बैसाख २२, २०८३ मंगलबार May 5, 2026

कर्मचारीमाथि राजनीतिक हस्तक्षेप भन्दा पनि फाइदाका लागि कर्मचारीहरूले राजनीति गरे : राजेन्द्र बजगाईँ (अन्तवार्ता)

राजनीति करेक्सन नभएसम्म कर्मचारीतन्त्र करेक्सन हुँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संसदमा आफ्नो उपस्थितिलाई कसरी लिनु भएको छ ?

संसद गरिमामय ठाउँ हो भन्ने लागेको थियो । तर, मेरो अनुभवमा एक दलले अर्को दलको उछितो काड्ने र कसरी अर्को दलको दोष देखाउन सकिन्छ भन्ने थलोको रूपमा संसद रहेको पाएँ ।

निराशा बढ्दो छ । जनताले पत्याउने परिस्थिति छैन । राजनीतिज्ञ खराब नै हुन्छन् भन्ने परेको छ । यो अवस्थालाई चिर्नुपर्ने छ । जनताको प्रक्षेपणबाट जोगिनका लागि प्रतिरक्षामा हिँडेको जस्तो लागि रहेको छ ।

सांसदको रूपमा आफूले खेलेको भूमिका प्रति सन्तुष्ट हुनुहुन्छ ?

संसद वा समितिमा कतिपय विषयहरू प्रतिनिधि मूलकरुपमा बोल्ने गरिन्छ । कतिपय कुरा प्रतिकात्मक/सांकेतिक रूपमा बोलिन्छ ।

सबै कुराहरू सबैले बुझ्छन् भन्ने छैन । कतिपय सांसदहरुले बोलेका विषय ग्रहण योग्य हुन्छन् । नेपालको राजनीतिमा नेतृत्वतहबाटै शुद्धीकरण आवश्यक छ । नेतृत्वतहबाटै राम्रो भूमिकाको अपेक्षा गरिएको हुन्छ भने त्यसको असरत सबैमा पर्ने नै भयो ।

सदनमा बोलेका कुरा कति सम्बोधन हुन्छन् ?

सम्बोधन हुँदैन । इन्ट्रेशको कुरा पनि हुन्छ । इन्ट्रेश नमिलेपछि सम्बोधन हुने कुरै भएन । राम्रो बोलेको कुरा सम्बोधन भयो भने त्यसको क्रेडिट राम्रो बोल्ने मान्छेले लिन्छ । जनताको नजरमा उ राम्रो हुन्छ । यसकारण पनि सम्बोधनको प्रयास गरिँदैन । तीन चार पटक कुरा उठाउँदा पनि सम्बोधन भएको अवस्था छैन ।

चीनमा दुई जना नागरिक थुनिएको विषयमा मैले तीन पटक कुरा उठाएको छु । रसियाको सेनामा नेपाली युवा भर्ना भएका छन् भनेर मैले कुरा उठाए । तर, यी विषयमा सुरुमा सम्बोधनको प्रयास भएन । पछि व्यापक दबाब परेपछि मात्र सरकारले रसियाको विषयमा बोल्न बाध्य भयो ।

सांसदको काम विकास गर्ने कि कानून बनाउने ?

कानून बनाउने ।

तर, कानून बनाउनमा केन्द्रित भए जस्तो त देखिँदैन ?

लोकेन्द्र बहादुर चन्दको बैतडी, मरिचमान सिंह श्रेष्ठको प्युठान, सूर्य बहादुर थापाको धनकुटामा विकास भएको अवस्था छ ।

जुन क्षेत्रको व्यक्ति अर्थमन्त्री भएको छ । त्यहीँ क्षेत्रमा बढी विकास निर्माणका काम भएको छ । सांसदको काम कानून बनाउने भए पनि विकासका काम गर्ने गरेको पाइन्छ । मन्त्रीका क्षेत्र विकास भएपछि जनताले अन्य सांसदहरूसँग पनि विकास निर्माणको अपेक्षा राखेका हुन्छन् ।

अर्को कुरा चुनावमा मत माग्दा पनि सडक, कुलो, बिजुली, विद्यालय, खानेपानीको धारा बनाइदिन्छु भनेर भनेको हुन्छ । जनताले पनि त्यहीँ अपेक्षा राख्छ । अनि कानून बनाउँछ, विकास निर्माणको काम मेरो होइन भनेर कसले पत्याउँछ ?

पञ्चायत अघिदेखि नै सांसदले विकास निर्माण गरिदिन्छ भन्ने परेको छ । त्यो पारिएको छ । यो पहिलेदेखि नै भूमिका भन्दा फरक काम गर्ने बानी परेको छ ।

राजनीति भनेको आफ्नो वा छोराको पालाको लागि सोचेर गर्ने होइन । यो त नातिनातिनाको लागि सोचेर, भविष्यको लागि सोचेर गर्ने विषय हो । हाम्रो त्यो सोच छैन । यहाँ निर्वाचनको लागि मात्र सोचेर काम गर्ने गरिन्छ । कानून निर्माणको के कुरा गर्ने ? दुईवटा कानून निर्माण गर्न डेढ वर्ष लागेको छ ।

कर्मचारीतन्त्र र सार्वजनिक प्रशासनप्रति तपाईँको बुझाई के छ ?

कर्मचारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन/अनुसन्धानमा पर्ने भएकाले त्यसबाट पनि त्रास छ । राजनीतिज्ञलाई कर्मचारीले पर्याप्त सहयोग नगर्दा पनि समस्या भएको पाइन्छ ।

कतिपय कानूनहरुमा दोहोरोपना छ, यसले पनि काम गर्न समस्या भएको देखिन्छ । कानूनहरुको ओभर ल्यापिङका कारण पनि कर्मचारीतन्त्र समस्यामा छ । क्षेत्राधिकार पनि खोसाखोस छ । सबै सिस्टममा सुधार नगर्दासम्म कर्मचारीतन्त्रमा सुधार आउँदैन । असन्तुष्टिहरू रहिरहन्छन् ।

राजनीति करेक्सन नभएसम्म कर्मचारीतन्त्र करेक्सन हुँदैन । कर्मचारीहरूको एउटा युनियन भयो भने कर्मचारीको हितमा कुरा हुन्थ्यो ।

कर्मचारीहरूबाट कत्तिको सहयोग पाइन्छ ?

कर्मचारीहरूले सहयोग गर्न खोजे जस्तो लाग्छ । कानून मिचेर काम गर भनेर दबाब दिएको हुँदैन, त्यसैले सहयोग गरे जस्तै लाग्छ ।

जिल्लाका सरकारी निकायहरूलाई कुनै पनि दबाब दिएको छैन, यसकारण मिल्नेसम्मका काममा सहयोग भए जस्तो लाग्छ । तर, कहिलेकाहीँ प्रक्रियागत ढिलाइले काम ढिलो भएको नागरिकबाट गुनासो आउँछ ।

सार्वजनिक सेवा सुधारका लागि के गर्नुपर्छ, तपाईँका सुझाव के छन् ?

शिक्षामा सुधार गर्नुपर्छ । सबैभन्दा पहिले सरकारी कर्मचारी र शिक्षकले आफ्ना सन्तान सरकारी विद्यालयमा पढाउनु पर्छ । शिक्षामा सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ ।

शिक्षक पेसामा आकर्षण बढाउनु पर्छ, किन कि शिक्षकले नेपालमा जागिर गर्नुभन्दा वैदेशिक रोजगारीमा जान रुचि राख्छ । अमेरिका जान खुट्टा उचालेर डिभी भर्छ किन ? यो बारेमा गम्भीर भएर सोच्नु पर्छ ।

एकीकृत बस्ती हुनुपर्छ । पूर्वाधार बन्नु पर्‍यो । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयमा निःशुल्क गर्नुपर्छ । शिक्षाबाटै सार्वजनिक सेवामा सुधार गर्न सकिन्छ ।

नागरिकसँग प्रत्यक्ष जोडिएका सेवा प्रवाहलाई व्यवस्थित र चुस्तदुरुस्त राख्नु पर्छ । कर्मचारीहरूलाई मेरो करियर नेपालमै छ भन्ने हुनुपर्छ ।

कर्मचारीहरूमाथि राजनीतिक हस्तक्षेप भए जस्तो लाग्छ तपाईँलाई ?

कर्मचारीहरूले राजनीतिक हस्तक्षेप आमन्त्रण गरिरहन्छन् । कर्मचारीतन्त्रमाथि राजनीतिक हस्तक्षेप भन्दा पनि कर्मचारीतन्त्रले आफैँ राजनीतिक हस्तक्षेप निमन्त्रणा गरिरहेको हुन्छ ।

यो हस्तक्षेप दोहोरो फाइदाका लागि हुने गर्छ । राजनीतिज्ञहरूले जनताबाट आलोचना खेप्नुपर्छ । भ्रष्टाचारका मुद्दा पनि लागेका छन् । तर, कर्मचारीतन्त्र बलियो छ । अख्तियारमा पूर्वकर्मचारीहरुको नियुक्तले पनि यसलाई प्रष्ट पार्छ ।

विभिन्न निकायमा नियुक्ति लिने र राजदूत बन्ने पनि पूर्वकर्मचारीहरुबाटै हुने गर्छ । यसबाट पनि देखिन्छ कि कर्मचारीले अवकाश पछि पनि पटक पटक नियुक्ति लिएको हुन्छ ।

कर्मचारीमाथि राजनीतिक हस्तक्षेप भन्दा पनि फाइदाका लागि कर्मचारीहरूले राजनीति गरेको जस्तो देखिन्छ ।

सांसदसँग आमनागरिकको अपेक्षा के हुँदो रहेछ ?

आमनागरिकको अपेक्षा भ्रष्टाचार नगरोस्, आफ्नो लागि मात्र नसोचेर हाम्रो मतको कदर गरोस्, इमर्जन्सि पर्दा आइपुगोस्, सहयोग गरोस् भन्ने हुन्छ । नागरिकका यिनै चाहान पूरा गर्न पाउँदा सन्तुष्टि मिल्ने गर्छ । प्रशासन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया