जेठ ५, २०८१ शनिबार May 18, 2024

कानुनमा एउटा मिति तोक्ने, फैसलाचाहिँ वर्षाैंसम्म नआउने स्थिति विडम्बनापूर्ण : पूर्वन्यायाधिस, बलराम केसी (अन्तवार्ता)

फैसलाको लेखन गुणस्तरीय बनाउन जनशक्ति पनि दक्ष चाहिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्वाेच्च अदालतबाट फैसलाको पूर्ण पाठ किन समयमै आउँदैनन् ? 

पहिलो त मुद्दाको चाप धेरै र जनशक्ति एकदमै कम छ । न्यायाधीशका लागि पर्याप्त बेन्च सहायक छैनन् । न्यायाधीशले क्लज सुन्नुपर्‍यो, लेख्नुपर्‍यो, त्यसका लागि समय त लाग्छ नै । अमेरिकामा एकजना न्यायाधीशका लागि कम्तीमा चारजना सहायक हुन्छन् । फैसला लेख्न इजलास अफिसरको संख्या बढाउनुपर्ने हुन्छ । साथै, फैसलाको लेखन गुणस्तरीय बनाउन जनशक्ति पनि दक्ष चाहिन्छ ।

समयमा नै पूर्णपाठ तयार गर्न के गर्नुपर्छ ? 

पहिलो जनशक्ति थप्ने । अर्काे कुरा भारत, अमेरिकामा फैसलामा केसको हिस्ट्र धेरै राखिँदैन । डाइरेक्ट विवादको विषयको कुरा लेखिन्छ । हाम्रो फैसला लेखन शैलीमा आमूल परिवर्तनको खाँचो छ । हाम्रा फैसलाको ५० प्रतिशत त केस हिस्ट्री हुन्छ । मुद्दाका पक्ष–विपक्षको जवाफ, साक्षीको व्यहोरा सबै उतारेको हुन्छ । यसलाई हटाउने हो भने पनि कार्यबोध धेरै कम हुन्छ । भारतको ‘अल इन्डिया रिपोर्ट’ हेर्नुस्, त्यसमा न्यायाधीशले वादी, प्रतिवादीले पेस गरेको प्रत्येक साक्षीलाई खण्डन गरिएको हुन्छ । यो कारणले यो प्रमाण लाग्दैन, यो कारणले यो प्रमाण लाग्छ भनिएको हुन्छ । हाम्रोमा त्यस्तो छैन, थुप्रै कुरा सुधार गर्नुपर्नेछ ।

अर्काे फैसला तयार गर्नुपर्ने समयसीमालाई सम्भव हुने बनाउनुपर्‍यो । कानुनमा एउटा मिति तोक्ने, फैसलाचाहिँ वर्षाैंसम्म नआउने स्थिति विडम्बनापूर्ण हो । जस्तो कि विश्वनाथ उपाध्यायको पालामा ‘दोस्रो संसद् विघटन’को फैसलाको पूर्ण पाठ कहिल्यै आएन । नियम, ऐन, कानुनमा तोकिएको कुरा त सर्वाेच्च आफैँले पनि उल्लंघन गर्न पाइँदैन । यसमा सबै अदालतको लापरबाही देखिएको छ ।

फैसला नलेखी न्यायाधीश रिटायर्ड भए के हुन्छ ? 

यस्तो त हुन्छ । सर्वाेच्चमा ६५ वर्षमा न्यायाधीश निवृत्त हुन्छन् । निवृत्त हुने एक महिनाअघिसम्म पनि सुनुवाइ गरिरहेकै हुन्छन् । यस्तोमा चलन के छ भने फैसला तयार भएपछि न्यायाधीशको घरमा गएर अघिल्लो मितिको हस्ताक्षर गराइन्छ । कमजोरी के भने यसले सर्वाेच्च अदालतका न्यायाधीश आफैँले फैसला लेख्दैनन् भन्ने उजागर गरिरहेको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया