वैशाख २०, २०८१ बिहिबार May 2, 2024

नेपाल-चीनबिच प्रसारण लाइन निर्माणका लागि सम्झौताको तयारी

आगामी बैठकले सोही डिपिआरको आवश्यक संशोधन गरी निर्माणमा प्रवेश गर्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत ४ गते ।नेपाल र चीनबिच पहिलोपटक विद्युत् आदानप्रदानका लागि २२० केभी प्रसारण लाइन निर्माणलाई मूर्त रूप दिन तयारी तीव्र पारिएको छ । जेलङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन निर्माण सुरु गर्न अध्ययन कार्यहरू अन्तिम चरणमा पु¥याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

गत असोजमा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा सो प्रसारण लाइन चीन सरकारकै अनुदानमा निर्माण गर्ने सहमति भएको थियो । सो सहमतिलाई कार्यान्वयन गर्न सम्बन्धित संयुक्त कार्यदलको बैठक मार्चको अन्तिम सातामा चीनमा बस्दै छ ।

नेपाल विद्युत् प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनका अधिकारी सम्मलित सो कार्यदलले आयोजनाको डिपिआर र लागत तथा निर्माण थालनीलगायतका विषयमा छलफल गर्ने छन् । प्राधिकरण प्रसारण तथा वितरण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्र्घायुकुमार श्रेष्ठको संयोजकत्वमा संयुक्त कार्यदल रहेको छ ।

चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीमार्फत प्राप्त हुने अनुदानले नेपालतर्फ १६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन बन्ने प्राधिकरणले जनाएको छ ।

नेपालको विद्युत् आयातनिर्यात भारतसँग मात्रै निर्भर रहेको सन्दर्भमा चीनसँग पनि विद्युत् क्षेत्रमा साझेदारी कायम गर्न सरकारले यो परियोजनालाई पनि प्राथमिकतामा राख्दै आएको छ ।

रातामाटे–केरुङ–रसुवागढी प्रसारण लाइन निर्माण गर्न चार सय केभि क्षमताका लागि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङले विस्तृत आयोजना प्रतिवेदन पनि तयार गरेको छ । चिलिमे हब सबस्टेसनसहित प्रसारण लाइन निर्माण भइसकेकाले १६ किलोमिटरको यो खण्ड संरचना २२० केभीमै निर्माण गर्न प्राविधिक तथा वित्तीय रूपले प्रभावकारी हुने देखिएपछि मन्त्रीपरिषद्ले पछि क्षमता विस्तार गर्न मिल्न गरी २२० मै बनाउन अनुमति दिइसकेको छ ।

आगामी बैठकले सोही डिपिआरको आवश्यक संशोधन गरी निर्माणमा प्रवेश गर्ने अपेक्षा प्राधिकरणका अधिकारीले गरेका छन् ।

तिब्बतको जेलङमा ५००/२०० केभी सबस्टेसन छ । सोही सबस्टेसनमार्फत नेपाल–चीन विद्युत् आदानप्रदान गर्ने गरी यो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । चीनले नेपाल–चीन सीमा क्षेत्रमा २२० केभी प्रसारण लाइनमार्फत नै विद्युत् प्रवाह गरिरहेकाले पनि सोही क्षमताको प्रसारण लाइन बनाउने निर्णय लिन प्राधिकरणलाई आग्रह गरेको थियो ।

कोरोना महामारीपूर्व नै यसबारे दुई पक्षीय छलफल सुरु भएको थियो तर महामारीले छलफल नै अवरुद्ध हुँदै आएकोमा प्रधानमन्त्री दाहालको चीन भ्रमणपश्चात् यो विषयले थप गति पाएको हो । नेपालतर्फ १६ किलोमिटर मात्र प्रसारण लाइन निर्माण गर्नुपर्ने भए पनि चीन खण्डमा करिब ८० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्ने छ ।

आगामी बैठकमा चीन खण्ड निर्माणको तयारीका विषयमा पनि चिनियाँ पक्षसँग छलफल हुने रातामाटे रसुवागढी केरुङ प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिनुभयो । नेपाल ५३ वटा मात्र टावर खडा गरे पुग्छ ।

तिब्बतमा हिउँदमा विद्युत् खपत उच्च हुन्छ । त्यहाँको वार्षिक विद्युत् खपत समग्र नेपालको भन्दा धेरै रहेको देखिन्छ । नेपाल र चीनबिच ऊर्जा साझेदारीका लागि दुई पक्षीय विभिन्न समझदारी भए पनि विद्युत् व्यापार सम्झौता भने भएको छैन ।आजको गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार