वैशाख २०, २०८१ बिहिबार May 2, 2024

चन्द्रागिरिका सबै सामुदायिक विद्यालयमा ‘बाल विकास कक्ष’

नगरक्षेत्रका सामुदायिक विद्यालयमा ‘बाल विकास कक्षलाई सबलीकरण’ गर्ने सम्भवतः चन्द्रागिरि पहिलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयको ‘बाल विकास कक्षलाई सबलीकरण’ गरेको छ । अब नयाँ शैक्षिक सत्र (वैशाखदेखि)   सामुदायिक विद्यालयमा भर्ना हुने बालबालिकाले आफू अनुकूल खेल्दै, रमाउँदै, सिक्दै र पढ्दै गर्ने स्तरीय वातावरण पाउनेछन् ।

विद्यालयको तहको पहिलो यस्ता कक्षमा बालबालिकाको सिकाइका लागि आवश्यक सामग्री (खेलकुद, पाठ्यपुस्तक, स्मार्ट डिजिटल बोर्ड आदि) रहनेछन् । नगरका १५ वडाभित्र रहेका २४ वटा सामुदायिक विद्यालयमध्ये यही महिनाभित्र २३ विद्यालयमा ‘बाल विकास कक्षलाई सबलीकरण’ भइसक्नेछन् । नगरक्षेत्रका सामुदायिक विद्यालयमा ‘बाल विकास कक्षलाई सबलीकरण’ गर्ने सम्भवतः चन्द्रागिरि पहिलो भएको बताइएको छ ।

नगरपालिकाले विसं २०७२ वैशाखको भूकम्पले क्षति पु¥याएका एवं पुराना  संरचनाको विद्यालय भवनलाई  भत्काई नयाँ भवन बनाइसकेको छ । शैक्षिक सुधार अभियान जारी राखेको नगरपालिकाले विद्यालयमा इन्टरनेटसहित कक्षाकोठामा स्मार्ट बोर्ड जडान एवं आवश्यकता र औचित्यताका आधारमा विद्यालय बस सहयोग गर्ने नीति लिएको छ ।

यसै क्रममा चन्द्रागिरि–२ बाडभञ्ज्याङस्थित श्री भीम माध्यमिक विद्यालयको बाल विकास कक्ष सबलीकरण गरिएको छ । नगरपालिकाको रु दुई लाख ६५ हजार आर्थिक सहयोगमा सो विद्यालयमा बाल विकास कक्ष सबलीकरण भएको हो । विसं २०२४ मा स्थापना भएको सो विद्यालयमा हाल सात सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयद्वारा  आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बाल विकास कक्ष सबलीकरण २०८० को उद्घाटन गर्नुहुँदै सबै सामुदायिक विद्यालयका बाल विकास कक्ष नयाँ शैक्षिक सत्र सुरु हुनु अगाडि नै सबलीकरण भइसक्ने जानकारी दिनुहुँदै यस्ता कक्षमा समान पाठ्यपुस्तक, खेल सामग्री, स्मार्ट बोर्ड रहने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा सबै सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणमा ध्यान दिऔँ ।

अबका दिनमा  सामुदायिक विद्यालयको शैक्षिक सुधारमा नगरपालिकाको ध्यान गएको छ ।  कक्षाकोठामा क्रमशः स्मार्ट बोर्ड राखिने, आवश्यकता र औचित्यताका आधारमा विद्यालय बस सहयोग गरिने छ ।” चन्द्रागिरिको शैक्षिक उन्नयनमा करिब ३६ वर्ष व्यतीत गर्नुभएका प्रमुख गिरीले मौलिक जीवन उपयोगी, सीपमूलक, प्रविधियुक्त शिक्षाका लागि बलम्बुमा बहु प्राविधिक शिक्षालय सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा उपप्रमुख वसन्ती श्रेष्ठले राज्यको लगानीअनुसार सामुदायिक विद्यालयले नतिजा किन  दिन सकिरहेका छैनन् भन्ने प्रश्नको जवाफ सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक सबै दिनुपर्छ भन्नुहुँदै विद्यालयमा नैतिक शिक्षा र विद्यालयका गतिविधिका बारेमा समय समयमा अभिभावक ल्याएर घुमाउन सुझाव दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागि सोच, स्रोत  र ऊर्जा आवश्यकता पर्नेमा जोड दिँदै यी तीन कुराको समन्वय गर्न र सामुदायिक विद्यालय निजीभन्दा अब्बल छन् भन्ने कुरा देखाउन आफ्नोतर्फबाट सहयोग गर्ने बताउनुभयो ।  नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा निर्देशक सुजनराज खनालले नयाँ शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बाल विकास कक्षलाई सबलीकरण’ भइसक्ने जानकारी दिनुहुँदै यस्ता विद्यालयको  शैक्षिक उन्नतिका लागि नगरपालिकाले आफ्नो स्रोत, साधनले भ्याएसम्म सहयोग गर्ने जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद काप्रीले विद्यालयले विद्यार्थी फेल नगर्ने र विद्यार्थीले पनि कक्षा दोहो¥याउन नपर्ने स्थिति रहेको, विद्यालयमा खेल्दै पढ्दै, पढ्दै कमाउँदै वातावरण रहेको, आफ्नो स्रोतबाट विद्यालय बसको व्यवस्था गरिएको र वार्षिक ‘क्यालेन्डर’अनुसार विद्यालय सञ्चालन भइराखेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका विद्यालय निरीक्षक बुद्धिप्रसाद भट्ट, चन्द्रागिरि–२ का कार्यवाहक वडाध्यक्ष जयबहादुर तामाङ, वडा सदस्य बलराम सुवेदी, कार्यपालिका सदस्य चन्द्रकुमारी बस्नेत, सानु कान्छा परियारलगायत अभिभावक एवं विद्यार्थीको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया