चैत्र १५, २०८० बिहिबार March 28, 2024

स्वार्थी राजनीतिले राष्ट्रियता संकटमा- नारद पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनमत संग्रहताका कांग्रेस वृतमा खुब बहस चल्थ्यो, ‘सम्पन्नतामा कम्युनिस्ट फस्टाउँदैनन्। गरिबी र अशिक्षा उनीहरूका लागि उर्वर आधार हो। मुलुक समृद्ध बन्दा कम्युनिस्टको आधार क्षेत्र समाप्त हुन्छ।’ त्यसैगरी वाम खेमामा पनि कांग्रेसको धज्जी उडाइन्थ्यो। उनीहरू भन्थे, ‘कांग्रेसमा राष्ट्रियता छैन, समाजवाद पनि नागरिकलाई उल्लू बनाउने चाल मात्र हो। यथार्थमा नेपाली कांग्रेस हुने खानेका लागि मात्र बनेको दल हो।’ त्यो बेला एकअर्काविरुद्ध त्यसैगरी खैरो खन्थे उनीहरू। विशेषतः युवालाई आफूतर्फ आकर्षित पार्न यस्ता तर्कको सहारा लिइन्थ्यो। आज समय फेरिएको छ। उसबेला निरंकुश पञ्चायत शासन थियो। अहिले संघीय लोकतन्त्र छ। उसबेला दलका नेताले गर्ने तर्कलाई युवाहरू कथा सुने झैं सुन्थे र विश्वास पनि गर्थे। अबका युवा नेताको भ्रमपूर्ण तर्कको पछि लाग्दैनन्। सही र खराब छुट्ट्याउने सामथ्र्य आजका युवामा यथेष्ट छ, तर कांग्रेस र कम्युनिस्टको मानसिकता भने अहिले पनि ज्यूँका त्यूँ छन्।

अबका युवा नेताको भ्रमपूर्ण तर्कको पछि लाग्दैनन्। सही र खराब छुट्ट्याउने सामथ्र्य आजका युवामा यथेष्ट छ, तर कांग्रेस र कम्युनिस्टको मानसिकता भने अहिले पनि ज्यूँका त्यूँ छन्।

विश्वमा देखिएको विकास प्रवाहले मानिसमा चेतनाको लहर ल्याइदिएको छ। यस्तोमा पनि दलका नेताहरू साउनमा आँखा फुटेको गोरुजस्तो सधैं हरियो देख्छन्। उनीहरू भ्रमको खेती गर्ने ध्याउन्नमा अझै लगेका छन्। हामी नै सर्वेसर्वा, हाम्रो विचार मात्र सही हो भन्ने मनोदशाले ग्रसित भए राजनीतिका पात्र। यस्तो अहंकारी सोचका कारण पटकपटक परिवर्तनको नेतृत्व गरे पनि उनीहरू नागरिकको विश्वास जित्न अक्षम भए। कसैले भन्ला- विश्वास नजिते निर्वाचित कसरी भए त ? यसको उत्तर सहज छ। निर्वाचनमा हारजित हुनुलाई नागरिक विश्वास मानिँदैन। दुईजना उपद्रया चुनावमा उठे भने एउटा फटाहाले हार्छ र अर्कोले जित्छ। यहाँका राजनीतिक दलले जनमत त पाए तर जनविश्वास अझै पाउन सकेनन्। जनताको भरोसा लिन नागरिकमा परिवर्तनको अनुभूति हुनुपर्छ। यहाँ देश र जनताका लागि भन्दा आफू र आफ्ना वरिपरिकामा मात्र काम भयो। यसको पछिल्लो दृष्टान्त दुईतिहाइ नजिकको नेकपा सरकारको अहिलेको हविगत र उसको बढ्दो अलोकप्रियतालाई लिन सकिन्छ।

उतिबेला एकअर्कामा जे दोष लगाए पनि नागरिकमा दलप्रति ठूलो भरोसा थियो। सम्पूर्ण विकृतिको जड भनेको निरंकुशतन्त्र नै हो भन्ने बलियो आधार बनेको थियो। कार्यकर्तामा निष्ठा थियो। मुलुकप्रति समर्पण भाव जागृत हुन्थ्यो। जुन लक्ष्य लिएर युवा राजनीतिमा भित्रिए, त्यसलाई प्राप्त गर्ने बाटो कठिन र कष्टपूर्ण थियो। तथापि ज्यान हत्केलामा राखी युवाहरू प्रजातान्त्रिक आन्दोलनमा होमिएका हुन्। आज तिनै युवामध्ये अधिकांशले मुलुकको बागडोर सम्हालेका छन्। विगत ३० वर्षदेखि कुनै न कुनै रूपमा त्यहीं तप्का राजनीतिको मूलधारमा छ। विडम्बना नै भन्नुपर्छ- कठोर त्याग र बलिदानबाट खारिएको सिंगो पंक्ति आज भ्रष्टाचार र कुशासनको दलदलमा नराम्ररी भासिएको छ।

राष्ट्रिय एकताले छिमेकीसँगको सम्बन्धमा बराबरीको आधारशिला तयार पार्छ। आखिर सिक्किम भारतमा विलय हुँदा भारतको भूमिका प्रमुख थियो कि सिक्किमेली लम्पसारवादी राजनीतिको ?

उसबेला कांग्रेस कम्युनिस्टले जसरी एकअर्कामा दोष थोपर्थे, आज त्यही बाटो हिँड्न संकोच मान्दैनन्। त्यतिबेला युवा अर्काषणका लागि गरिने गाली अहिले उनीहरूको जीवनचक्र बनेको छ। सर्वाहाराका नाममा राजनीति गर्नेहरू नवसामन्तका रूपमा उदाए। राष्ट्रियता र प्रजातान्त्रको दुहाइ दिनेहरू अंगीकृतलाई देशको साँचो जिम्मा लगाउन आतुर देखिन्छन्। योभन्दा दुर्भाग्य के हुन सक्छ ? अयोग्य पात्रले राजनीति प्रयोग गर्दाको परिणति यस्तै हुन्छ। जसको पीडा आज मुलुकले खेप्नुपरेको छ। हिजो कांग्रेसले कम्युनिस्टलाई ‘राष्ट्रियता नभएको पार्टी’ भनी आरोपित गर्थे। एमसीसी हुँदै नागरिक विधेयकसम्म पुग्दा कांग्रेस स्वयंले त्यो आरोपलाई सत्य सावित गरिदिएको छ। त्यस्तै ‘सत्तामा पुगेपछि कम्युनिस्टहरू भ्रष्टाचारले गनाउँछन्’ भन्दै तथानाम गर्थे कांग्रेसी।’ आज बालुवाटारदेखि यति समूह र वाइडबडीदेखि औषधि खरिद प्रकरणसम्मको शृंखलाबद्ध राज्य दोहनका घटना बाहिरिएका छन्। त्यसलाई हेर्दा त्यो आरोप पनि गाली नभई यथार्थ हो भन्न कर लाग्छ।

त्याग र निष्ठा नहुँदा राजनीति पथभ्रष्ट हुन्छ। नेपाली राजनीतिले आज मूल रूपमा बाटो बिराएको छ। स्वाभिमानी नागरिक चाहेर पनि दलमा आबद्ध हुन सक्दैनन्। आम सर्वसाधारणले बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु पर्दैछ। विदेशी पुँजीपतिले राष्ट्रको अर्थतन्त्र कब्जा गरेका छन्। सर्वसाधारणले उनीहरूसामु निरिह भई हात फैलाउनुपर्छ। यस प्रकारको लुट र शोषणलाई क्रान्तिकारी भनिने सरकार टुलुटुलु हेरेर बस्छ। कुनै समय लोकतन्त्रको पर्याय मानिएको अहिलेको प्रतिपक्ष पनि भरोसायोग्य भएन। इतिहास भजाएर कुम्लो दह्रो पार्ने दाउमै उसले समय खेर फालेको छ। विदेशीसामु लम्पसार हुने, त्यसैको ब्याजले सत्तामा पुग्ने सपना देख्नुबाहेक कुनै स्मरणयोग्य कामतर्फ उसको मती गएन्। जुन दलमा राष्ट्रियताका लागि ‘बरु राजासँग मिल्छु तर भारतीय हैकम स्वीकार गर्दिनँ’ भन्दै बीपीले देशभक्तिको नमुना देखाए। भर्खरै सिक्किम भारतमा विलय भएको थियो। त्यो समयमा छिमेकीको रणनीति बुझेका बीपीले भारतको षड्यन्त्रमा फस्नुभन्दा पञ्चायत सत्ताले दिने कष्ट प्रिय ठाने। उनै बीपीको दल नेपाली कांग्रेस आज नागरिक विधेयकमा सरिता गिरी प्रवृत्तिका लेन्डुपसँग सती जाँदै छ। फरक यति हो- त्यो बेला बीपीले राष्ट्रियता बचाउन राजासँग घाँटी जोडे, अहिलेको नेतृत्व सरिता प्रवृत्तिका लेन्डुपसँग खुलेआम गर्धन जोड्दै छ।

त्याग र निष्ठा नहुँदा राजनीति पथभ्रष्ट हुन्छ। नेपाली राजनीतिले आज मूल रूपमा बाटो बिराएको छ। स्वाभिमानी नागरिक चाहेर पनि दलमा आबद्ध हुन सक्दैनन्। आम सर्वसाधारणले बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु पर्दैछ। विदेशी पुँजीपतिले राष्ट्रको अर्थतन्त्र कब्जा गरेका छन्। सर्वसाधारणले उनीहरूसामु निरिह भई हात फैलाउनुपर्छ। यस प्रकारको लुट र शोषणलाई क्रान्तिकारी भनिने सरकार टुलुटुलु हेरेर बस्छ।

