काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले व्यावसायिक सीप विकासका कार्यक्रम शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने बताउनुभएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी काठमाडौँले आज आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा उहाँले दक्ष जनशक्ति उत्पादन गर्ने पाठ्यक्रमले विद्यार्थीलाई स्वरोजगार अभिवृद्धि गर्ने र उनीहरूको आम्दानी वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
व्यावसायिक सीपका माध्यमबाट उनीहरूले जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने बताउँदै अध्यक्ष नेपालले पास भएका विद्यार्थीमा सङ्कटसँग जुध्न सक्ने क्षमता एवं सामाजिक र देशभक्तिको भावना विकास भएको हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
स्वदेशी शैक्षिक संस्थाले अन्तर्राष्ट्रिय तहका पाठ्यक्रमसँग समन्वय गरी शिक्षा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउनुपर्ने जरुरी रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष नेपालले पछिल्लो समयमा सूचना प्रविधिमा भएको विकासले ज्ञानको दायरा फराकिलो बनाएको, पठन शैलीलाई सहज बनाएको र विषयवस्तुको विश्लेषण तथा आलोचनात्मक समीक्षा गर्न विद्यार्थीलाई सहयोग पुर्याएको बताउनुभयो । उहाँले जीवनमा जति सफलता प्राप्त गरे पनि विद्यार्थीले अभिभावक, गुरु वर्ग लगायत मान्नुपर्ने मान्छेलाई सम्मान र आफूभन्दा सानालाई माया गर्नुपर्नेमा जोड दिनुभयो ।s
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया