काठमाण्डौंः संसदको विकास तथा प्रविधि समितिले आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।
विश्व स्वास्थ्य संगठन र सरकारले तयार पारेको मापदण्डअनुसार विभिन्न पेशा व्यवसाय सञ्चालन भएको अवस्थामा आवश्यक मापदण्ड पूरा गरी ट्याक्सी सेवा सञ्चालन गर्न समितिले निर्देशन दिएको हो ।
बुधबार सिंहदरबार स्थित संसद सचिवालयमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुको छलफलपछि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् । देशको अर्थतन्त्रलाई चलायमन बनाउन पनि सेवा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
लकडाउनका कारण चैत ११ गतेदेखि सार्वजनिक यातायातहरु बन्द रहेका छन् । समितिमा भएको छलफलमा सार्वजनिक यातायातसँग सम्बद्ध सरोकारवालाहरुले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्या गर्ने अवस्था समेत सिर्जना भएको गुनासो गरेका थिए ।
अहिलेको अवस्थामा बैंकहरुको ऋण तिर्न समेत समस्या भएकातर्फ सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सार्वजनिक यातायात सञ्चालनका लागि मन्त्रालय, सीसीएमसी लगायतका सरोकारवालासँग बिहीबार छलफल गर्ने तयारी समितिले गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया