असोज २६, २०८१ शनिबार October 12, 2024

दिक्तेल रुपाकोट मझुवागढीमा आठ स्थानीय पाठ्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८ मा ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो । हाल उक्त पाठ्यक्रमलाई परिमार्जन गरी वडास्तरमा छुट्टाछुट्टै विषयवस्तु समावेश गरेर तयार पारिएको स्थानीय पाठ्यक्रम लागू गरेको हो ।

नगरपालिकाका हरेक वडामा आ–आफ्नै विशेषता समेटिएको विषयवस्तु पढाउने गरी फरक–फरक आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । “यसअघि नगरभित्रका सबै विद्यालयका कक्षा एक देखि पाँच सम्म एउटै स्थानीय पाठ्यक्रम तयार पारिएको थियो । त्यसको सट्टा अब सबै वडामा सञ्चालित विद्यालयले आ–आफ्नै विशिष्टता समेटिएको विषयवस्तु पढाउने छन्”, उनले भने, “स्थानीय पाठ्यक्रममा राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका तथा विद्यार्थीले जान्नुपर्ने विषयवस्तु समेटिएका छन् ।” उनका अनुसार नयाँ पाठ्यक्रमले विद्यार्थीलाई आफ्नो ठाउँ अनुसारको भाषा, संस्कार-संस्कृति तथा प्राकृतिक स्रोतसाधन बारेमा ज्ञान दिन्छ ।

जम्मा १५ वडामध्ये वडा नं. १ दिक्तेल, वडा नं. २ सोल्मा र वडा नं. ६ मुडेका विद्यालयमा पढाउन शिवहरी ढकालको संयोजकत्वमा गठित समितिले ‘रुपाकोट बैखरी’, वडा नं. ३ बाम्राङ र वडा नं. १३ नुनथलाका लागि बमबहादुर राईको संयोजकत्वमा ‘मुढे नुनथला’ वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङका लागि लक्ष्मीप्रसाद खनालको संयोजकत्वमा ‘हाम्रो मझुवा’ वडा नं. ७ दोर्पाचिउरीडाँडा, वडा नं. ८ दोर्पाबुवालुङ र वडा नं. ९ निर्मलीडाँडाका लागि भवकृष्ण ढकालको संयोजकत्वमा ‘हाम्रो साप्सुमाला’ नामक पाठ्यक्रम तयार पारिएको हो ।

वडा नं. १० पाथेकाका लागि प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा ‘हाम्रो पाथेका’ वडा नं. ११ खार्मीका लागि प्रकाश राईको संयोजकत्वमा ‘हाम्रो खार्मी’ वडा नं. १२ जालपाका लागि प्रतिमान राईको संयोजकत्वमा ‘जालपा चिनारी’ वडा नं. १४ बुइपा र वडा नं. १५ विजयखर्कका लागि ललितकुमार राई संयोजकत्वको समितिले ‘दिरुम ज्ञानमाला’ नामक स्थानीय पाठ्यक्रम तयार पारेको नगरपालिकाले जनाएको छ ।

आफ्नै परिवेश, आवश्यकता, सम्भावना र अवस्थिति अनुसार तयार पारिएको स्थानीय पाठ्यक्रम नगर कार्यपालिका र शिक्षा समितिबाट पारित गरेर कार्यान्वयनमा लगिएको नगरपालिकाका शिक्षा शाखाका कर्मचारी सुवासचन्द्र राईले जानकारी दिए ।

स्थानीय पाठ्यक्रम तयार पार्न नगरपालिकाले तीन महिनाअघि शैक्षिक अभियन्ता एवम् शुभम् फाउण्डेशनका प्रबन्ध निर्देशक सूर्यबहादुर राईको संयोजकत्वमा शैक्षिक सुधार कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्यमा पूर्वप्राचार्य कृष्णबहादुर बुढाथोकी, निजी स्कूलका सञ्चालक प्रकाश श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राई रहेका थिए ।

शैक्षिक सुधार कार्यदलको सुझावका आधारमा स्थानीय पाठ्यक्रम निर्माण गर्न नगरपालिकाले छुट्टाछुट्टै आठ वटा समिति गठन गरी काम थालेको थियो । नगरपालिकाद्वारा गठित समितिले विषय विज्ञहरू राखेर करिब तीन महिनामा स्थानीय पाठ्यक्रम तयार पारेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया