काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेस गरेका आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतले पारित भएको हो ।
यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै व्यवसाय सुचारु गर्ने वातावरण तयार गरिने बताएका थिए ।
संसदमा सबै दल मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै उनले यसका लागि पनि सबै दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताएका छन ।
कडा लकडाउनका कारण वैशाख र जेठ महिनामा केही अप्ठ्यारो भए पनि अब व्यावसायिक वातावरण खुला भएकाले आन्तरिक व्यापार र भन्सार आयातको अवस्था पुरानै अवस्थामा फर्किने उनको भनाइ छ ।
अर्थमन्त्री खतिवडाले बैंकहरूलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन ।
अहिलेको परिस्थितिमा अस्वाभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरू टाट पल्टिने र बैंकहरू पनि अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो ।
उनले जेठ महिनाको राजस्वको संकलन दरले दैनिक खर्च उठाउने अवस्था नरहेको जानकारी सदनलाई दिएका छन ।
मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्ब मात्रै संकलन हुने गरेको उनले बताएका छन ।
अर्थमन्त्री खतिवडाले राजस्वको स्थिति अप्ठ्यारो भएकाले त्यो राजस्वले दैनिक खर्च धान्न सक्ने स्थिति नभएको बताएका हुन् ।
उनले भने, ‘यसलाई स्वीकार गर्नुपर्छ । अहिले हामीले जति दैनिक राजस्व उठाउँछौँ त्यो राजस्वले हाम्रो दैनिक खर्च धान्न सक्ने स्थिति छैन । मैले जेठ महिनाको मोटामोटी आकलन गर्दै गर्दा मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुन्छ । मासिक रूपमा भन्सारबाट औसत रूपमा १५ अर्ब, केही अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट उठ्छ । जसले गर्दाखेर अनिवार्य दायित्वलाई पूरा गर्नलाई हामीले थप प्रयास गर्नुपर्ने भएको छ ।’
सांसदहरूले आर्थिक विधेयकले उद्योगी र व्यापारीले अर्बौं छुट पाउने र गरिब मजदुर किसानहरू महँगीको मारमा पर्ने भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया