वैशाख १५, २०८१ शनिबार April 27, 2024

जाजरकोट भूकम्पमा भत्किएका ७ सय विद्यालय भवन निर्माणका लागि बजेट व्यवस्थापन

विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो ।

सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबिच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो । भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिम र बझाङमा गरी ७ सय बढी विद्यालय भवन भग्नावशेषमा परिणत भएका थिए ।

छलफल लगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनः निर्माणमा खर्च गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण तीन जिल्लामा पूर्ण र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका थिए ।

यस्तै दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष २०८१/०८१ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट बिनियोजन नगर्ने सहमति भएको छ । सरोकारवालाहरूबाटै उक्त कार्यक्रम प्रभावकारी नभएको गुनासो पटक पटक आउने गरेको थियो ।

यद्यपि आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया