कार्तिक २९, २०८३ आइतबार November 15, 2026

बाँकेमा धार्मिक पर्यटन मार्ग योजना अलपत्र

ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बाबा वर्फानी, भुवरभवानीलगायत पर्यटकीय क्षेत्रमा दैनिकजसो सर्वसाधारणको बाक्लो उपस्थिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राँझा (बाँके) । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ ।

जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा अगाडि बढाइए पनि बजेट अभावमा योजना कार्यान्वयन हुन नसकेको मदन भण्डारी धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए ।

उनका अनुसार बाँकेका ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउनेगरी पर्यटन मार्गको कल्पना गरिएको छ ।

यो धार्मिक पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नं ३ बैजापुरस्थित भुवरभवानी मन्दिर, वडा नं ४ स्थित वर्फानी बाबा, वडा नं ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई राखिएको छ ।

त्यसैगरी कोहलपुरको कालिका मन्दिर, रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पुर्‍याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पुर्‍याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताए।

“जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचारप्रसार र संरक्षण नहुँदा जीर्ण भएका छन् भने जिल्लामै रहेका त्यस्ता धार्मिक पर्यटकीयस्थलका बारेमा जिल्लावासीलाई जानकारी नभएको अवस्था छ”, अध्यक्ष भुसालले भने, “धार्मिक पर्यटकीय क्षेत्रको प्रचार गर्ने जिल्लावासीलाई घुमाउने र संरक्षण गर्न समिति प्रयासरत रहेको छ ।”

पर्यटन मार्ग बनाएर प्रचारप्रसार गर्दा एकैपटक धेरै धार्मिकस्थलको अवलोकन गर्न सकिने भएकाले यसले पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवर्द्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

धार्मिक पर्यटन मार्गले सहरका आन्तरिक धार्मिक पर्यटकलाई गाउँगाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । उनले गाभरमा रहेको पारिजात बगानलाई समेत मार्गमा समेटिएकाले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गरे ।

बाँकेमा अहिले ग्रामीण क्षेत्रमा रहेका सन्तानेश्वर, बाबा वर्फानी, भुवरभवानीलगायत पर्यटकीय क्षेत्रमा दैनिकजसो सर्वसाधारण जाने गरेका छन् भने नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीमा भीड लाग्ने गरेको छ ।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लामा रहेका ऐतिहासिक मठमन्दिर तथा धार्मिकस्थलको प्रवर्द्धन र संरक्षण गर्नेगरी काम गर्न चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन भएको बताए । उक्त बजेट बाँकेको ग्रामीण क्षेत्रका ऐतिहासिक मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जको बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्‍याउने गरी पर्यटन मार्ग निर्माणमा कार्यान्वयन गरिने उनको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार