वैशाख २९, २०८१ शनिबार May 11, 2024

सार्वजनिक सेवा प्रसारण विधेयक संसद्मा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गर्न नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता भएको हो ।

सरकारी स्वामित्वमा रहेका दुवै सञ्चार संस्थालाई सार्वजनिक सेवा प्रसारणमा लैजान आमसञ्चार नीतिमा पनि सुझाव दिइएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता गरेको विधेयक संसद्को आगामी अधिवेशनमा मात्र अगाडि बढ्नेछ ।

प्रस्तावित विधेयक पारित भई कार्यान्वयनपछि दुई संस्था एकीकृत रूपमा सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण हुनेछन् । यस्तो संस्था सञ्चालनका लागि छुट्टै कोष स्थापना हुनेछ । कोषमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट वार्षिक अनुदान प्राप्त हुनेछ ।

विधेयकअनुसार सार्वजनिक सेवा प्रसारणको नीति निर्माण तथा सम्पादन गर्नुपर्ने कार्यको निर्देशनका लागि परिषद् गठन हुनेछ । परिषद्को अध्यक्षमा सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री अध्यक्ष रहने व्यवस्था प्रस्तावित छ । परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, सञ्चार तथा सूचना प्रविधि र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहनेछन् ।

यस्तै पेसाकर्मी, समाजसेवीका तर्फबाट प्रत्येक प्रदेशबाट एक÷एक जना सरकारले नै मनोनीत गर्नेछ । परिषद्मा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी सात जना मन्त्रालयबाट मनोनीत हुनेछन् । जिल्ला समन्वय महासङ्घ, गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घका प्रतिनिधि पनि परिषद्मा रहनेछन् ।

चलचित्र विकास बोर्ड, नेपाल पत्रकार महासङ्घ, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष परिषद्मा पदेन सदस्य रहनेछन् । यस्तै विश्वविद्यालयका पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकबाट मन्त्रालयले मनोनीत गरेका दुई सदस्य रहनेछन् । तिनमा एक महिला अनिवार्य हुनेछन् ।

सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी समितिको अध्यक्ष भने सरकारले नियुक्त गर्नेछ । कार्यकारी समितिमा मन्त्रालयका एक सहसचिव सदस्य हुनेछन् । कम्तीमा एक महिलासहितका तीन मनोनीत सदस्य समितिमा हुनेछन् । कार्यकारी समितिले नै सार्वजनिक सेवा प्रसारणको वार्षिक नीति तथा कार्यक्रम तय गर्नेछ । सम्पूर्ण प्रशासकीय अधिकार कार्यकारी समितिमा नीहित रहने विधेयकमा प्रस्ताव गरिएको छ । सार्वजनिक सेवा प्रसारणका वरिष्ठ कर्मचारीले प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने गरी विधेयक प्रस्तावित छ ।

हाल दुई संस्थामा रहेका कर्मचारी दरबन्दीलाई सार्वजनिक सेवा प्रसारणको आवश्यकताअनुसार पुनरवलोकन गर्ने विधेयकमा प्रस्ताव गरिएको छ । दुवै संस्थामा कार्यरत कर्मचारीलाई पुनरवलोकन हुने नयाँ दरबन्दी अनुसारको पद तथा तहमा मिलान गर्ने प्रस्ताव विधेयकमा छ । दरबन्दी मिलान हुन नसकेका कर्मचारीलाई अवकाश दिन सकिने प्रस्ताव छ ।

प्रस्तावित विधेयक पारितपछि दुवै संस्थाको सम्पूर्ण दायित्व सार्वजनिक सेवा प्रसारण मातहतमा आउनेछ । विधेयक पारित भई कार्यान्वयनपछि सञ्चार संस्थान ऐन २०२८ र रेडियो प्रचार सेवा विकास (समिति) गठन आदेश २०४१ पनि खारेज हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया