमा औँठा छाप गरिएकामा एउटा मात्र सार्वजनिक भएको छ । त्यसपछि म निकै विक्षिप्त छु, बाँकी कागज सार्वजनिक हुन बाँकी नै छन्”, दासले भने, “साहु भनिएका ठाकुरले ऋण असुलउपर गरिपाउ भनी कानुनी उपचारमा गएको जानकारी पाएको छु । अब भोलिपर्सी अरु कागज पनि आउलान् । म प्रधानाध्यापकबाट अवकाश पाएको व्यक्ति, यति ठूलो रकम कहिल्यै कसैसँग ऋण लिएको छैन । वृद्धावस्थामा दुःख पाए । कारण बुझ्न प्रहरीलाई गुहारेको थिएँ । तर न्याय पाइनँ । अब हदम्यादभित्रै अदालत जान्छु ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क ‘मृत्युशैयामा’
२०८३ भाद्र २९, सोमबार
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
२०८३ भाद्र २९, सोमबार
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर (सूची हेर्नुहोस्)
२०८३ भाद्र २९, सोमबार
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
२०८३ भाद्र २९, सोमबार
कांग्रेसको आन्तरिक द्वन्द्व स्थानीय तहसम्मै
२०८३ भाद्र २९, सोमबार
सम्पत्ति शुद्धीकरणका प्रमुख जोखिम पहिचान, हुन्डी र क्रिप्टोकरेन्सीले बढायो चुनौती
२०८३ भाद्र २९, सोमबार
कति सम्भव छ हेटौँडा-काठमाडौँ ‘रोपवे’ को पुनर्जीवन
२०८३ भाद्र २९, सोमबार