असार २७, २०८२ शुक्रबार July 11, 2025

गण्डकी प्रदेशमा १६ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५ सय ४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः गण्डकी प्रदेशमा आइतबार बिहानै १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो १६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५ सय ४ पुगेको छ।  प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको  विज्ञप्तिमा बाग्लुङमा नौ, म्याग्दीमा चार, तनहुँमा एक र पर्वतमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । शनिबार साँझ हिमालपारिको जिल्ला मुस्ताङमा समेत सङ्क्रमण देखिएको थियो । पछिल्लो अद्यावधिक विवरणअनुसार सङ्क्रमित बागलुङको गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ वर्षका पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ तथा बागलुङ नगरपालिकाका २१ वर्षका पुरुष छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाका ३० र नौ वर्षीया महिला तथा ३३ वर्षीय पुरुष, मङ्गला गाउँपालिकाका २० वर्षीय पुरुष छन् । तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय पुरुष र पवर्तको कुश्मा नगरपालिका २७ र ३२ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

सङ्क्रमितहरु सबै जनालाई अहिले जिल्लास्थित आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए। हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा ११२, पर्वतमा ४५, गोरखामा ४१, तनहुँमा ७१, कास्कीमा १५, म्याग्दीमा आठ तथा लमजुङ, मुस्ताङ र मनाङमा एक-एक जना सङ्क्रमित छन् । हालसम्म ४९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया