बैसाख २२, २०८३ मंगलबार May 5, 2026

रोशी खोलामा बाढीको जोखिम: बिपी राजमार्गको कटुञ्जे-नेपालथोक खण्डमा आवागमन ठप्प

धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू होल्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। अविरल वर्षासँगै रोशी खोलामा आएको ठूलो बाढीका कारण सम्भावित दुर्घटना र जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले बिपी राजमार्गको महत्वपूर्ण खण्डमा सोमबार साँझदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गराएको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित कटुञ्जे चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सोमबार साँझ ५ बजेदेखि नै यो निर्णय कार्यान्वयनमा ल्याइएको छ। खोलामा पानीको सतह बढेसँगै सडक यात्रीहरूको सुरक्षाका लागि अर्को सूचना जारी नभएसम्म उक्त क्षेत्रमा यात्रा नगर्न प्रहरीले विशेष अपिल गरेको छ।

पछिल्लो समय वर्षा हुनासाथ रोशी खोलामा आउने बाढीले यस राजमार्गअन्तर्गतका अस्थायी डाइभर्सनहरू पटक-पटक बगाउने गरेको छ।

विशेष गरी चौकीडाँडादेखि नेपालथोकसम्मका विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी संरचनाहरू कमजोर भएकाले सडक अवरुद्ध हुने समस्या दोहोरिएको हो।

यसअघि वैशाख दोस्रो साता पनि बाढीले सडक बगाउँदा दुई दिनसम्म यातायात ठप्प भएको थियो भने गत चैतमा पनि सोही क्षेत्रका विभिन्न भागमा क्षति पुगेपछि पुनः अस्थायी मार्ग निर्माण गरिएको थियो। गत वर्षको बाढीले करिब १८ किलोमिटर सडक पूर्ण रूपमा बगाएपछि हाल खोलाको सतहमा बनाइएको डाइभर्सनकै भरमा यातायात सञ्चालन हुँदै आएको छ।

राजमार्गको यो खण्ड बन्द भएपछि धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा यात्रुवाहक तथा मालवाहक सवारी साधनहरूलाई होल्ड गरिएको छ।

जिल्ला ट्राफिक कार्यालय बनेपाका अनुसार सडकको अवस्था र सुरक्षा स्थितिको मूल्यांकन गरेर मात्रै सवारी छोडिने योजना छ। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माणको कार्य भइरहेको भए पनि वर्षायाम सुरु भएसँगै अस्थायी डाइभर्सनहरू जोखिमपूर्ण बनेकाले सर्वसाधारणलाई सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा तय गर्न सचेत गराइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया