काठमाडौंः कक्षा १२ को परीक्षाफल पनि एसईईकै जस्तो कमजोर देखिएको छ । परीक्षामा सहभागी विद्यार्थीहरूमध्ये झन्डै आधा विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नियमिततर्फको नतिजाअनुसार ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थी सहभागी भएकामा २ लाख ३ हजार ८ सय ४७ (५२.१५ प्रतिशत) पास भएका छन् भने १ लाख ८७ हजार २१ (४७.८४ प्रतिशत) फेल भएका छन् । फेल भएका मध्ये १ लाख २७ हजार ७ सय ७ जनाले भदौ २५ र २६ गते पूरक परीक्षा दिन पाउनेछन् ।
गत असारमा प्रकाशित एसईई र अघिल्ला वर्षहरूको कक्षा १२ को नतिजाको तुलनामा सामान्य मात्रै सुधार देखिन्छ । एसईईमा ४७.८७ प्रतिशत विद्यार्थी पास भएका थिए भने ५२.१३ प्रतिशत विद्यार्थी फेल भएका थिए । गत वर्ष कक्षा १२ को परीक्षामा सहभागी ३ लाख ७२ हजार ६ सय ३७ विद्यार्थीमध्ये ५०.९१ प्र्रतिशत अर्थात् १ लाख ८९ हजार ७ सय ११ जनाले ग्रेड प्राप्त गर्दै उच्च शिक्षामा भर्ना हुन योग्य ठहरिएका थिए । त्योभन्दा अघिल्लो साल ४८.१० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्षको तुलनामा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या र माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या क्रमशः वृद्धि हुँदै गएकाले समग्र नतिजा सुधारोन्मुख हुँदै गएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए ।
कक्षा १२ को नतिजामा सामान्य सुधार देखिए पनि यसलाई उपलब्धि मान्न नहुने विज्ञहरूको भनाइ छ । त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुरेन्द्र गिरीले शिक्षण विधिमा सुधार हुन नसक्दा विद्यालय तहको नतिजा कमजोर देखिएको टिप्पणी गरे । एक सय वर्षदेखि एउटै विधिबाट पठनपाठन र परीक्षा सञ्चालन भइरहेको उनले बताए । ‘एक सय वर्षपहिले त्रिचन्द्र क्याम्पसमा जुन तरिकाले पढाइ हुन्थ्यो अहिले पनि त्यही तरिकाले पढाइ हुन्छ । पाठ्यक्रम, परीक्षा विधि, मूल्यांकन गर्ने तरिका पनि पुरानै छ,’ उनले भने, ‘विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ नभएसम्म सुधारको अपेक्षा गर्न सकिँदैन ।’
पढाउने विधि र नीति, नियमसमेत पुरानो हुँदा सुधार सम्भव नरहेको उनले औंल्याए । ‘त्रिचन्द्र मोडलको राणाकालीन पढाउने विधि छ । बाजेको पालादेखि शिक्षकले जस्तो जानेको छ त्यस्तै पाठ्यक्रम बनेको छ । पढाउने तरिका पनि उस्तै छ । शिक्षा ऐन पनि पुरानै छ,’ उनले भने, ‘शिक्षक दरबन्दी छैन । राहत दरबन्दीका भरमा विद्यालय चलेका छन् । भएका शिक्षकलाई पनि तालिम छैन ।’
माथिल्लो स्तरको ३.६१ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ९ हजार ५ सय ९१ रहेको छ । सबैभन्दा धेरै विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । ७८ हजार ७५ छात्रछात्राले उक्त जीपीए ल्याएका बोर्डले जनाएको छ । २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ । ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने ४६ हजार ८ सय ९३ रहेका छन् । २.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० रहेको छ भने सबैभन्दा तल्लो स्तरको जीपीए १.६१ देखि २ ल्याउने विद्यार्थीको संख्या १२ जना रहेको छ ।
नन्ग्रेडिङ भएका १ लाख ८७ हजार २१ विद्यार्थीमध्ये १ लाख २७ हजार ७ सय ७ जना विद्यार्थी दुई विषयसम्म नन्ग्रेडिङ भएका हुन् । दुई विषयमा नन्ग्रेडिङ हुने विद्यार्थीको पूरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन हुने बोर्डले जनाएको छ । दुई विषयसम्म अनुपस्थित भएका विद्यार्थीले पनि पूरक परीक्षामा सामेल हुन पाउने शर्माले बताए । दुईभन्दा बढी विषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष सञ्चालन हुने वार्षिक परीक्षामा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । शर्माका अनुसार सबैभन्दा धेरै विद्यार्थी अंग्रेजी विषयमा नन्ग्रेडिङ भएका छन् । त्यसपछि लेखा र सामाजिक विषयमा नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या बढी छ ।
अंग्रेजीमा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख २ हजार २ सय ६ जना विद्यार्थी नन्ग्रेडिङ भएको बोर्डको तथ्यांक छ । सामाजिकमा ५१ हजार, लेखामा ४७ हजार विद्यार्थी नन्ग्रेडिङमा परेका छन् । एसईईमा धेरै विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा अनुत्तीर्ण थिए । कक्षा १२ मा नन्ग्रेडिङ हुनेमा छात्रको भन्दा छात्राको संख्या धेरै छ । १ लाख ८७ हजार २१ विद्यार्थी अर्थात् ४७.८४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ हुँदा ४७ प्रतिशत नै छात्र र ४९ प्रतिशत छात्रा रहेका छन् । परीक्षामा सामेलमध्ये छात्राभन्दा छात्रको संख्या कम थियो । १ लाख ९४ हजार ३ सय १९ जना छात्र सहभागी थिए । तीमध्ये ९१ हजार ४ सय ८७ जना एनजीमा परे भने १ लाख २ हजार ८ सय ३२ जनाले मात्र ग्रेड प्राप्त गरे । छात्रा १ लाख ९६ हजार ५ सय जना परीक्षामा सहभागी थिए । ९५ हजार ५ सय ४ जनाको नतिजा एनजी आएको छ भने १ लाख ९ सय ९७ जनाले ग्रेड प्राप्त गरेका छन् ।
कक्षा १२ को नतिजाको प्रदेशगत तुलना गर्दा सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ । सुदूरपश्चिमपछि क्रमशः कर्णाली, कोशी, मधेश, लुम्बिनी, गण्डकीको नतिजा कमजोर देखिन्छ । प्रदेशमध्ये सबैभन्दा राम्रो नतिजा वाग्मतीमा देखिएको छ । सुदूरपश्चिममा ३५ हजार ६ सय २८ विद्यार्थीले परीक्षा दिएकामा १४ हजार ४६ (३९.४२ प्रतिशत) ले ग्रेड प्राप्त गर्न सफल भए । ६०.५७ अर्थात् २१ हजार ५ सय ८२ जना नन्ग्रेडिङमा परे । कर्णालीका २५ हजार ९ सय २० परीक्षार्थीमध्ये ४०.७५ प्रतिशत अर्थात् १० हजार ५ सय ६३ मात्र ग्रेडिङ भए । १५ हजार ३ सय ५७ अर्थात् ५९.२४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ भएको बोर्डले जनाएको छ । मधेशमा ५३.७४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ र ४६.२५ प्रतिशत ग्रेडिङ भए । मधेशबाट ४५ हजार ५ सय ४१ जनाले परीक्षा दिएका थिए । जसमा २६ हजार ८६ जना नन्ग्रेडिङ भएका हुन् भने २२ हजार ४ सय ५५ जना स्नातकमा भर्ना हुन योग्य ठहरिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया