भद्रपुर (झापा), ५ असोजः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो ।
प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो ।
गत आवमा सो अवधिमा रु ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो ।दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो ।
भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उहाँको दाबी छ । गत आव २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् रु तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया