असार २३, २०८२ सोमबार July 7, 2025

मिडिया मालिक विरुद्ध पत्रकार महासंघ नै आन्दोलनमाः आन्दोलनको माध्यमबाट तह लगाउने अठोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: श्रमजीवी पत्रकार ऐन, न्यूनतम् पारिश्रमिक कार्यान्वयनसम्बन्धी कानुन, अन्तर्राष्ट्रिय श्रम कानुन तथा पत्रकार हक, हित तथा अधिकारसम्बन्धी तमाम कानुनी व्यवस्थाको मर्मविरुद्ध मिडिया मालिकहरूले गरिरहेको गतिविधिको विरोधमा पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् ।

श्रमजीवी पत्रकारहरूलाई कोरोना महामारी र त्यसले निम्त्याएको आर्थिक सङ्कटको कारण देखाउँदै विभिन्न सञ्चारगृहहरूले कामबाट निकाल्ने, बेतलबी बिदामा बस्न लगाउने, पारिश्रमिक नदिने, मानसिक तनाव बढाउनेखालको अमान्य गतिविधि बढाएकोमा त्यसको विरोध गर्दै पत्रकार महासङ्घले आरम्भ गरेको आन्दोलनले गति लिएको हो ।

कोरोना सङ्कटले विश्व-मानव समुदायलाई नै प्रभाव पारेको अवस्थामा मुलुकका नामचलेको भनिएका र आर्थिक रूपमा समेत सक्षम देखिने मिडिया हाउसले नै श्रमजीवी कामदारलाई हटाउने हर्कत पत्रकारहरूको काम गरेर बाँच्न पाउने अधिकारका विरुद्ध रहेको भन्दै पत्रकारहरूले त्यस्ता मिडिया मालिकहरूलाई आन्दोलनको माध्यमबाट तह लगाउने बताएका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा प्रेस सङ्गठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, प्रेस सेन्टर नेपाल, प्रगतिशील पत्रकार सङ्घ, जनपत्रकार सङ्गठनलगायत विभिन्न सङ्घसङ्गठनहरूको ऐेक्यबद्धतामा अघि बढेको आन्दोलन समस्याको हल नहुँदासम्म निरन्तर अघि बढ्ने महासङ्घले जनाएको छ ।

गत शुक्रबार दिउँसो काठमाडौँको बबरमहलमा विरोध प्रदर्शन गर्दै मिडिया मालिकहरूलाई श्रमजीवी पत्रकारहरूलाई अपमानजनक ढङ्गले कामबाट निकाल्ने काम बन्द गर्न माग गर्दै त्यसप्रति राज्यलाई समेत सचेत गराइएकोमा मिडिया मालिकहरूले मागको सुनुवाइ नगरेकाले बुधबारबाट पुनः आन्दोलन अघि बढाइएको हो ।

मिडिया हाउसहरूसँग श्रमजीवी पत्रकारहरूको हक, हित र अधिकारको ग्यारेन्टी गर भन्दै महासङ्घको टिमले गरेको छलफलको पहिलो चरणको प्रयासबाट समाधानको सङ्केत नदेखिएकाले पत्रकारहरू मिडिया हाउसको गेटमै पुगेर कालो ब्यानर टाँसी माग पूरा गराउन चेतावनी दिएका छन् ।

श्रमजीवी पत्रकारका पक्षमा लामो समयदेखि सङ्घर्षको नेतृत्व गर्दै आएका पत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्वमा विभिन्न पत्रकार सङ्घसङ्गठनको ऐक्यबद्धतासहित नागरिक दैनिक, एपी १ टेलिभिजनलगायत मिडियाहरूको गेटमा माग पूरा नगरेमा कडा आन्दोलनमा उत्रिने चेतावनीसहित कालो ब्यानर टाँसिएको छ ।

उनले कोरोनाको कारण देखाउँदै पत्रकार तथा सञ्चारमाध्यममा काम गर्ने कामदारलाई मनपरी डङ्गले निकाल्ने हर्कत पत्रकार एवम् महासङ्घलाई अमान्य हुने र त्यसका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने बताए । उनले समयमै पत्रकारहरूका जायज माग सम्बोधन नभएमा महासङ्घ मिडिया हाउसले कल्पना नगरेको ढङ्गको आन्दोलन अघि बढाउने भन्दै कडा चेतावनी दिएका थिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउतले महासङ्घको विरोध कार्यक्रममा आफ्नो सङ्गठनको ऐक्यबद्धता व्यक्त गर्दै श्रमजीवी पत्रकारहरूको पेसागत सुरक्षाका लागि राज्यले समेत जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्गठनका कमल बुढाले मिडिया हाउसले उत्पन्न गरेको श्रमजीवी पत्रकारहरूको समस्यालाई तत्काल हल गर्न स्वयम् मिडिया मालिकहरू तयार हुनुपर्ने र त्यसो नभएमा आन्दोलनको स्वरूप बदलिएर उग्र रूप लिने भन्दै कडा चेतावनी दिएका थिए ।

उनले पत्रकार महासङ्घको विरोध कार्यक्रममा आफ्नो सङ्गठनका तर्फबाट ऐक्यबद्धता प्रकट गर्दै पत्रकारहरू बिनासर्त काममा फर्कने वातावरण नबन्दासम्म थप सङ्घर्ष गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी, पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष शान्तराम बिडारी, महासङ्घको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेनिस रोका, कान्तिपुर दैनिकमा कार्यरत पत्रकारहरूद्धारा गठित सङ्घर्ष समितिका सदस्य श्रीराम बगालेले पत्रकारहरूमाथि गरिएको अपमानजनक व्यवहार तुरुन्त सच्याउन खबरदारी गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार