काठमाडौँः संविधान संशोधनको एजेन्डासहित बनेको नयाँ समीकरणअनुसार अब बन्ने सरकार सहज दुई तिहाइ समर्थनको हुने गरी कांग्रेस–एमालेले मधेशकेन्द्रित दललाई पनि सरकारमा सहभागी गराउने भएका छन् ।
बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा समीकरण बन्नुअघि आ–आफ्नो मोर्चामा आबद्ध रहेका मधेशकेन्द्रित दललाई सरकारमा सहभागी गराउने निर्णय कांग्रेस–एमालेले लिएका हुन् ।
कांग्रेस–एमालेबीच असार १७ मा भएको ७ बुँदे समझदारीको पक्षमा उभिएका अशोक राई नेतृत्वको जसपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउनेबारे बैठकमा छलफल भएको थियो । ती दललाई एक/एक मन्त्रालय दिने गरी सरकारमा ल्याउन कांग्रेस र एमालेले चाहेका हुन् ।
कांग्रेससँग ८८, एमालेसँग ७७ (सभामुख र एक निलम्बितबाहेक), जसपा ७, जनमत ६, जसपा नेपाल ५, नागरिक उन्मुक्ति ४ र लोसपासँग ४ सांसद रहेकाले १ सय ९१ सांसदको समर्थनसहित दुई तिहाइ बहुमतको सरकार बनाउन कांग्रेस–एमालेले चाहेका हुन् । नयाँ गठबन्धन संविधान संशोधनको एजेन्डासहित बनेकाले पनि सरकारलाई सहज दुई तिहाइ बहुमतको बनाउन लागिएको हो । संघीय संसद्का २ सय ७५ सदस्यमध्ये टोपबहादुर रायमाझी निलम्बित भएकाले १ सय ८४ संख्या जुट्दा दुई तिहाइ बहुमत पुग्छ ।
सरकारमा सहभागी नभए पनि समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले बुधबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने र समर्थन फिर्ता लिने निर्णय गरेको छ । उसले नयाँ गठबन्धनमा जाने गरेरै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । दुई दल विपरीत गठबन्धनमा रहँदा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा कांग्रेससँग थिए भने अशोक राई नेतृत्वको जसपा, जनमत र नागरिक उन्मुक्ति एमालेसँग निकट थिए ।
कांग्रेस र एमालेबीच सरकारको नेतृत्व गर्ने दलले १० र सहयोगी दलले ११ मन्त्रालय लिने यसअघि नै मोटामोटी समझदारी बने पनि कुन–कुन मन्त्रालय लिने भन्नेबारे अझै टुंगो लागिसकेको छैन । दुई दलबीच मन्त्रालय संख्यामा भागबन्डा मिलेपछि आ–आफ्नो ‘एलायन्स’मा रहेका दललाई आफ्नो कोटाको मन्त्रालयबाट मिलाउने वा विकल्पमा उनीहरूलाई मन्त्रालय संख्या छुट्याएर बाँकीमा भागबन्डा गर्ने भन्नेबारे दुई दलबीच छलफल भएको थियो ।
स्रोतका अनुसारमा साना दललाई एक/एक मन्त्रालय दिने र बाँकीमा कांग्रेस–एमालेले भागबन्डा गर्ने समझदारी बनेको छ । भागबन्डा गर्दा कांग्रेसले एक मन्त्रालय बढी पाउनेछ भने सरकारको नेतृत्व गर्ने एमालेले एउटा मन्त्रालय कम पाउने भएको छ । प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद् मात्र गठन गर्न सकिने संवैधानिक व्यवस्था छ । हाल मन्त्रालय २१ वटा छन् । बढीमा ३ राज्यमन्त्री राख्न सकिने व्यवस्था छ । बुधबार भएको दुई दलबीचको छलफलमा पाँच दलका लागि एक/एक मन्त्रालय छुट्याएपछि एमालेले प्रधानमन्त्री र ७ मन्त्रालय तथा कांग्रेसले ९ मन्त्रालय लिने मोटामोटी समझदारी बनेको छ । ‘विश्वासको मतको विपक्षमा मतदान गर्ने अरू दलसँग पनि एक पटक छलफल गर्ने भनिएकाले असार २८ मा प्रधानमन्त्रीले विश्वासको मत राख्ने प्रक्रियापछि मात्र यसबारे औपचारिक सहमति हुनेछ,’ एमालेका एक नेताले भने ।
कांग्रेस र एमालेबीच २१ वटा मन्त्रालयलाई शक्तिशाली, विकास र सामाजिक मन्त्रालयमा वर्गीकरण गरेर भागबन्डा मिलाउन खोजिएको छ । कांग्रेसले गृह र एमालेले अर्थ लिने यसअघि नै समझदारी भइसकेको छ । कांग्रेसले परराष्ट्र मन्त्रालय लिन चाहेको छ भने सरकारको नेतृत्व गर्ने एमालेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाउने करिब निश्चित छ ।
त्यसबाहेक भौतिक पूर्वाधार तथा यातायात एउटा दलले लिँदा अर्को दलले ऊर्जा मन्त्रालय पाउने गरी वर्गीकरण गरिएको छ । यसैगरी सहरी विकास मन्त्रालयसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षासँग स्वास्थ्य, कानुन न्याय तथा संसदीय मामिलासँग संघीय मन्त्रालयको वर्गीकरण गरिएको छ । यही आधारमा अरू मन्त्रालयको पनि वर्गीकरण गरिएको छ । शक्तिशाली, विकासे र सामाजिकबाहेक अरू मन्त्रालयमा आ–आफ्ना पार्टीबाट मन्त्री हुने व्यक्तिका आधारमा पनि तय गरिने गरी भागबन्डा मिलाउन खोजिएको छ ।
एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालयको भागबन्डा टुंगिने जनाउ दिएका थिए । कांग्रेस र एमालेबीच बराबरी हैसियतमा मन्त्रालयको भागबन्डा हुने ओलीको भनाइ थियो । ‘मन्त्रालयको बाँडफाँट भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । को–को सरकारमा सामेल हुने भन्ने कुरा साधारणतया हैसियतका आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्छन् । स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौं,’ बैठकमा ओलीको भनाइ थियो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विगतमा जस्तो मन्त्रालय भागबन्डामा यस पटक झमेला नहुने बताए । ‘यस पटक हामी अलि फरक ढंगले अघि बढ्न खोजेका छौं । मन्त्रालयको संख्या र बाँडफाँटमा कुनै झमेला हुँदैन,’ उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बनाउने भनिएकाले अरू दलसँग पनि छलफल गरेपछि कुन दलले कुन–कुन मन्त्रालय लिने भन्ने तत्कालै टुंगिन्छ ।’ कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया