श्रावण १२, २०८१ शनिबार July 27, 2024

मधेस प्रदेशमा सरकार गठनको कसरत

जनमत पनि सरकार गठनका लागि उपयुक्त अवसरको पर्खाइमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर। मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले सरकार गठन चुनौतिपूर्ण बनेको छ।

जसपाले आफ्नो नेतृत्वमा रहेको सरकारको निरन्तरताका लागि विभिन्न दलसँग संवाद गरिरहेको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि सरकार जोगाउन जसपाले अन्य दलसँग संवाद तीब्र बनाएको छ। एमाले र माओवादी पनि आआफ्नो नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसँग साथ र समर्थन मागिरहेका छन्।

विगतदेखि नै संघीय सरकारभन्दा मधेश प्रदेश सरकारलाई प्राथमिकतामा राख्ने गरेको जसपाले संघीय सरकारबाट बाहिरिएलगत्तै अन्य दलसँग संवाद सुरू गरिसकेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता दीपक कार्कीले राज्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मधेशमा सरकार जोगाउन जोड गरिरहेका छन्। अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवासमा पुगेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् भने अन्य दलसँग पनि संवादका लागि पहल गरिरहेका छन्।

सरकारलाई समर्थन गरिरहेको नेकपा (एकीकृत समाजवादी) लाई साथमै राख्ने र सरकारबाहिर रहेका नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टीलगायतलाई सरकारमा ल्याउन जसपाले पहल गरिरहेको सो पार्टीका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए। ‘हामी सरकारको निरन्तरताका लागि सबै दलसँग संवाद र सहकार्य गर्न तयार छौँ। सबैसँग छलफल भइरहेकाले यही सरकारले निरन्तरता पाउँछ भन्नेमा हामी आशावादी पनि छौँ र यसका लागि संसदीय दलले संवाद बढाउने निर्णय गरिसकेको छ’, उनले भने।

एकीकृत समाजवादी मधेश प्रदेश संसदीय दलका नेता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने आफूसहितको सरकार जोगाउन पार्टीले पहल गर्ने बताउँछन्। उनले भने, ‘हामीले जसपा नेपाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थियौँ, अहिले पनि यही सरकारमा छौँ। यो सरकारलाई निरन्तरताका लागि पहल गर्नु हाम्रो पनि दायित्व हो त्यो पूरा गर्छौ।’

अहिले पुर्नगठन गरिएको सरकारमा मुख्यमन्त्रीसहित पाँच मन्त्री र एक जना राज्यमन्त्री छन्। त्यसमा नेकपा एकीकृत समाजवादीका दुई मन्त्री रहेका छन्। मधेस प्रदेशसभामा जसपाका १९ र नेकपा एकीकृत समाजवादीको सात सांसद छन्। जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ। जसपाले २२ मत रहेको नेपाली कांग्रेसको साथ खोजिरहेको छ तर कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ। कांग्रेस मधेस प्रदेशसभाका संसदीय दलका उपनेता विरेन्द्रकुमार सिंहले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन छलफल भइरहेको बताउँछन्। त्यसका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बाहेक सबै दलसँग छलफल भइरहेको उनको भनाइ छ।

यसअघि गत मंगलबार कांग्रेस मधेस प्रदेशका सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर मधेस प्रदेशमा सरकार बनाउनका लागि सहयोग गर्न आग्रह गरेका छन्।

लोसपाका उपाध्यक्ष एवम् मधेस प्रदेशसभा सदस्य जितेन्द्र सोनल जसपा नेपाललाई सहयोग गर्ने अवस्था नरहेको बताउँछन्। आफ्नो पार्टीले विपक्षमा रहेका कांग्रेसलगायत दलसँग संवाद गरिरहेकाले सोही सहमतिअनुसार अगाडि बढ्ने उनको भनाइ छ।

मधेस प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको नौ÷नौ, नेकपा एकीकृत समाजवादीको सात र नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन्।

माओवादी केन्द्र र एमालेले पनि सरकार बनाउन पहल सुरु गरेका छन्। यी दुई दलले पनि जसपा नेपालबाहेक अन्य सबै दलसँग कुराकानी गरिरहेका छन्। एमाले र माओवादीसँग जम्मा ३२ सिट छ। सरकार बनाउन यो पक्षलाई थप २२ सिटको आवश्यकता छ। एमालेसहितको पक्षले जनमत पार्टीले जसपा नेपाल इतर सरकार गठनका लागि सहयोग गर्ने अपेक्षा गरिरहेको छ। जनमत पनि सरकार गठनका लागि उपयुक्त अवसरको पर्खाइमा छ। सो पार्टी मधेश प्रदेशसभा संसदीय दलका नेता महेशप्रसाद यादवले सरकार गठनका लागि सबै पार्टीसँग संवाद जारिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताइरहेका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार