असार २३, २०८१ आइतबार July 7, 2024

कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर

विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर भएको छ ।

विहिबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८/०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको भन्ने उजुरी परेको थियो ।

त्यसमा अख्तियारले मेयर प्रकाश, उपमेयर देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो,मकसुद आलमविरूद्ध मुद्दा दायर भएको हो ।

बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्‍द्र साहविरूद्ध पनि मुद्दा दायर भएको हो ।

टाइल्स ओछ्याउने काम बौद्धिमा उपभोक्ता समितिमार्फत भएको थियो । फिल्डमा ७२०.८१ वर्ग मिटरमात्रै थियो। तर त्यहाँ काम गरेको भन्दा ४७३.६० वर्गमिटर बढी काम गरेको कार्यसम्पन्न प्रतिवेदन तयार पारेका थिए ।

अनुगमन समितिबाट पनि सोही परिमाणको काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएर भएको काम भन्दा बढी काम देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया