वैशाख २०, २०८१ बिहिबार May 2, 2024

मोरङमा थारू समुदायले यसरी मनाए ‘सिरुवा पर्व’ 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मोरङ, १ वैशाख : मोरङका थारू समुदायले नयाँ वर्ष ‘सिरुवा पर्व’ आज हर्षोल्लासपूर्वक मनाएका छन् । यहाँका थारू समुदायले सिरुवा पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाएका हुन् ।
थारू कल्याणकारी सभा मोरङद्वारा मोरङको बुढीगङ्गा–७ धराहरा टोलमा आज ‘सिरुवा मनावम, संस्कृति जोगावम’ नाराका साथ ‘लया बछर’ (नयाँ वर्ष) को उपलक्ष्यमा ‘जुडी सितौल’ (शुभकामना) आदानप्रदान एवं सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा सहभागीले आधुनिक समयमा युवायुवतीलाई आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने चेतना जागृत गर्न पाएको खुसी व्यक्त गरेका छन् । उहाँहरूले विगत लामो समयपछि थारू संस्कृतिसम्बन्धी यो पर्व सार्वजनिक रूपमा मनाउनुका साथै समाजमा जानकारी दिन पाएकामा खुसी व्यक्त गर्नुभएका छ ।
नयाँ वर्षको आगमन सँगै तराइमा सिरुवा पर्व सुरु
कार्यक्रममा कोशी प्रदेशसभाका पूर्वसदस्य चुमनारायण तवदार, बुढी गाउँपालिकाका उपाध्यक्ष अमृता गच्छदार, सोही पालिकाका पूर्वअध्यक्ष बालचन्द्र माझी, थारू कल्याणकारी सभाका अध्यक्ष प्रदीपकुमार विश्वास, उपाध्यक्ष जागेश्वर विश्वास, सभाका पूर्वसभापति रुद्रनारायष्ण चौधरी र वडाध्यक्ष पङ्कज चौधरीले थारू समुदायका पर्व, रीतिरिवाज, खानपिन, भाषा, पोशाकको संरक्षण गरेमा मुलुक संस्कृतिको क्षेत्रमा धनी बनाउन सकिने विचार राख्नुभएको थियो ।
यस पर्वमा परिवारका ज्येष्ठ सदस्यको खुट्टामा पानी राखी आशीर्वाद लिने तथा ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई टाउको (शिर)मा पानी छ्यापी वर्षभरि सुख, समृद्धि, स्वास्थ्य, दीर्घायु जीवनको आशीर्वाद दिने चलन रहेको छ । यस पर्वमा थारू समुदायको घरमा गुलगुल्ला, बरी, वगिया, चिछवरी र पुवालगायतका पकवान बनाई परिवारका सदस्य एवं पाहुनालाई खुवाउने चलन छ ।
सोही अवसरमा थारू कल्याणकारी सभाका पूर्वसभापति रुद्रनारायण चौधरी, नन्दु सरदार, खडगनारायण विश्वास, चन्द्रनारायण चौधरी, सुनिल विश्वास, चुमनारायण तवदार, देवराज चौधरी, प्रदीप भगतको फोटो सार्वजनिक गर्नुका साथै सम्मान गरिएको छ । सभाका अध्यक्ष विश्वासले जग्गादाता कुनुकलाल चौधरी, श्रीमती टकावती चौधरीलाई र ज्येष्ठ नागरिक ब्रह्मनारायण चौधरीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया