असोज २, २०८१ बुधबार September 18, 2024

तलेजुबाट गाई निकालेर जात्रा सुरु, घिन्ताङ घिसी नाच प्रदर्शन

गाईजात्रा पर्वको दिन दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : भक्तपुरमा आठ रात, नौ दिनसम्म भव्य रूपमा मनाइने गाईजात्रा पर्वको अवसरमा आज जात्राको पूर्वसन्ध्यामा तलेजुबाट गाई निकालेर प्रदर्शन गर्दै यसवर्षको गाईजात्रा पर्व सुरु भएको छ ।

जनै पूर्णिमाका दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले पठाएको सरकारी घिन्ताङ घिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि जात्रा सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख खिमा ओलीले जानकारी दिनुभयो ।

आजै तलेजुको पूजा गरी तलेजुस्थित बहत्वाबाट गाई निकालेर घिन्ताङ घिसी नाचसँगै प्रदर्शन गरी विधिवत रुपमा जात्राको सुरु भएको तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

बहत्वाबाट निस्किएको घेन्ताङ घिसी नाच नगरको दरबार स्क्वायर, बालाखु गणेश, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौँ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरी स्क्वायर, वङ्शगोपाल, इताछें, खौमाको हुँदै दरबार स्क्वायर पुगेर समापन भएको छ ।

आज साँझदेखि गाईजात्रा सुरु भएको र भोलि गाईजात्रा पर्वको दिन दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको उहाँले बताउनुभयो ।

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । यस दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।

जात्राभरी जात्रामा घिन्ताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्लेकार्ड, प्रदर्शन गर्दै टोल टोल घुमाउने गरिन्छ ।

श्रीकृष्ण जन्माष्टमीको दिन भैरव मन्दिरमा नेवारी पोशाक हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा रहेको छ । यस दिन नारायणको पूजागरी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनःसूर्यमढी पुग्ने प्रचलन रहेको छ । टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि गाईजात्रा सम्पन्न हुने परम्परा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया