वैशाख २७, २०८१ बिहिबार May 9, 2024

राप्रपामा खैलाबैला : नेता कुट्नेलाई माफी कि कारबाही?

कुटपिटमा संलग्न भनिएका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेपछि नेताहरू विभाजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बराहीमा केन्द्रीय नेतामाथि भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ। कुटपिटमा संलग्न भनिएका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेपछि नेताहरू विभाजित बनेका छन्।

कालिकोटको पलाँता गाउँपालिका घर भई काठमाडौंको निलोपुल बस्दै आएका ३१ वर्षीय बम किटानी जाहेरी परेको ४५ दिनपछि बिहीबार पक्राउ परेका हुन्। प्रहरी वृत्त महाराजगन्जले उनलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ।

बम पक्राउ परेपछि राप्रपाको एउटा पक्ष उनलाई छुटाउन लागिपरेको छ भने अर्को पक्ष घटनाको सत्यतथ्य अनुसन्धान भई आवश्यक कारबाही हुनुपर्ने भन्दै दबाब बढाउन सक्रिय छ। यस घटनाका कारण पार्टीभित्रका गुटहरू सक्रिय भएर आमनेसामने भइरहेको स्रोतको दाबी छ।

बम पक्राउ परेलगत्तै बिहीबारै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठक लगायत नेताहरू उनलाई छुटाउन प्रहरी वृत्त महाराजगन्ज पुगेका थिए। उनीहरूले जाहेरी फिर्ताका लागि जाहेरीकर्ता कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठलाई दबाब बढाएका छन्।

घटनाले पार्टीलाई क्षति पुग्ने भन्दै मिलापत्र गराउने उनीहरूको प्रयास रहेको स्रोतको दाबी छ। श्रेष्ठ भने आफ्नो अडानबाट टसमस भएका छैनन्। ‘आफ्नो जीवनकालमा भ्रष्टाचार र तस्करहरूका विरुद्ध र देशहित तथा राष्ट्रवादका पक्षमा लडेको मान्छे हुँ,’ सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) समेत रहेका श्रेष्ठले भने, ‘अहिले ममाथि नै भएको यस्तो सांघातिक हमला कसरी सहन सक्छु?’

श्रेष्ठले आफूले कसैको दबाब र प्रभावमा परेर जाहेरी फिर्ता नलिने बताएका छन्। उनले भने, ‘रवीन्द्र (वरिष्ठ उपाध्यक्ष मिश्र) मेरा असल मित्र हुनुहुन्छ। तर उहाँले एउटा हिंस्रक व्यक्तिलाई बचाउन भूमिका खेलिरहनुभएको छ। उहाँले मलाई धेरैपटक फोन पनि गर्नुभएको छ, मैले उठाएको छैन।’

प्रहरीले ढिलो गरी अनुसन्धान थालेकोमा पनि श्रेष्ठले असन्तुष्टि व्यक्त गरे। ‘यत्रो डेढ महिना प्रहरी के हेरेर बसेको छ? मैले ज्यान मार्ने कसुरमा जाहेरी दिएको व्यक्ति संसद्मा घुमिरहेका छन्। मैले यो कुरा सनाखत गर्न जाँदा प्रहरीलाई भनेको छु,’ उनले भने। श्रेष्ठको पक्षमा पार्टीकै अर्का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेपाल प्रहरीका पूर्वआइजिपीसमेत रहेका नेता ध्रुवबहादुर प्रधानलगायत छन्।नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया