काठमाडौँ । सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । योसँगै ३ प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो । क्यान्सर उपचार सेवा सुरु गर्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालतर्फबाट कार्यकारी निर्देशक डा। शिवजी पौडेल तथा सेती प्रादेशिक अस्पतालतर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यसअघि यस्तो सेवाका लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट सुर्खेत प्रादेशिक अस्पताल तथा कोशी प्रदेश अस्पतालसँग सम्झौता भइसकेको छ । गण्डकी र मधेश प्रदेशमा समेत यो सेवा चाँडै विस्तार गर्ने तयारी छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४-३० स्वीकृत गरेका थिए । जसले क्यान्सर उपचार सेवालाई सातवटै प्रदेशमा विस्तार गर्ने लक्ष्य बोकेको थियो ।
त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए । यसलगत्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नो जिम्मामा रहेका अस्पतालमा विस्तारित उपचार सेवाको सम्झौता गरेर उपचार सेवा सुरु गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया