माघ २८, २०८१ सोमबार February 10, 2025

बिजुली निर्यातमा नयाँ रेकर्ड : भारतमा दैनिक ८०० मेगावाटसम्म बिजुली निर्यात

गत हप्ता बाढीका कारण बन्द गरिएका अधिकांश जलविद्युत् परियोजना सञ्चालनमा आइसके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय बजारमा दैनिक आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । प्रिमनसुन सुरु भएसँगै प्राधिकरणले गत १४ जेठबाट भारतमा यस सिजनको विद्युत् निर्यात सुरु गरेको थियो । त्यसवेला चार सय मेगावाटसम्म विद्युत् निर्यात भएको थियो । तर, बीचमा गर्मी अत्यधिक हुँदा स्वदेशी माग बढ्न गई विद्युत् निर्यात रोकिएको थियो ।

पछिल्लो समयमा भएको वर्षाले खोलाहरूमा पानीको बहाव बढेको छ । गत हप्ता बाढीका कारण बन्द गरिएका अधिकांश जलविद्युत् परियोजना सञ्चालनमा आइसकेका छन् । अधिकांश जलविद्युत् परियोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन हुन थालेपछि स्वदेशमा खपत भएर बढी भएको बिजुली भारतमा निर्यात गर्न थालिएको छ । गत आइतबारयता भारतमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात हुन थालेको छ । शुक्रबार अर्थात् २९ असारमा भने अधिकतम ८१२ मेगावाट विद्युत् भारतमा निर्यात भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ ।

यसअघि गत ६ कात्तिकमा भारतमा ७३२ मेगावाट विद्युत् निर्यात भएको थियो । यस वर्ष उक्त रेकर्ड तोडिएको हो । गत वर्ष २९ असारमा ३७५ मेगावाट विद्युत् निर्यात भएको थियो ।

गत २३ असारमा ७७८ मेगावाट, २४ असारमा ७४८ मेगावाट, २५ असारमा ७६९ मेगावाट, २६ असारमा ७८९ मेगावाट, २७ असारमा ७८९ मेगावाट र २८ असारमा ८१२ मेगावाटसम्म विद्युत् निर्यात भएको छ । आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भएको यो पहिलोपटक हो ।

भारतले आफ्नो बजारमा सात सय मेगावाटहारहारीमा विद्युत् निर्यात गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । स्वीकृत सीमाभन्दा ५० प्रतिशतभन्दा विद्युत् बिक्री गर्न पाइने व्यवस्था छ । सोहीअनुसार विद्युत् निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।

अहिले दैनिक सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारत निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार अहिले दैनिक रूपमा भइरहेको विद्युत् निर्यात हालसम्मकै उच्च छ । ‘गत वर्ष साढे ६ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सकेका थियौँ । अहिले सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारतमा निर्यात भइरहेको छ,’ उनले भने, ‘अहिले प्रतियुनिट पाँचदेखि ६ भारतीय रुपैयाँसम्ममा विद्युत् निर्यात भइरहेको छ ।’

उनका अनुसार ११० मेगावाट मध्यकालीन सम्झौताअनुसार भारतको हरियाणा प्रदेशमा निर्यात भइरहेको छ । प्राधिकरणले प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा पाँच वर्षसम्म बर्खायाममा मात्रै दुई सय मेगावाट विद्युत् बिक्री गर्ने गरी भारतको एनटिपिसी विद्युत् व्यापार निगमन (एनभिभिएन)सँग मध्यकालीन सम्झौता गरेको थियो । त्यसमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म ११० मेगावाट विद्युत् बिक्री गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । सोहीअनुसार मध्यकालीन बजारमा ११० मेगावाट विद्युत् निर्यात भइरहेको छ । बाँकी ९० मेगावाट विद्युत् बिक्रीका लागि परियोजना स्वीकृत हुने चरणमा रहेको प्राधिकरणको भनाइ छ ।

अन्य विद्युत् भने भारतको इनर्जी एक्सचेन्ज मार्केटअन्तर्गतको रियल टाइम र डे–अहेड बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री भइरहेको छ, त्यसको औसत मूल्य पाँचदेखि ६ भारतीय रुपैयाँसम्म छ । प्राधिकरणले यो बर्खामा हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ ।

हाल नेपालको विद्युत्को जडित क्षमता ३२ सय मेगावाटहाराहारी छ । अहिले विद्युत्को उत्पादन झन्डै तीन हजार मेगावाट छ । त्यसमा २३ सय मेगावाट विद्युत् नेपालमै खपत भइरहेको छ । अन्य विद्युत् भारतमा निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत वर्षको बर्खा सिजन (जेठदेखि मंसिरसम्म)मा १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको थियो । गत हिउँद (मंसिर–जेठसम्म) भने झन्डै १४ अर्बबराबरको विद्युत् आयात गरिएको थियो । प्राधिकरणले कात्तिक ०७८ यता भारतमा व्यावसायिक रूपमा विद्युत् आयात–निर्यात गर्दै आएको छ । त्यसभन्दा पहिला इनर्जी बैंकिङ (ऐँचो–पैँचो)का रूपमा नेपाल र भारतबीच विद्युत् आयात–निर्यात हुने गर्थ्यो । स्वदेशी माग धान्न नेपालले सन् १९७१ देखि नै भारतबाट विद्युत् आयात गर्दै आएको थियो ।

मंगलबारयता पाँच ठूला उद्योगमा काटियो लाइन

विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पाँच उद्योगको लाइन काटेको छ । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक्स र हुलास स्टिलमा विद्युत् कटौती गरेको हो । यी पाँच उद्योगले ४०–५० मेगावाटहाराहारीमा विद्युत् खपत गर्छन् ।

बक्यौता नतिरे अन्य उद्योगीको पनि लाइन काट्ने तयारीमा प्राधिकरण छ । प्राधिकरणका अनुसार ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको आठ अर्ब २५ करोड ९७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । -नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार
संसद्को कार्यसूचीमै परेन सरकारको अध्यादेश
२०८१ माघ २८, सोमबार
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
२०८१ माघ २८, सोमबार
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु
२०८१ माघ २८, सोमबार
अन्योलमै काम गर्न निर्देशन
२०८१ माघ २८, सोमबार