केही समयअगाडि सरकारले अतिक्रमित भूमि समेटेर देशको पूर्ण नक्सा जारी गर्‍यो। संसद्बाट अनुमोदनपछि मुलुकमा एकताको सन्देश प्रवाह भएको छ। यसलाई बिथोल्न देशभित्रकै द्रव्यलम्पटहरू सल्बलाउन थालेका छन्। उनीहरूको षड्यन्त्र चिर्न सरकार र नागरिकको उत्तिकै दायित्व हुन्छ। झीनामसिना प्रश्नमा अल्झिएर यो अभूतपूर्व एकता भाँडिनु हुँदैन। अहिले नागरिकले यही अपेक्षा राखेका छन््। यहाँको नेतृत्वपंक्ति छिमेकीसामु अहिले पनि नतमस्तक देखिन्छ। भारतले नाकाबन्दी गर्ला वा दुःख देला भन्ने हीनता बोधले जमिन प्राप्त हुँदैन।

आफ्नो माटोको भोगचलन आफैं गर्न पाउनु नैसर्गिक अधिकार हो। देशभक्तिको जगमा काम गर्दा छिमेकीले जमिन त के एउटा ढुंगा पनि लान सक्दैन। तीनपटकसम्म भारतले नाकाबन्दी गर्दा नेपाली भोकले मरेनन्। यो कुनै भावावेश होइन। नेपालीले भोगेको तीतो यथार्थ हो। भारतीय मिडिया हुन् वा कर्मचारीतन्त्र, तिनीहरूको औपनिवेशिक मानसिकताले छिमेकप्रति सधैं पुर्वाग्रही छन्। पश्चिमा खुसी भए एसिया कब्जा गर्छु भन्छ त्यहाँको राजनीति र कर्मचारीतन्त्र। कामभन्दा हल्ला बढी गर्नु उनीहरूको चरित्र हो। त्यही विचार पत्रकारितामा पनि देखिन्छ। चुनावका बेला भारतीय सेनाको प्रहारले सयौं आतंककारी मारिए भनी व्यापक हल्ला फिँजाए त्यहाँका मिडियाले। यथार्थमा जंगलका किरा फट्यांग्राबाहेक स्याल पनि मरेको भेटिएन।

नेपालीले भोगेको तीतो यथार्थ हो। भारतीय मिडिया हुन् वा कर्मचारीतन्त्र, तिनीहरूको औपनिवेशिक मानसिकताले छिमेकप्रति सधैं पुर्वाग्रही छन्। पश्चिमा खुसी भए एसिया कब्जा गर्छु भन्छ त्यहाँको राजनीति र कर्मचारीतन्त्र। कामभन्दा हल्ला बढी गर्नु उनीहरूको चरित्र हो। त्यही विचार पत्रकारितामा पनि देखिन्छ। चुनावका बेला भारतीय सेनाको प्रहारले सयौं आतंककारी मारिए भनी व्यापक हल्ला फिँजाए त्यहाँका मिडियाले। यथार्थमा जंगलका किरा फट्यांग्राबाहेक स्याल पनि मरेको भेटिएन।

मानवीय क्षति नभएको तथ्य पछि बाहिर आयो। यसरी झूटो प्रचार गर्न खपिस छन् त्यहाँका केही मिडिया र बौद्धिक जगत्। जुन अहिले नेपालका विषयमा त्यसैगरी स्याल हुइँया चलाइरहेका छन्। त्यसबाट धारणा बनाउँदा राम्रो परिणाम आउँदैन। हल्लाको पछि लाग्नुभन्दा तथ्य उजागर गर्न सक्नु हितकारी हुन्छ। भारतलाई गाली गर्नुपूर्व लेन्डुप प्रवृत्तिलाई नंग्याउन सक्नुपर्छ। तब मात्र एकताको जग मजबुत हुन्छ। राष्ट्रिय एकताले छिमेकीसँगको सम्बन्धमा बराबरीको आधारशिला तयार पार्छ।

आखिर सिक्किम भारतमा विलय हुँदा भारतको भूमिका प्रमुख थियो कि सिक्किमेली लम्पसारवादी राजनीतिको ? यसतर्फ नेपाली राजनीतिले समयमै होस पुर्‍याउन आवश्यक देखिन्छ। त्यसैले भनिएको हो- छिमेकीलाई चोर दोष लगाउनुभन्दा आफ्नो पोको सधैं बलियो बाँध्नुपर्छ। अन्नपूर्णपोष्ट दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार